संगीतकार बल्लभलाई विशिष्ट सम्मान

समाचारपत्रकी थापालाई पत्रकारिता सम्मान



सांगीतिक पाक्षिक पत्रिका म्युजिक खबरले सातौँ वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार राजधानीमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीतकार तथा गायक शक्ति बल्लभलाई म्युजिक खबर विशिष्ट स्रष्टा सम्मान प्रदान गरियो भने नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापालाई म्युजिक खबर कला पत्रकारिता सम्मानबाट सम्मानित गरियो। समारोहमा गायक प्रकाश सपूतलाई वर्ष गायक, शान्तिश्री परियारलाई वर्ष गायिका र दीपक शर्मालाई वर्ष संगीतकारबाट सम्मान गरियो।

त्यस्तै, म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट, मोडल सागर लम्साल क्षेत्री (बले), एरेन्जर नरेन्द्र वियोगी र मोडल अनिता गिरीलाई कला सम्मान, निराजन भण्डारी र जिना कार्कीलाई कला पत्रकारिता सम्मान, अनु शाहलाई साहित्य सम्मानबाट, सुभाष प्रधानलाई संगीत सम्मान, हरिराम परियार, सञ्जु न्यौपाने र कल्पना सुनुवारलाई गायन सम्मान, इन्द्रेणी स्विट होटल एवं इन्द्रेणी कप्लेक्सका सञ्चालक शम्भु श्रेष्ठ र सीबी माउन्ट फ्रेमिङका सञ्चालक च्याङ्बा लामालाई व्यवसायी सम्मान र सेसेमी लिम्बूलाई प्रस्तोता सम्मानबाट सम्मानित गरिएको थियो। साहित्य सम्मानबाट सम्मानित साहित्यकार अनु शाह सोमबार नै पीम नेपालको पाँचौं वार्षिकोत्सवमा पीम नेपाल साहित्य सम्मान–२०८० बाट पनि सम्मानित भएकी थिइन्।

कार्यक्रममा म्युजिक खबरका अध्यक्ष सुमन वैरागीले पछिल्लो समयमा छापा मिडियाको संख्या घटेता पनि यसको विश्वसनीयता र महत्त्व झनै बढेको चर्चा गरे। प्रमुख अतिथि संगीतकार शम्भुजित बाँस्कोटाले संगीत क्षेत्रलाई मात्र केन्द्रमा राखेर प्रकाशन म्युजिक खबर चुनौतीको कार्य भएको बताए। संगीतकार शक्ति बल्लभले सातौं वर्ष निरन्तरता दिन सक्नु सिंगो कला क्षेत्रकै लागि खुसीको विषय रहेको चर्चा गरे भने म्युजिक खबरकी सम्पादक तथा प्रकाशक सविता पोखरेलले सम्मानित व्यक्तिहरूलाई बधाई ज्ञापन गर्दै म्युजिक खबरको यात्रामा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्