कांग्रेसभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन : सभापति देउवा

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताएका छन्।

दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर शनिवार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो दाबी गरेका हुन्।

‘ठूला दललाई बिस्थापित गर्नुपर्छ भन्ने कुरालाई मैले सकारात्मक रुपमा लिएको छु। काम गर्नुप¥यो भन्नु राम्रो कुरा हो नि। चुनौति आएको छैन। ठूला दलका ठूला नेताहरु त आलोचनाका पात्र हुँदै हुन त,’ देउवाले भने, ‘आलोचना गर्ने कुरालाई खराब मानेकै छैन त यहाँ। आलोचना गर्नसम्म गर्नुस् न। ठूला दलको विश्वास गुम्यो तपाईंले भन्नुभयो। तर मलाई त विश्वास छ भन्ने लाग्छ त । यसरी नभन्नुस् न त। तपाईले भनेको कुरा मैले मान्नुपर्छ भन्ने छैन। माफ गर्नुहोला।’

सभापति देउवाले पार्टी भित्रै कुनै समस्या भए तत्काल समाधान गर्ने समेत बताए। उनले आफूले पार्टी भित्र मेलमिलापको वातावरण बनाउने कोशिस गरिरहेको समेत बताए।

सभापति देउवाले ठूला दल विस्थापित हुन्छन् भन्ने कुरा सत्य नभएको पनि दोहोर्‍याए।