६८औं प्रहरी दिवस सम्पन्न



काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार आयोजित विशेष समारोहबीच ६८औं प्रहरी दिवस २०८० सम्पन्न भएको छ ।

समारोहमा प्रधानमन्त्री दाहालले सफल अनुसन्धान, आमहत्या, घरेलुहिंसा, जबरजस्ती करणी, सवारी दुर्घटना, ठगी र साईबर क्राइम सम्बन्धी बनेको सचेतनामूलक सन्देश सहितको सार्वजनिक सेवा घोषणा (पीएसए ) मध्ये एक प्रतिनिधिमूलक रूपमा ठगी सम्बन्धी जनचेतनामूलक भिडियोको स्वीच अन गरी प्रसारण शुभारम्भ गरे । साथै उनले “प्रहरी दर्पण २०८०” को लोकार्पण समेत गरे ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मित्रराष्ट्र चीनमा भर्खरै सम्पन्न भएको “१९औ एसियन गेम्स” अन्तर्गत कराते खेलमा रजत पदक जित्न सफल नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरूङ, “१९औ एसियन गेम्स” अन्तर्गत कबड्डी खेलमा नेपाललाई कास्य पदक जिताउन सफल भएका नेपाल पुलिस क्लबमा आवद्ध प्रहरी सहायक हवल्दार नितु गुरूङ, प्रहरी सहायक हवल्दार मानमती विष्ट र प्रहरी सहायक हवल्दार अर्पणा चौधरी तथा “१९औ एसियन गेम्स” अन्तर्गत टि-२० क्रिकेट प्रतियोगितामा मंगोलिया विरूद्धको खेलमा ९ बलमा अर्धशतक (५० रन) पूरा गरी विश्व रेकर्ड कायम गर्न सफल भएका यस वर्ष नेपाल प्रहरीका उत्कृष्ट खेलाडी नेपाल प्रहरी क्रिकेट टिमका क्याप्टेन प्रहरी सहायक हवल्दार दिपेन्द्र सिंह ऐरीलाई नगद तथा सम्मानपत्र प्रदान गरे।

समारोहमा प्रधानमन्त्री दाहालले ‍अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे । साथै उनले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन (प्रहरी व्याटन) २०८० तर्फ सर्वोत्कृष्ट हुन सफल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक वुद्धिराज गुरूङलाई प्रहरी व्याटन २०८० प्रदान गरे ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी नेपाल र नेपाल प्रहरी संगठनको गरिमा विश्वमाझ उच्च राख्न निर्वाह गरेको साहसिक तथा जोखिमपूर्ण कार्यको उच्च मूल्याङकन गर्दै प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोतम नेपालीलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरे । साथै उनले नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोका प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमलाई ‘पूर्ण शान्ति पुरस्कार’ र नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गा कुमार योञ्जनलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ प्रदान गरे ।

समारोहमा प्रधानमन्त्री दाहालले कैलाली धनगढी उपमहानगरपालिका-२ का अमर प्रहरी प्रहरी नायव निरीक्षक ध्रुव रावलको छोरा आर्यन रावल र अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ का अमर प्रहरी प्रहरी जवान सूर्य बहादुर थापाकी छोरी आईस्का थापालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार तथा बैतडी शिवनाथ गाउँपालिका-२ का अमर प्रहरी प्रहरी जवान शेरसिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिकाका अमर प्रहरी प्रहरी जवान राम बहादुर साउदकी छोरी नविना साउदलाई अच्युत-मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गरे । साथै उनले नुवाकोट विदुर नगरपालिका-११ का अवकास प्राप्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका-६ का अमर प्रहरी प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोतिलाल, कला, मिथिला अमर/अशक्त प्रहरी छात्रवृत्ति प्रदान गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गौरवशाली इतिहास कायम गरेको प्रहरी संगठनले धेरै बाधा, अवरोध र चुनौतिहरूको सामना र परास्त गरेर आजको अवस्थामा आइपुगेको यस अवसरमा आफ्नो इतिहास र परम्परालाई कायम राख्दै थप जिम्मेवारीबोध र कार्यसम्पादनका निम्ति सिंगो प्रहरी संगठन परिवारमा अनुरोध गरे । नेपाल प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवान्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहेको विश्वास उनले व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले समाज सँगसँगै परिवर्तन हुँदै नेपाल प्रहरीले आफू र आफ्नो सेवा प्रवाहलाई समयसापेक्ष आधुनीकिकरण गर्दै पूर्ण जिम्मेवारीका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत प्रभावशाली प्रहरी संगठनको रूपमा स्थापित हुन सफल भएको चर्चा गरे ।

आम नागरिकको सरोकार र राज्यका समस्यामा नेपाल प्रहरीले प्रथम पंक्तिमा रहेर समस्या सम्बोधन र समाधान गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “आम नागरिकले दु:खमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैमा महत्वपूर्ण कुरा हो ।” नेपाल प्रहरीले मानव अधिकारको संरक्षण तथा प्रवर्धन गर्न, लैंगिक हिंसा न्यूनिकरण गर्न, वाक् तथा प्रेस स्वतन्त्रताको सम्मान गर्न, महिला बालबालिका तथा ज्येष्‍ठ नागरिकको सेवा एवं सुरक्षा गर्नका लागि सामुदायिक समन्वय गरी आधुनिक प्रहरीका सिद्धान्तहरू अवलम्बन गरेको उल्लेख गरे ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आम नागरिकको समृद्धि र समुन्नतिको चाहना साकार तुल्याउन नेपाल सरकारले तय गरेको नीति तथा कार्यक्रमलाई सफल कार्यान्वयन गरी सुरक्षित र समुन्नत नेपाल बनाउन नेपाल प्रहरी हर तरहबाट कटिबद्ध रहेको बताए । विश्वव्यापी रूपमा चुनौतिका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसूर, अवैध हात-हतियार ओसारपसार, बहुमूल्य सामग्रीहरूको ओसारपसार, आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारलाई गति दिँदै अन्तर्राष्ट्रिय प्रहरी निकायहरूसँगको समन्वयलाई पनि तीव्रता दिएको उनले उल्लेख गरे ।


कार्यक्रममा ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ २०८० द्वारा सम्मानित अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापाले नेपाल प्रहरीको मानवस्रोत विकास तथा विशेषत बाह्य प्रशिक्षणको क्षेत्रमा गरेको कार्यहरूलाई उच्च कदर गरी यस अवार्डद्वारा सम्मान गरेकोमा नेपाल प्रहरी प्रधान कार्यालयप्रति आभार एवम् कृतज्ञता व्यक्त गरे ।

उक्त विशेष समारोहमा प्रहरीको ऐतिहासिक झलकसहितको कवाज प्रदर्शन, सात वटै प्रदेश तथा उपत्यका प्रहरी कार्यालयको प्रदेशगत चिनारीसहितको झाँकी प्रदर्शन, नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलबाट प्रहरी युक्ति तथा विशेष कला प्रदर्शन, नेपाल प्रहरी केनाईन कार्यालयद्वारा अपराध अनुसन्धानमा केनाईनको प्रयोग तथा केनाईनको विशेष क्षमता सम्बन्धमा विशेष कला प्रदर्शन एवम् नेपाल प्रहरी संगीत विद्यालयद्वारा विभिन्न फर्मेसन र साँगितिक धुनहरूसहितको बैण्ड डिस्प्ले गरिएको थियो ।

समारोहमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकर दास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव, नेपाल सरकारका मुख्य सचिव, प्रदेश सभाका सदस्य, पूर्व सभासद एवं अवकाश प्राप्त प्रहरी महानिरीक्षक, संवैधानिक निकायका सदस्य तथा आयुक्तहरू, प्रधानमन्त्रीज्यूको स्वकीय सचिवहरू, गृहसचिव, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, निमित्त सशस्त्र प्रहरी महानिरीक्षक, पूर्व आयुक्त, पूर्व गृहसचिव, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, नेपाल प्रहरी एवम् सशस्त्र प्रहरी बल नेपालका प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरू, मन्त्रालयका सह-सचिवहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, आमन्त्रित एवं उपस्थित विशिष्ट अतिथि महानुभावहरू, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षकहरू, अमर तथा अशक्त प्रहरी संघ, नेपाल पूर्व प्रहरी संगठन तथा पूर्व प्रहरी कर्मचारी परिषदका अध्यक्ष तथा पदाधिकारीहरू, सञ्चारकर्मी एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको छ ।

६८औं प्रहरी दिवस २०८० सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहत कार्यालयहरूमा समेत विविध कार्यक्रमहरुका साथ मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्