नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह


 काठमाडौँ ।

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनालाई आग्रह गरेको छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो  जाभियर गोवीसंग चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गरेका हुन् ।

नेपालको पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको अध्यक्ष मल्लले बताए । मल्लले भने, ‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भएपनि व्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन क्षेत्र पृथक खालको छ  । सूचना प्रविधिमा पनि अधिक सम्भावना छ । दुई देशका निजी क्षेत्रबीच सहकार्य मार्फत लगानीका लागि आग्रह गर्दछु, ।’

नेपालमा अवैतनिक दूतको नियुक्ती गरेर व्यापारिक सहकार्य गर्न समेत अध्यक्ष मल्लले राजदूत गोवीसंग आग्रह गरे । नेपाल अर्जेन्टिनाबीचको कुटनीतिक सम्वन्ध ६० वर्ष पूरा  भएको सन्र्दभमा अध्यक्ष मल्लले व्यापारिक सम्वन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष मल्लले अर्जेन्टिनाको निजी क्षेत्र  र नेपाल चेम्बर अफ कमर्सबीच सहकार्य गर्न सकिए आर्थिक गतिविधि विस्तार हुने बताउनुभयो । नेपालले अर्जेन्टिनाबाट गतवर्ष करिव २५ अर्ब रुपैयाँको बस्तु आयात गरेको थियो ।

राजदूत गोवीसंग अध्यक्ष मल्लले नेपालको जलविद्युत, बनजन्य उद्योग, जडीबुटी प्रशोधन जस्ता क्षेत्रमा समेत लगानीका लागि प्रस्ताव गर्नुभएको छ । दुई देशका निजी क्षेत्रस्तरमा उच्चस्तरीय व्यापारिक भ्रमण गराएर आर्थिक गतिविधि विस्तार गर्न सकिनेमा अध्यक्ष मल्लले जोड दिए ।

जवाफमा राजदूत गोवीले नेपालमा आर्थिक गतिविधि विस्तार गर्नका लागि आफूले पहल गर्ने बताए । हिमालय पर्वतको देश नेपाल भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत उच्च रहेको राजदूत गोवीको भनाई छ ।

दुई मुलुकबीचको सम्वन्धलाई जनस्तरबाटै विकास गर्नुपर्नेमा राजदूत गोवीले जोड समेत दिए । उनले भने, नेपालसंगको सम्वन्धलाई जनस्तरबाटै विकास गर्न आवश्यक छ यसका लागि पनि म पहल गर्छु, ।’

नेपालको खाद्य सुरक्षाका लागि सहयोग गर्न अर्जेन्टिना तयार रहेको समेत राजदूत गोवीले बताए ।