लेखापढी कानुन व्यवसायी एसोसिएसनको २९ औँ वार्षिकोत्सव सम्पन्न

0
Shares

काठमाडौँ। 

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले २९ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । एसोसिएसनको केन्द्रीय कार्यालय डिल्लीबजारमा आयोजित एक कार्यक्रमकाबीच दीप प्रज्वलन, शुभकामना आदानप्रदान गर्दै वार्षिकोत्सव सम्पन्न गरिएको हो ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको सभापतित्वमा भएको कार्यक्रममा पूर्वअध्यक्षहरु नवराज पुडासैनी, अर्जूनप्रसाद घिमिरे, तेजप्रसाद ढकाल लगायतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपत्यकाभरिका शाखा तथा इकाईका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा देशभरका शाखाहरुले दीप प्रज्वलनसहित विविध रचनात्मक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल (नवराज) ले जानकारी दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका प्रथम अध्यक्ष नवराज पुडासैनीले एसोसिएसनलाई पटक पटक प्रहार भइरहे पनि त्यसलाई जोगाउँदै अहिलेको यो अवस्थामा आइपुगेकोले अबको नेतृत्व पनि संवेदनशील भएर संस्थाको विकास, उन्नती र व्यवस्थापनमा लाग्नुपर्ने बताए । आफू यही धरातलबाट उठेको भन्दै पुडासैनीले एसोसिएसनलाई आवश्यक परेको बेला जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै पूर्वअध्यक्ष अर्जुनप्रसाद घिमिरेले एसोसिएसनलाई अहिले राज्यबाट परिचित रहेको संस्थाको रुपमा ल्याउन सकेको भन्दै खुसी व्यक्त गरे । ‘अध्ययन, अनुशासन र लगनशीलता’ लेखापढी व्यवसायीहरुको मूल मन्त्र हुनुपर्ने भन्दै आफू र आफ्नो पेशालाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरे ।

कार्यक्रममा  पूर्वअध्यक्ष तेजप्रसाद ढकालले विगतका आरोहअवरोहहरुलाई चिर्दै संस्था यहाँसम्म आइपुगेको बताए । लेखापढी एसोसिएसनभित्र २५ हजार लेखापढी व्यवसायीहरु आबद्ध र संगठित रहेको उल्लेख गर्दै व्यवसायी निरन्तर संगठित रहनु पर्ने उनले बताए ।

कार्यक्रम समापन गर्दै वार्षिकोत्सव समारोहका सभापति तथा एसोसिएसनका अध्यक्ष सीताराम दाहालले देशभर दीप प्रज्वलन गरेर आज वार्षिकोत्सव मनाइएको बताए । उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै उनले वार्षिकोत्सव तथा आउँदै गरेका सम्पूर्ण चाडवाडको अवसरमा शुभकामना व्यक्त गरे ।