नेपालको सिरिजमा दोस्रो जित

0
Shares

काठमाडौं । 

नेपालले त्रिकोणात्मक टी २० आई सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार मूलपानी मैदानमा भएको खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको हो । नेपालले पहिलो खेलमा यूएईलाई हराएको थियो । जितको लागि हङकङले मात्र ९५ रनको लक्ष्य दिएको थियो । यो लक्ष्य घरेलु टोलीले ४ विकेट गुमाएर १३.५ ओभरमा प्राप्त गरेको थियो ।

नेपालको ब्याटिङमा आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेल २५ रनमा नट आउट रहे । तर, दुबै कुशल भने छिटै आउट भए । ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए भने कुशल मल्ल १ रनमा पभेलियन फर्केका थिए ।

सन्दीप जोरा पनि ३ रनमा बोल्ड आउट भएका थिए । गुलशन झाले ५ बलमा २ छक्कासहित १४ रन बनाए । हङकङका एहसान खानले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिएका थिए । त्यसअघि पहिला ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको थियो । नेपालको बलिङ सामु हङकङका ब्याटर निकै संघर्ष गर्नु परेको थियो । शीर्ष ब्याटर कमजोर भएको अवस्थामा मध्यक्रमका ब्याटर यासिम मुर्तजाले सर्वाधिक ३६ रनको योगदान दिए ।

३३ रनमै ५ विकेट पतन भएपछि दयनीय अवस्थामा रहेको टोलीलाई मुर्तजाले जिशान अलीको साथ पाएर ३० रनको साझेदारी गरेर उकासे । जिशानले १७ रन जोडे । टोलीका अन्य ९ खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन् । नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनलाई अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १–१ विकेट लिए ।