पारिवारिक भागबन्डाको चपेटामा लोसपा

0
Shares

– चारसिटे पार्टीको पदाधिकारी नै ६३ जना
– एक महासचिवले गरे पद बहिष्कार
– पार्टी अध्यक्ष ठाकुरले पाएको अधिकारलाई दुरुपयोग गरेको नेताहरूको टिप्पणी
काठमाडौं ।

प्रतिनिधि सभामा ४ सिट रहेको मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेताको परिवारिक भागबन्डाको चपेटामा परेको छ । पार्टीका शीर्ष नेताहरूले पदाधिकारीमा आफ्नै परिवार र नातागोतालाई भागबण्डा लगाएपछि पार्टी पारिवारिक कब्जाजस्तै भएको हो ।

पुनर्गठित लोसपा केन्द्रीय समितिमा अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीले छोरी ज्वाइँ, सम्धि, सम्धिनीलगायतका आफन्तलाई भागबन्डा लगाएर पार्टीलाई पारिवारिक कब्जामा पु¥याएको नेताहरूले टिप्पणी गरेका छन् । पार्टीको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धि उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्रा झा मनोनीत भएका छन् । ठाकुरले एक मात्र छोरी मिनाक्षीलाई सदस्य बनाउनुभएको छ ।

अध्यक्ष ठाकुरले परिवारका सबै सदस्य समेटेपछि वरिष्ठ नेता राजेन्द्र महतोले पनि ज्वाइँ अनिल महासेठलाई महासचिव बनाउनुभएको थियो । अर्का वरिष्ठ नेता शरदसिंह भण्डारीले छोरी सृष्टिलाई सचिव बनाउनुभएको छ । भण्डारीले निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पद दिलाएका छन् ।

दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग नेतृत्वको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै पार्टी फुटाएका महन्त ठाकुर, राजेन्द्र महतो र सरदसिंह भण्डारीले पार्टीमा एकलौटी कब्जा जमाएर आफन्त भर्ती गर्ने केन्द्र बनाएको कतिपय नेताहरूले बताएका छन् । तर राजेन्द्र महतोका ज्वाइँ पर्ने अनिलले महासचिव पदमा नरहने घोषणा गर्नुभएको छ । कार्यसमिति पुनर्गठनका विषयमा लोसपाको जस्तो पार्टीमा प्रक्रिया मिचेर केही नेताहरूले मनोमानी गरेको असन्तुष्टि जनाउँदै महासेठले महासचिव पदमा नरहने घोषणा गरेको बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राजनीतिक परिवर्तन र रूपान्तरणको एजेन्डा बोक्ने बेलामा लोसपा जस्तो लोकतान्त्रिक पार्टीका नेताले एकल निर्णयमा विधानविपरीत कार्य गरेकाले म उक्त पदमा नहरेको घोषणा गरेको छु । एउटा राजनीतिक पार्टीमा मान्छेहरूलाई अटाउने नाममा १६ जान महासचिव बनाएर के तमासा गरेको हो ? यसको जवाफ नेताहरूले कसरी दिनुहुन्छ ? त्यही भएर मैले महासचिव पदमा नरहने निर्णय दिएको हुँ ।’

लोसपाको ३ सय ११ सदस्यीय पुनर्गठित केन्द्रीय समितिमा ६३ जना पदाधिकारी बनाइएको छ । वरिष्ठ नेतामध्येका एक अनिलकुमार झाले पार्टी अध्यक्षलाई दिएको स्वविवेकीय अधिकार प्रयोग गरेर समिति बनाएकाले सो विषयमा आफ्नो कुनै टिप्पणी नरहेको बताउनुभयो ।

पार्टीको विधानअनुसार ६५ जना कार्यकारिणी समिति बनाउन सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कार्यकारिणी सदस्यहरूलाई नै पदाधिकारी बनाउन सक्ने भएकाले धेरै पदाधिकारी बनाइएको महासचिव विनोद सिंहले नेपाल समाचारपत्रलाई बताउनुभयो । २०७४ सालमै ६ वटा दलहरू मिलेर बनाएको दलमा सबै नेताहरूलाई व्यवस्थापन गर्ने सन्दर्भमा धेरै पदाधिकारी हुन पुगेको सिंहको भनाइ छ ।

महासचिवको पद बहिष्कार गरेका अनिलले भने पार्टी अध्यक्षले प्रक्रिया नै गलत गरेर कार्यसमिति बनाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामीले अध्यक्ष जीलाई विश्वास गरेर कार्यसमिति बनाउने अधिकार प्रत्यायोजन गरेका हौं । तर, उहाँले लिएको अधिकारलाई दुरुपयोग गर्नुभयो । कसैलाई नसोधी पादाधिकारीहरूको भीड लगाएर एकलौटी निर्णय गर्नुभयो कुनै दलहरूमा नभएको अनौठो प्रकृतिको पार्टी कमिटप्रति युवाहरूले प्रश्न गर्दा त्यसको जवाफ दिन नसक्ने भएकाले मैले पदमा नरहने भनेको छु ।’