युएन डे मा शान्ति पदयात्रा (फाेटाे फिचर )



काठमाडौं ।

नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन–डे) का अवसरमा पाँच किमी दुरीको ‘शान्ति पदयात्रा’ गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानबाट शुरु भएको पदयात्रा सहिद गेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली, पुन: सहिद गेटहुदै सोही खेल मैदानमा पुगेर सम्मपन्न गरिएकाे हाे  ।

प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीबृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा तथा केही गैर–सैनिक व्यक्ति पनि पदयात्रामा सहभागि भएका थिए । राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोबर २४ भएकामा त्यस दिन यस पटक नेपालमा बडादसैँ पर्व परेकाले आज ‘युएन–डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा सैनिक मुख्यालयमा आजै ‘युएन डे’ विशेष कार्यक्रम आयोजना हुनेछ ।

नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो । नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्रसङ्घका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदैआएको छ ।

राष्ट्रसङ्घको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन्

नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसङ्घलगायतका निकायबाट उच्च प्रशंसा हुँदैआएको छ । शान्ति कार्यमा खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी लिँदै आएको छ ।

विश्व शान्ति स्थापना कार्यमा संलग्न हुने सिलसिलामा हालसम्म ७२ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने अन्य ६६ जना घाइते भएका छन् ।

शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल दोस्रो ठूलो वरियतामा भएको राष्ट्र हो । हाल विश्वका १३ वटा मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय २६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल नेपालका एक सय ९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् ।

त्यसमध्ये पाँच सय ८६ महिला शान्ति सैनिक रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । अघिल्लो वर्ष ‘युएन–डे’ का अवसरमा कात्तिक ५ गते विशेष कार्यक्रम तथा ६ गते ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि एकता’ विषयक गोष्ठी आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्