सीमावर्ती वडाका वडाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम 


काठमाडाैं  ।
बडा दशैंलगायतका चाडपर्वहरुको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत तथा नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा जोडिएका सीमावर्ती वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।
‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सुरुवात गरी सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती वडाका वडाध्यक्षहरुसँग कार्तिक १ गते शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो । प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालको बाहिनी मुख्यालयहरुमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बदलिदो सुरक्षा परिवेशमा सीमा सुरक्षा तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र सम्भाव्यता सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह, सीमावर्ती अपराध तथा गैह्र कानूनी क्रियाकलापहरुलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचानलगायत सीमावर्ती ईलाकाका समुदाय तथा बासिन्दासँग निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वय गर्ने सम्बन्धमा छलफल भएको थियो ।
यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको उपस्थितिमा मधेश प्रदेशस्थित नं। २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्पन्न कार्यक्रममा सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह, सिमावर्ती ईलाकाका सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुलगायत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले सशस्त्र प्रहरी बल, नेपालको औचित्यता प्रष्ट पार्नुहुँदै राज्यद्वारा प्रद्धत्त कार्यादेश मध्ये देशको अन्तर्राष्ट्रिय सीमानाको सुरक्षा उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
यसैगरी कोशी प्रदेशस्थित नं। १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेल, नं। ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मणबहादुर सिंह, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौबजी, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र नं। ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको उपस्थितिमा सीमावर्ती वडाका वडाध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।
कोशी प्रदेशको भारत र चीनसँग सीमा जोडिएको ८३, मधेश प्रदेशको १ सय ४३,  बाग्मती प्रदेशको २३, गण्डकी प्रदेशको १८, लुम्बिनी प्रदेशको ८९ र सुदूरपश्चिम प्रदेशको ७६ वटा वडाका अधिकांश वडाअध्यक्षहरु उपस्थिती रहेको थियो । गण्डकी प्रदेशको मुस्ताङ, मनाङ र गोर्खाका सीमा जोडिएका वडाका वडाध्यक्षहरुसँग प्रत्यक्ष भिडियो मार्फत अन्तरक्रिया गरिएको थियो भने कर्णाली प्रदेशस्थित सीमावर्ती वडाका वडाध्यक्षहरुसँग निकट भविष्यमा अन्तरक्रिया कार्यक्रम गरिने योजना रहेको छ ।
सशस्त्र प्रहरी बल, नेपालले अन्तर्राष्ट्रिय सीमा जोडिएका वडाका वडाध्यक्षहरुको संयोजकत्वमा ३ सय २६ वटा सीमा सहजिकरण समिति गठन गरी कार्य प्रारम्भ भईरहेको र यसलाई थप प्रभावकारी बनाउन ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रममा उपस्थित वडाका वडाध्यक्षहरुले सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा व्यवस्थापनमा भएका गतिविधिको सराहना गर्नुहुँदै सीमामा देखा परेका समस्या, स्थानीय जनताले भोग्नुपरेका कठिनाईलगायतका विषयमा जानकारी गराउनु भएको थियाे ।