शान्ति प्रक्रियाका विषयमा राष्ट्रसंघकोे सहमति जुटाउने अवसर

0
Shares

काठमाडौं।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने भ्रमणका लागि भोलि (आइतबार) बिहान काठमाडौँ आउँदै छन्  ।

१५ वर्षको अन्तरालमा पुनः माओवादी नेतृत्वकै सरकार भएको बेलामा हुने राष्ट्रसंघको महासचिवको नेपाल भ्रमणले नेपालको शान्ति प्रक्रियाका साथै जलवायु परिवर्तनले हिमालमा पुगेको असर र अन्य आर्थिक तथा सामाजिक विकासका मुद्दाहरूमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्ने अपेक्षा राखिएको छ ।

यसअघि एक दशक लामो सशस्त्र युद्ध त्यागेर माओवादी शान्तिप्रक्रियामा आएपछि सन् २००८ को अक्टोबरमा राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गरेका थिए  । त्यतिबेला माओवादी नै सरकारमा थियो भने शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने उद्देश्यका साथ स्थापना गरिएको राष्ट्रसङ्घीय राजनीतिक नियोग अनमिन क्रियाशिल थियो । नेपालमा अनमिन सन् २००७ देखि सन् २०११ सम्म बसेको थियो । अनमिन नेपालबाट गइसकेपछि पनि शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण तथा बेपत्ता पारिएकाहरूको छानबिनको विषयलाई राष्ट्रसङ्घीय निकायहरूले बारम्बार उठाउने गरेका छन् ।

अहिले सरकारले संसदमा सत्य निरुपण तथा बेपत्ता पारिएकाहरूको छानवीनसम्बन्धी विधेयक पनि दर्ता गराइसकेको अवस्था छ । यो भ्रमणलाई प्रचण्ड नेतृत्वको सरकारले उपयोग गर्न सके उक्त विधेयकमाथि राष्ट्रसंघको साथै अन्तर्राष्ट्रिय समुदायको समेत सहमति जुटाउने अवसर प्राप्त हुने बलियो सम्भावना रहेको छ ।

राष्ट्रसंघसँग नेपालको अर्को महत्त्वपूर्ण सम्बन्ध शान्ति सेना पठाउने मुलुकको रुपमा रहेको छ । विश्वभरि शान्ति सेना पठाउने सूचीमा बंगलादेशपछि नेपाल दोस्रो ठूलो देश हो । हाल नेपालले राष्ट्रसंघको नेतृत्वमा ६ हजार २ सय ९९ शान्तिसेना खटाएको छ । यो संख्या बंगलादेशको भन्दा केवल ९ सय ८० ले मात्र कम हो । त्यसैले महासचिव गुटेरेसको यो भ्रमणमा नेपाली शान्ति सेनाको संख्या बढाउने तथा शान्ति सेनामा नेपाली सेनालाई महत्त्वपूर्ण जिम्मेवारीमा पु¥याउने अवसरको रुपमा उपयोग गर्नुपर्ने कूटनीतिज्ञहरूले सुझाएका छन् ।

त्यसैगरी जलवायु परिवर्तनका कारण पर्वतीय देश नेपालले सामना गर्नुपरेका चुनौतीहरूका बारेमा विस्तृत छलफल गरी ती चुनौतीहरूको सामना गर्न राष्ट्रसंघको सहयोग खोज्न पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको यो भ्रमण महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा नेपाल आएका महासचिव गुटेरेसले प्रधानमन्त्री प्रचण्डका साथै विभिन्न दलका नेताहरूसँग नेपालको शान्ति प्रक्रिया, शान्ति सेना, दिगो विकास लक्ष्यका विषयमा छलफल गर्नुका साथै जलवायु परिवर्तनले हिमालमा पारेको असरको अवलोकन गर्ने बताइएको छ । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको राष्ट्रसंघको महासचिवका रुपमा यो दोस्रो कार्यकाल हो ।

महासचिव गुटेरेसको भ्रमणको कार्यतालिका

चारदिने नेपाल भ्रमणका लागि आइतबार बिहान १ बजे काठमाडौँ आउने  एन्टोनियो गुटेरेसले आइतबार दिउँसो परराष्ट्रमन्त्री एनपी साउदसँग परराष्ट्र मन्त्रालयमा द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता सिंहदरबारमा भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीसँगको भेटपछि दुबैले संचारकर्मीहरूलाई संयुक्त रुपमा सम्बोधन गर्ने बताइएको छ ।

आइतबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । महासचिव गुटेरेसले आजै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कासँग भेट गर्नेछन्  भने पूर्व प्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्ने  भएका छन्  ।
ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनबाट फर्केपछि साँझ महासचिव गुटेरेस प्रधानमन्त्री प्रचण्डले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन्  ।

कार्तिक १३ गते सोमबार सोलुखुम्बुको स्याङ्बोचेसम्मको भ्रमण गरेर उनले जलवायु परिवर्तनको असरको अवलोकन गर्ने  कार्यक्रम छ । त्यसपछि काठमाडौँ फर्केर ललितपुरस्थित राष्ट्रसंघको कार्यक्रममा सहभागी भई महासचिव गुटेरेस पोखरा जाने र रात पोखरामै बिताउने कार्यक्रम छ ।

मंगलबार अर्थात कार्तिक १४ गते बिहान महाचिव गुटेरेस अन्नपूर्ण सर्किटको अवलोकनमा जानेछन्  भने त्यहाँबाट फर्केर गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानेछन्  । सोही दिन लुम्बिनीबाट फर्केर बेलुका ४ बजे संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्तिक १५ गते बुधबार राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण सकेर फर्कने कार्यक्रम छ ।