गैरआवासीय नेपालीलाई नागरिकता

0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नेपाली नागरिकताको मुद्दाले सार्थकता पाएको छ । विश्वको विभिन्न मुलुकमा बस्दै आएका नेपाली नागरिकले जुन देशमा बसेको हो त्यो देशको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग्नुपर्ने प्रावधान रहेकाले गैरआवासीय नेपाली नागरिकले जुनसुकै देशको ग्रिनकार्ड वा सिटिजनसिप लिएको भए पनि नेपाली नागरिकता पाउनुपर्ने आवाज उठाउँदै आएका थिए ।

सरकारले विदेशमा बसेका नेपाली नागरिकलाई पुनः नेपाली नागरिकता दिने भनिए पनि नेपालको संविधान नै बाधक भएको भन्दै राजनीतिक दलहरु यो मुद्दाबाट पन्छिदै आएका थिए । गैरआवासीय नेपाली संघले आफ्नो प्रमुख मुद्दाको रुपमा यो विषयलाई उठान गर्दै आएकोमा गत जेठ १७ गते गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिनका लागि ऐन नै जारी भएपछि गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरी एनआरएनएका वर्तमान अध्यक्ष कुल आर्चायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नागरिकता दिएर यो अभियानको शुरुवात गर्नुभएको छ । यसले गर्दा विभिन्न कारणले विदेशमा बस्दै आएका नेपालीलाई अब गैरआवासीय नेपालीको हैसियतमा नेपाली नागरिकता प्राप्त भएपछि ठूलो संख्यामा विदेशमा रहेका नेपालीले राहतको महसुस गरेका छन् ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था अनुरुप गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको पनि सरकारले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूले लामो समयको संघर्षपछि गैरआवासीय नेपालीलाई नागरिता दिलाउन सफल भएको भन्दै अब विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गरेको बताउनुले पनि अब नेपालमा गैरआवासीय नेपाली नागरिकले विभिन्न क्षेत्रमा लगानी गर्ने र त्यसले मुलुक आर्थिक, सामाजिकरुपमा अघि बढ्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

गैर आवासीय नेपालीले अधिकारमात्रै खोज्ने तर मुलुकको उन्नतिका लागि कुनै ठोस कदम नचाल्ने हो भने अहिले दिइएको नागरिकताको कुनै अर्थ नरहने भएकाले उनीहरुमा आफूलाई मुलुकले यो अधिकार दियो भने आफूले पनि मुलुकलाई केही दिनुपर्छ भन्ने भावना जागृत हुन जरुरी छ । यसअघि गैरआवासीय नेपाली भए पनि नेपाल बस्दा विदेशी नागरिकले सरह रोयल्टी तिर्नुपर्ने व्यवस्था हट्यो, हामीले मुलुकलाई केही गर्नुपर्दैन भन्ने भावनाबाट भने गैरआवासीय नेपाली मुक्त हुन जरुरी छ । चरम संकटमा पर्दै आएको मुलुकलाई सबै मिलेर माथि उठाउन जरुरी छ । त्यसैले सबै नेपाली एक भएर अघि बऔं ।