नेपाल समाचारपत्रकर्मी सम्मानित, उत्कृष्ठ प्रहरीलाई पुरस्कार


धादिङ ।

६८औं प्रहरी दिवसको अबसरमा नेपाल समाचारपत्रकर्मी सीताराम अधिकारीसहित पत्रकारहरुलाई सम्मान गरिएको छ भने उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गरिएको छ ।

प्रहरी ऐन २०१२ लागु भएको दिन असोज मसान्तलाई नेपाल प्रहरीले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा छ जना संचारकर्मीसहित दुई वटा संचारगृहलाई सम्मान गरेको हो ।

नेपाल समाचारपत्र दैनिक सम्वाददाता अधिकारी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, कान्तिपुर टेलिभिजनका उपसम्पादक पोषणथ अधिकारी, नेपाल टेलिभिजनका धादिङ सम्बादवादा शिव सिलवाल, राष्ट्रिय समाचार समितिका मलेखु ९धादिङ० सम्वाददाता शंकर श्रेष्ठ, हिमालय टेलिभिजनका धादिङ सम्वाददाता विकास रौनियारलाई सम्मान गरिएको हो ।

प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा धादिङ प्रहरीले अमर प्रहरीको परिवार र उत्कृष्ट काम गर्ने विभिन्न ओहोदाका प्रहरीहरुलाई पनि सम्मान गरेको छ । वर्षभरी विभिन्न विधाका खेलकुद प्रतियोगितामा विजयी भएका प्रहरीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो । प्रहरीले आयोजना गरेको निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पनि दिवसकै अवसरमा पुरस्कृत गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले समाजमा हुने अपराधिक घटना न्यूनिकरण गर्न प्रहरीले उल्लेखनीय भूमिका खेलेको बताउनुभएको छ । दशै तिहार तथा छठ जस्ता चार्डपर्वहरु नजिकिँदै छन् । सुरक्षा निकायको जिम्मेवारी र चुनौति पनि बढेको छ । तर विगतमा नेपाल प्रहरीको अनुभव र योगदानले यस वर्ष पनि शान्ति सुरक्षा सुव्यवस्थित रहने विश्वास रहेको बताउनुभयो ।

प्रहरीले नागरिकको मन जितेर सेवा प्रवाह गरिरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो। प्रहरी मेरो साथी अभियानले पनि प्रहरीलाई नागरिकसँग नजिकबाट जोडेको छ । प्रहरी भन्ने वित्तिकै पहिलेजस्तो भागदौड गर्ने अवस्था छैन । नागरिक पनि बर्दी विनाको प्रहरी हो । नागरिक र प्रहरी मिलेर शान्ति सुरक्षा कायम गर्न सकिने उहाँको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय धादिङद्धारा सम्पादित जनचेतनामूलक कार्यक्रमहरु, अनुसन्धानमा भएका उपलब्धीहरुलाई जनता समक्ष पुर्याउन निर्वाह गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै सम्मान गरिएको धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो । जनचेतनामूलक कार्यक्रमहरु र अनुसन्धान प्रकृयामा नै समन्वय, सहकार्य तथा सहयोग गर्न खेलेको नेतृत्वदायी भूमिकाको मूल्याङ्कन स्वरुप प्रशंसापत्रले सम्मान गरिएको प्रहरी उपरिक्षक मिश्रको भनाई छ ।