राणा प्रम जुद्ध र गणतन्त्रका शासक

0
Shares

कतै कसैसँग गफ गर्दाको सन्दर्भ नेपाल विकसित देश बन्न सकेन, केवल विकासोन्मुखमै सीमित रह्यो भन्ने सन्दर्भका कुरा हुँदा धेरैजसोले नेपालको विकास नहुनुमा १०४ बर्से जहानियाँ र निरङ्कुश राणा शासनका कारण नेपालको विकास हुन नसकेको हो भनेर मन बुझाउन खोज्छन् । अझ राजनीतिमा लागेर, नेपाली जनतालाई ढाँटेर खान पल्केकाहरुले राणा शासकले गरेका कुशासनका व्याख्या यति धेरै छाँट्छन् कि सुन्न पनि दिक्क लाग्छ । त्यतिले पुगेन भने २०१७ साल पुस १ गतेदेखि नेपालमा लागू भएको पञ्चायती व्यवस्थालाई धारेहात लगाउँछन् ।

उनीहरुको भनाइ के भने, यदि नेपालको इतिहासमा यी दुवै कालखण्डका निरङ्कुश शासन सञ्चालन नभएका भए हाम्रो देशको अवस्था हालको अमेरिका, बेलायत आदिको जस्तो विकसित हुने थियो भनेर पनि खोक्न थाल्छन् । यस्तै भनाइको आडमा आम जनतालाई फसाएर दशबर्से लडाइँमा हजारौँ नेपाली युवाजनलाई कत्लेआम गर्न बाध्य पारे । यसको खराब असर हालसम्म पनि परिरहेको छ । धेरै नेपाली युवाले अपाङ्ग भएर बाँच्नुपरेको छ । अहिले गणतान्त्रिक शासन व्यवस्था नामको राज्य व्यवस्थाको छहारीमा बाँच्दै छौँ हामी । तर गणतन्त्रका शासकहरुको शासकीय शैली, उनीहरुको सोचाइ र त्यसको अभिव्यक्ति अनि उनीहरुले जनतामाथि गरेको धोकेबाज व्यवहार हेर्दा त्यही निरङ्कुश र जहानियाँ भनिएको शासन व्यवस्था पो सही थियो कि भन्न बाध्य बन्नुपरेको अवस्थामा छौँ आज हामी । यो कहाली लाग्दो अवस्थामा देशलाई धकेल्ने काममा हाम्रा शासकहरु जिम्मेवार छन् ।

राणा शासनकालका १०४ वर्षमा एकैजना व्यक्तिमात्र शासक भइरहेन । राणा शासकमै पनि जतिजना राणाहरू शासनको कुर्सीमा विराजमान भए ती सबै उस्तै विचार र साँघुरो दृष्टिका थिए र नै उनीहरुले देशमा उज्यालो प्रजातन्त्र ल्याउन र आम नेपाली जनताका हक–अधिकार बहाली गर्न अनिच्छुकता प्रकट गरिरहेका होऊन । वि.सं. १९०३ देखि राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले शासन सत्ता आफ्नो हातमा लिएपछिका दिनमा उनको शासनकालभर शासनका लागि कसैले पनि चियाउन सकेनन् । उनको अवसानपछिका दिनमा राणा शासकभित्रैका कति शासकहरु निकै दूर दृष्टिकोण राख्न सक्ने र देशलाई माया गर्ने हृदय भएका पनि थिए भन्ने कुरा उनीहरुले गरेका कर्मको इतिहासबाट थाहा पाउन सकिन्छ । यसरी उदारवादी विचार राख्नेमध्येका एक हुन् राणा प्रधानमन्त्री जुद्धशमशेर राणा । यिनी धीरशमशेरका दशौँ पुत्रका रुपमा वि.सं. १९३२ को वैशाख महिनामा जन्मेका थिए । धीरशमशेरका दुई दर्जन रानी थिए र यिनबाट २२ सन्तान जन्मे पनि केही सन्तान सानैमा मरेकाले केही सन्तानमात्र बाँचेकामा जुद्धशमशेर पनि एक थिए । यिनका दाजु भीमशमशेरको निधनपछि वि.सं. १९८९ भदौ महिनाको १७ गते जुद्धशमशेर नेपालका प्रधानमन्त्री बन्न पुगेका थिए ।

जुद्धशमशेर प्रधानमन्त्री भएकै बेला वि.सं. १९९० को माघ २ गते नेपालमा आम विनाशकारी भूकम्प गएको थियो । भूकम्पले धेरै धन र जनको क्षति गरेका कारण यिनी भूकम्पले पीडा थपेका क्षेत्रको दौडाहामा लागेका थिए । भूकम्पबाट पीडित भएका नेपालीहरुलाई उनले राम्रैसँग सहयोग गरेका थिए । उनी सेनाका कर्णेल बन्दै आएर भीमशमशेरको प्रधानमन्त्रित्व कालमा सेनापति बनेका थिए । पछि वि.सं. १९८९ देखि वि.सं. २००२ (१३ वर्ष) सम्म नेपालका प्रधानमन्त्री भएर शासन चलाए । यिनले आफ्नो शासनकालमा नेपालको कृषिक्षेत्रलाई निकै प्राथमिकतामा राखेर काम गरेको पाइन्छ । उनले कृषिक्षेत्रको विकासका लागि विदेशबट कृषि विशेषज्ञहरू झिकाई नेपाली किसानलाई कृषिसम्बन्धी प्रशिक्षण दिने, देशका विभिन्न भागमा कुलो, बाँध, नहर आदि निर्माण गरी सिँचाइको सुविधा पु¥याउने, विदेशबाट उन्नत बीउ र कृषिऔजार झिकाई कृषकहरुलाई वितरण गर्न लगाएका थिए । यसको मतलब के थियो भने, कृषि पैदावरका वस्तुमा आत्मनिर्भर बन्नुपर्छ वा आत्मनिर्भर बनेपछि मात्र अरुको भर पर्नुपर्दैन भन्ने विचार राख्ने उनको यो विचारलाई सकारात्मकरुपमा लिन सकिन्छ ।

उनले उद्योग सञ्चालन र विकासका लागि कम्पनी कानुनको तर्जुमा गरेर वि.सं. १९९३ मा उद्योग परिषद् र नेपाली कपडा घरेलु इलम प्रचार अड्डाको स्थापना वि.सं. १९९४ मा गरेका थिए । सोही सालमा नेपाल बैङ्क लिमिटेडको स्थापना तथा शाखा िवस्तारको कामसमेत भएको थियो । विराटनगरमा धेरै जुट उत्पादन हुन्छ भन्ने कुरा मनन गरेर विराटनगर जुट मिलको स्थापना गर्दा त्यहाँ धेरैजना मजदुरहरुले काम पाएका थिए । जुद्ध म्याच फ्याक्ट्री खोलेर देशमै सलाई उत्पादन गर्न सकिने उदाहरण दिएका थिए भने त्यहाँ पनि निकै मान्छेले रोजगारी पाएकाले रोगारीका लागि भारत जानुपर्ने बाध्यता केही मात्रामा भए पनि हटेर गयो । उनले विराटनगरमै कटन मिल, वीरगञ्जमा पनि कटन मिल खोलेर आफ्नै देशमा सुती कपडा बनाउने कामको शुभारम्भ गरेका थिए । त्यस्तै नेपाल प्लाइड एन्ड वबिन कम्पनी, मोरङ हाइड्रो इलेक्ट्रिक सप्लाइ कम्पनी आदिका साथै साबुन कम्पनी आदिजस्ता २१ लिमिटेड कम्पनी खोलेका थिए ।

जुद्धशमशेरकै पालादेखि नेपालमा योजनाबद्धरुपमा खनिज पदार्थ उत्पादनको काम शुरु भएको थियो । उनकै प्रधानमन्त्रित्व कालमा देशका विभिन्न भागमा स्कुलहरु खोलिएर पठनपाठनको समेत व्यवस्था हुन सकेको थियोे । उनकै पालदेखि विज्ञान विषय पढाइ नभएर अरु नै विषयमात्र पढाइ भइरहेको त्रिचन्द्र कलेजमा विज्ञान विषयसमेत पठनपाठन गर्न थालिएको थियो । आर्थिक क्रियाकलाप तीव्र गतिले गराउने उद्देश्यले सहकारी, ओभरसियर तालिमजस्ता कार्य पनि केही मात्रामा हुन पुगेका थिए ।

जुद्धशमशेरको १३ बर्से शासनकालमा शिक्षाको क्षेत्रमा पनि निकै विकास भएको मान्नुपर्छ । उनकै पालामा नेपालबाटै एसएलसी परीक्षा दिन पाउने, नत्र यसभन्दा अगाडि एसएलसी परीक्षाका लागि भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन गरेर मात्र परीक्षा दिन पाइने चलन थियो । नेपालबाटै एसएलसी दिन पाउने भएपछि नेपालको एसएलसीलाई भारतको मेट्रिक समकक्ष बनाउने जिम्मासमेत नेपाली शिक्षा विभागलाई दिएको थियो । जुद्धशमशेरका पालमा बाटाघाटा र पुलपुलेसाहरुको समेत निकै विकास भएको मान्न सकिन्छ । उनको शासनकालभरमा १९ वटा कच्ची बाटो, ६२ वटाभन्दा बढी पुलपुलेसाहरु बनेका थिए । उनकै पालामा दार्जीलिङको धीरधाम देवालय, पशुपति गौशाला, जावलाखेलको चिडियाखाना आदिका निर्माण भएका थिए । त्यसै बेला जुद्ध वारुणयन्त्रको प्रबन्धसमेत भएको थियो । त्यसै बेला नेपालमै पहिलो मानिने पशु चिकित्सालयको व्यवस्था, वीर अस्पतालको विस्तार, हुलाक व्यवस्थालाई सुदृढीकरण गर्ने काम हुनुका साथै नेपालमा धनादेश सेवाको शुरुवात, टेलिफोनको व्यवस्थाजस्ता राम्रा काम भएका थिए ।

प्रधानमन्त्री जुद्धशमशेरकै शासनकालमा जङ्गीतर्फ सुन्दरीजलमा कार्तुस अनि स्वयम्भूपछाडि धुवाँ नआउने बारुदखानाको स्थापना तथा सैनिक स्कुलको स्थापनासमेत भएको थियो । वि.सं. १९९१ मा सैनिक द्रव्यकोषको स्थापना गरेर सैनिक तथा निजामती कर्मचारीलाई पेन्सनको व्यवस्था गरिनुका साथै जन्म, मृत्यु दर्ता अड्डाको वि.सं. १९९८ मा स्थापना भयो । त्यति मात्र होइन कि वि.सं. १९९८ मै जनगणना गरेर, स–साना उद्योगलाई करको छुट दिएर, सरकारी रकम निजी कोषमा जम्मा नगरी बैङ्कमा जम्मा गरेर आयस्ता बढाउने काम पनि भएका थिए । कुनै उत्सव जस्तै– विवाह उत्सव, जन्म उत्सव आदिजस्ता अवसरमा सकेसम्म कम खर्च गरेर काम सम्पन्न गर्ने कानुनसमेत पारित भएको थियो ।

उनको पालामा सामाजिक सुधारका काम पनि केही मात्रमा भएका थिए । जसका अनुसार अग्रजको निधनमा बरखी बार्न नपर्ने, पूर्वी र पश्चिमी कुमाईं बाहुनका बीच वैवाहिक सम्बन्ध कायम गराउनेजस्ता कुरा समावेश भएका थिए । राणा प्रधानमन्त्री जुद्धशमशेर आफू नेपालका प्रधानमन्त्री भएको छोटो कालखण्डमा केही सुधारका सकारात्मक कामहरु भएका छन् । तथापि उनीअगाडिका राणा शासक हुन् कि उनको शेषपछिका राणा शासक हुन्, उनीहरुलाई जुद्धशमशेरले गरेका राम्रा कामले खुसी बनाएको छैन । बरु धेरैजसोलाई रिस नै उठाएको छ । यो रिसका कारणले गर्दा राणा शासन राम्रो होइन भन्ने मानसिक विचार आम नेपालीको मानसपटलमा बलियो हुन थालेका कारण जुद्धशमशेरका यी प्रशंसनीय काम आफैँ ओझेलमा पर्न विवश भएका हुन् । नेपाली जनता, अङ्ग्रेज सरकारमात्र होइन कि राणा शासकभित्रैका हानाथाप र मारकाटको अवस्थाका साथै सत्ताको लुछाचुँडीले कमजोर बन्दै गएको शासन राणा प्रधानमन्त्री मोहनशमशेर राणाको छोटो शासनकाल पूरा हुन नपाउँदै ढलेर जान विवश भएको थियो ।

राणा शासक जुद्धशमशेर सुधारवादी शासकमात्रै थिएनन्, उनले उनको शासनकालमा धेरै नेपालीलाई मार्न लगाए । वि.सं. १९९७ मा चारजना शहीदहरुलाई मृत्युदण्डको सजायसमेत दिने काम भयो । राणा शासक जुद्धको यो रौद्रकर्मले निकै क्षुब्ध बन्न पुगेका नेपाली जनता नगन्य मात्रामा भए पनि राजनीतिक दल आदिका बलिदानीपूर्ण प्रयासमा २००७ साल फागुनमा राणा शासन ढल्न विवश भयो ।

नेपाल अहिले होइन, अहिलेभन्दा झन्डै दुई दशकअगाडिदेखि नै गणतान्त्रिक शासन व्यवस्था भएको देश बनेको छ । तर हाम्रा गणतन्त्रका शासकहरु क्रुर र निरङ्कुश ठानिएका राणा शासकमध्येका जुद्धशमशेरसँग तुलना गरेर देखाउन सक्ने अवस्थामा छैनन् । उनीहरु सबैजसो आफैँ आफ्नो विवेक प्रयोग गरेर शासन चलाउनुपर्छ भन्ने कुरामा सहमत छैनन् । उद्योगधन्दा खोलेर आम नेपाली युवालाई स्वदेशमै रोजगारी दिन सक्नुपर्छ भन्ने कुरामा पटक्कै सहमत छैनन् । उनीहरुसँग देश विकासको कुनै बलियो दृष्टिकोण छँदै छैन । राणा शासक देवशमशेर इस्ट इन्डिया कम्पनी सरकारका भक्त थिए भने गणतन्त्रका हाम्रा नेताहरु कोही भारतभक्त, कोही चीनभक्त, कोही अमेरिकाभक्त रहेका छन् ।

उनीहरुको शासनसत्ताको उद्देश्य भनेको आफूले जतिसक्दो लुटेर देश कङ्गाल बनाउनु अनि ज्यान मारेर अपराधी ठह¥याइएका मानिसलाई अनेक बहानामा जेलमुक्त गराएर उसकै भक्त बन्नुजस्ता खराब सोच र कर्मले आज गणतान्त्रिक शासन व्यवस्थामा स्वतन्त्र भएर बाँच्यौँ भनिए पनि हामी राणा शासनकै अन्धकारमय वातावरणमा बाँच्न विवश छौँ भन्दा फरक नपर्ला ।