दशैँ शुरु भयो, पैसा छैन



यसपालिको महान् चाड दशैँ आइसक्यो । दशैँमा पैसा धेरै आवश्यकता पर्छ । चाहे जिरामसला किन्न होस् वा माछामासु किन्न । त्यस्तै, गाउँघर जान, लुगा किन्न तथा टीका लगाइदिएपछि दक्षिणा दिन पनि पैसाकै आवश्यकता पर्छ । दशैँ नेपालीको सबैभन्दा ठूलो चाड हो । दशैँमा नै सबैभन्दा बढी खर्च हुन्छ । यसपालिको दशैँ आँगनमा आइसकेको छ । तर आफूले सहकारीमा बचत गरेको रकम फिर्ता पाइएको छैन । चाडपर्व नजिकिएसँगै सहकारीहरु पनि बन्द भएका छन् । अधिकांश सहकारीले अहिलेदेखि नै दशैँभर कार्यालय बन्द हुने भनेर सूचना टाँसेका छन् । यता, कतिपय सहकारीले आधा घण्टा कार्यालय खोले पनि पैसा फिर्ता गर्दैनन् ।

सर्वसाधारण चिन्तित छन् । आफूहरुले बचत गरेको रकम फिर्ता नपाएपछि दशैँ कसरी मनाउने भनेर उनीहरु अन्योलमा परेका छन् । न गाउँघर फर्किन पैसा छ, न यतै दशैँ मनाउन पैसा छ । धेरै मानिस यसपालिको दशैँ खल्लो हुने बताउँछन् । सहकारीले बचत फिर्ता नगर्दा उनीहरु दशैँ मनाउनबाटै वञ्चित हुनुपरेको छ । महिनौं दिन सहकारीमा धाउँदा पनि रकम फिर्ता नगरेको उनीहरुको आरोप छ । खातामा त बीस लाख छ नि, तर दशैँ मनाउन पाँच हजार माग्दा पनि फिर्ता पाइएको छैन । अहिले सहकारीले बचत फिर्ता नगरेको कुरा जताततै सुनिन्छ । जो कोही आफ्नो रकम सहकारीमा फसेको बताउँछन् ।

सहकारीले बचत फिर्ता नगरेपछि सर्वसाधारण जिरामसला किन्नेसमेत पैसा नभएको बताउँछन् । माछामासु र नयाँ कपडा किन्न त कुरै छोडौं । मानिससँग पैसा नभएपछि दशैँ आए पनि बजारमा चहलपहल छैन । सुनसान छ । सहकारीले बचतकर्ताको रकम खाइदिएर उनीहरुको बिल्लीबाठ बनाउँदा पनि सरकार कुनै चासो दिँदैन । सरकारले नै सर्वसाधारणलाई डुबाउने काम गरेको छ । सरकारकै मिलेमतोमा सहकारीका सञ्चालक र कर्मचारीहरुले

बचतकर्ताको रकम लुटेका छन् । अहिले बूढाबूढीहरु आफूहरुको रकम फिर्ता गरिदिनुस् भन्दै सहकारीमै गएर भक्कानिएर रुँदासमेत सहकारीका सञ्चालक र कर्मचारीहरु मतलब गर्दैनन् । एकातिर सहकारीले बचत फिर्ता गरेको छैन, अर्कातिर व्यापार व्यवसाय ठप्प छ । मुलुकभर ६५ प्रतिशत सटर खाली भएका छन् । यता, काम गरेको ठाउँमा पनि तलब पाइएको छैन । सरकारी कर्मचारीहरुलाई त सरकारले तलबभत्ता पनि दिन्छ, दशैँ पेश्की पनि दिन्छ । तर, सर्वसाधारणले दशैँ मनाउनका लागि सापटी माग्दासमेत पाएका छैनन् ।

उनीहरु गाउँघर नफर्किए पनि यतै कसरी दशैँ मनाउने ? भनेर चिन्तित छन् । मानिसहरु वर्षभरि दुःख गर्छन् । अनि दशैँमा नयाँ कपडा किन्छन्, खसी काट्छन् । तर, यसपालाको दशैँमा त्यसको उल्टो भएको छ । अहिले सर्वसाधारण जनता दशैँको लागि जिरामसलासमेत किन्न सकिरहेका छैनन् । पहिला–पहिला दशैँमा एकै व्यक्तिले २० हजारदेखि लाखौं रुपियाँसम्म खर्च गर्ने गर्थे । अहिलेको दशैँमा भने हजार रुपियाँ खर्च गर्न पनि सर्वसाधारणसँग पैसा छैन । भएको रकम सबै सहकारीले खाइदिएपछि उनीहरु अन्योलमा परेका छन् ।

अहिले कोठा, फ्याल्ट र सटर भाडामा लिएर बस्नेहरु तीन महिनादेखि एक वर्षसम्मको भाडा नतिरेको बताउँछन् । खान नभइरहेको बेलामा कसरी कोठा भाडा तिर्ने भनेर उनीहरु भन्छन् । यस्तो हुँदा पनि सरकार अझै पनि जनतासँग पैसा छ र उनीहरु दशैँ मनाउन सक्छन् भनेर बसिरहेको छ । सरकारलाई जनताको कुनै पनि समस्या थाहा छैन । पहिला–पहिलाको दशैँमा नयाँ गाडी, सुन, कपडा, फ्रिजलगायत सामानहरु किन्ने यत्तिकै हुन्थे । अहिले मानिसहरु च्यातिएको कपडा लगाएर हिँड्छन् तर पेट कसरी भर्ने भन्ने चिन्ता उनीहरुमा छ ।

यसपालिको दशैँ प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलले राम्ररी मान्छन् । उनीहरुसँगै सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले पनि राम्ररी नै मनाउने छन् । तर दशैँको समयमा सर्वसाधारणको घरमा भने चुलोसमेत नबल्ले अवस्था आएको छ । अभिभावकहरुले खाजा खान दिएको रकम बालबच्चाले खुत्रुकेमा जम्मा गरे । एक–दुई हजार हुनेबित्तिकै त्यो रकम सहकारीमा राखे ।

सरकारले एक्लो महिला र बूढाबूढीलाई भत्ता दियो । त्यो पैसा पनि उनीहरुले नखाएर भोको पेटमा पोट्का बाँधेर आवश्यकता परेको समयमा काम लाग्छ भनी सहकारीमा राखे । अहिले सहकारीले रकम फिर्ता नगरेपछि बालबच्चादेखि बूढाबूढीसम्मै निराश छन् । दशैँ मनाउनबाट उनीहरु वञ्चित हुनुपर्ने अवस्था आएको छ । पछिल्लो समय अधिंकाश सहकारीका सञ्चालक र कर्मचारीहरु फरार भएका छन् । सहकारी सञ्चालन गर्न दिएको घरधनीहरु वर्षौं दिनदेखि भाडा नपाएको गुनासो गर्छन् । प्रहरी भन्छ, ‘हामी बचत फिर्ता नगर्ने सहकारीका सञ्चालक खोजिरहेका छौं ।’

यता स्थानीय तहहरु सहकारीको उजुरीको चाङ लागेको बताउँछन् । त्यस्तै, सहकारी विभाग बचत फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई पत्र लेखेको बताउँछ । अहिले बचतकर्ताहरुको कहिले गाउँपालिका, नगरपालिकामा लाइन देखिन्छ त कहिले प्रहरी चौकीमा ।

सहकारीका सञ्चालक र कर्मचारीहरुको एउटै बहाना हुन्छ– घरजग्गा, गाडी र शेयरमा हाम्रो रकम फस्यो । बजारमा एक वर्ष भयो घरजग्गा, गाडी र शेयरमा मन्दी आएको छ । यो मन्दी कति वर्षसम्म जान्छ भनेर कसैलाई थाहा छैन । बजारमा घरजग्गा, गाडी र शेयर बेच्न चाहनेहरु यत्तिकै भेटिन्छन् तर किन्ने कोही छैन । यसको मूल्यमा भारी गिरावट आएको छ । अर्थविद् र विज्ञका भनाइ अनुसार अब घरजग्गा, गाडी र शेयरको मूल्य बढ्नेछैन । अहिले बजारमा सुनिन्छ कि दशैँपछि धेरै व्यापारी तथा व्यवसायीहरु पलायन हुनेछन् ।

बेरोजगारीको संख्या झन् बढ्नेछ । कामको अभावका कारण अहिले नै मानिसहरुको आपराधिक क्रियाकलापमा संलग्न बढ्दो छ । दशैँपछि यसले झन् कस्तो रुप लिने हो भनेर आम नागरिक अहिले चिन्तित छन् । महँगी, बेरोजगारीका कारण अहिले अधिंकाश मानिस गाउँघर फर्किनुपर्ने अवस्था निम्तिएको बताउँछन् । अहिले जताततै कोठा, फ्ल्याट र सटर खाली छन् । बाटोमा हिँड्दा कोठा खाली छ, सटर खाली छ वा टुलेट लेखिएका पोस्टरहरु यत्तिकै भेटिन्छन् । अहिले नै कतिपय मानिसले भाडा तिर्न नसकेर सामान घरधनीलाई छोडेर हिँडेका छन् भने कतिपय घरधनीले भाडा तिर्न नसकेपछि सामान नलिई घर खाली गर्न आग्रह गर्दै आइरहेका छन् ।

दुई वर्षअघि यो बेला व्यापारीहरुलाई सामान बेचेर भ्याइ–नभ्याइ हुन्थ्यो । पसलमा सामान किन्नेहरुको भीड हुन्थ्यो । तर, अहिले त दशैँ शुरु हुँदासमेत पसलमा ग्राहक नछिर्ने तथा बुहुनीसमेत नहुने बताउँछन् । मानिससँग पैसा भए त सामान किन्छन् नि, पैसाजति सबै सहकारीले खाइदिएपछि बजारमा मन्दी छाएको छ । व्यापार व्यवसाय ठप्प छ । अहिले मानिसहरुलाई सामान त आवश्यकता छ तर पैसा छैन ।

सहकारीले बचतकर्ताको बिजोग बनाउँदासमेत सहकारीमन्त्रीले बचत फिर्ता नगर्ने सहकारीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरी बचतकर्ताको रकम फिर्ता गर्नतिर चासो दिएको छैन । अहिले पनि बाठाटाठा सहकारीका सञ्चालक तथा कर्मचारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि विभिन्न आश्वासन देखाएर रकम जम्मा गर्न बाध्य बनाइरहेका छन् ।

यसपालिको दशैँ करोडौं जनताको खल्लो हुने भएको छ । जनता दशैँ मनाउन नसक्ने अवस्थामा पुगेका छन् । उनीहरुको आँखा रसाउने भएको छ । त्यसैले, अब बचतकर्ताले पनि बचत फिर्ता नगर्ने सहकारीका सञ्चालक र कर्मचारीलाई जहाँ भेट्यो त्यहीँ समातेर प्रहरीकहाँ बुझाउनुपर्छ । अब सहकारीमा आफू पनि बचत नगरौं, अरुलाई पनि बचत गर्न नदिऔं । आफूसँगै आफ्नालाई पनि डुब्नबाट जोगाउनुपर्छ । किनकि सहकारी विश्वसनीय र भरपर्दो हुन छाडिसके ।

प्रतिक्रिया दिनुहोस्