दोर्दी गाँउपालिकाले छोड्यो ५० हजार माछाका भुरा

14
Shares

लमजुङ ।

पूर्वि लमजुङको दोर्दी गाँउपालिकाले पालिका अन्र्तगतका विभिन्न खोलाहरुमा ५० हजार माछाको भुरा छोडेको छ । गाँउपालिकाले दोर्दी कोरिडोरमा संचालित हाइड्रोपावर कम्पनीहरुको आर्थिक सहयोग दोर्दी खोला, छ्याङ्दी खोला, किसेदी खोला, प्यार्दी खोलामा माछाको भुरा छोडेको हो ।

दोर्दी गाँउपालिकाका पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका खोलामा गाँउपालिका अध्यक्ष युवराज अधिकारीले असला, रौ र नैनी प्रजातिका माछाको भुरा छाड्नु भएको हो । अहिले खोलामा माछाका संख्या निकै कम भएको र स्थानीय माछाको संरक्षण र प्रबद्र्धनका लागि उक्त कार्यक्रम गरिएको गाँउपालिका अध्यक्ष अधिकारीले वताउनुभयो ।

खोलामा बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षणका लागि उक्त कार्यक्रम गरेको गाँउपालिका अध्यक्ष अधिकारीले बताउनु भयो । उहाँले खोलाको संरक्षण गर्ने सबै गाँउबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्दे खोलामा करेण्ट तथा विभिन्न प्रकारका विष नहाल्न पनि पालिकाबासीलाई अध्यक्ष अधिकारीले अनुरोध समेत गर्नुभएको छ ।

गाँउपालिकाले जलिय जैबिक बिविधता संरक्षण तथा समुदायको जीविकोपार्जनमा सहजता ल्याउन माछाका भुराहरु खोलामा छोडेको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बताउनु भयो ।

दोर्दी गाँउपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा माछाका भुरा छोड्ने कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सामाजिक बिकास संयोजक अम्बिका मरहट्टा, विभिन्न शाखा प्रमुखहरु, दोर्दी कोरिडोर भित्र संचालित हाइड्रोपावर कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।