दशैँका लागि किनमेल गर्नेको बजारमा भीड

व्यापारी भन्छन्-  केही आशा जाग्यो 

0
Shares

काठमाडौँ। 

दशैँ लागेसँगै काठमाडौँ उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लाग्न थालेको छ ।
काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्ने ग्राहकहरुको भीड लाग्न थालेको छ । विगतको वर्षहरुको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् । तर, दशैँको लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्दा व्यापारीहरुलाई केही राहत मिल्ने आशा जगाएको उनीहरुको भनाई छ ।

व्यपारीहरुले बजारमा आर्थिक मन्दीको कारण ग्राहकहरुको क्रय शक्ति एकदमै कमजोर रहेको देखिएको व्यवसायीहरुले बताए । उनीहरुले दशैँ लागेसँगै व्यापार बढेको थालेको पनि बताए । उनीहरुले अझ सरकारी छुट्टी भएपछि ग्राहकहरु बढ्ने आशामा व्यवसायीहरु रहेको बताए । आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएकाले दशैँमा ग्राहकहरुको रोजाइमा सस्तो सामान पर्न थालेको व्यवसायीहरुको भनाई छ ।

व्यापारीहरुले न्युरोड लगायतका क्षेत्रमा भित्र बिक्री नहुँदा बाहिर फुटपातमा सामान राखेर बिक्री गर्नुपरेको बताए । नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले होलसेल बजारबाट प्रशस्त सामानहरु बिक्री भएपनि खुद्रा बजारमा धेरै चहलपहल नदेखिएको बताए । उनले आर्थिक मन्दीको कारण मानिसहरुको रोजगार गुमेकाले तल्लो तहमा मन्दी रहेको बताए । उनले क्रयशक्ति कम भएकाले दशैँमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको बताए ।

पूर्वअध्यक्ष कटुवालले होलसेल बजारमा बिक्री वृद्धि भएकाले दशैँ लागेसँगै बजारमा ग्राहक बढ्ने र व्यापार वृद्धि हुने आश पलाएको उल्लेख गरे । उनले यो वर्षको दशैँमा करिव ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापनादेखि फूलपातीको दिनसम्म धैर्य गर्न आवश्यक रहेको बताए  । उनले दुई दिनदेखि बजारमा मानिसहरुको भीडभाड रहेको तर आर्थिक मन्दिको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेको बताए । उनले होलसेल बजारमा सामान खरिद गर्नेहरुको भने चहलपहल रहेको बताए ।

त्यस्तै,राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताए । उनले उपभोग गर्ने युवाहरु श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको बताए ।

उनले न्युरोड लगायतका क्षेत्रमा भित्र सटरमा रहेको सामानहरु बाहिर ल्याएर सेलमा बिक्री गरिरहेको बताए  । उनले पसलका सामानहरु ‘सेल’मा राखेपछि ग्राहकहरुको भीड देखिएको बताए । उनले व्यापारीहरुमा पनि आर्थिक मन्दि भएको कारण २ हजारको सामान सेलमा रोखेर २ सयसम्म बिक्रि गरिरहेको बताए ।

उनले मन्दीका कारण ग्राहकहरु पनि सस्तो सामान नै बढी किनिरहेको बताए । उनले व्यापारीहरु भएको सामान दशैँमा सेलमा राखेर स्टक सक्ने दशैँपछि त्यतिकै बस्ने मनस्थिति समेत बनाइरहेको बताए । उनले मन्दीकै कारण खुद्रासहित फुटपाथ र होलसेल पसलहरुमा पनि बिग सेल राखिएको उल्लेख गरे । उनले मन्दी र युवाहरु विदेशिँदा समग्रमा गत वर्षभन्दा व्यापार घटेको दाबी गरे । त्यस्तै,न्युरोडका व्यापारी वैकुण्ठ दाहालले खुद्रा बजारमा विगतका वर्षहरुको तुलनामा १० प्रतिशत पनि व्यापार नभएको बताए ।

उनले सटरभित्रका पसलहरुमा ग्राहक नआउँदा व्यापारीहरु मोवाइल चलाएर बस्न बाध्य भएको भन्दै दुई दिन केही ग्राहकहरुको भीड सेलमा देखिएको बताए। उनले सियो किन्न समेत न्युरोड लगायतका क्षेत्रमा मानिसहरु आउने परिपाटी रहेकाले बजारमा भीड देखिएको भन्दै भीड अनुसार व्यापार नभएको बताए ।

व्यापारीहरुले बजारमा व्यापार नभएको भनेपनि गत शनिवारदेखि काठमाडौँ उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरुमा ग्राहकहरुको किनमेल गर्ने भीडभाड बढेको छ । किनमेल गर्नेहरुको भीडभाड बढेकाले दुई दिनदेखि काठमाडौंका व्यापारी केन्द्रहरुमा सवारी साधनको समेत चाप देखिएको छ ।