सहकारी ठग्ने श्रीमान् श्रीमती नै जेलमा

पक्राउ पुर्जी जारी गरेका ८ जना फरार

112
Shares

काभ्रे । 
बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको गरुड सहकारीबाट २५ करोड अपचलन गर्ने संस्थाका अध्यक्ष बासुदेव खड्का, उनको श्रीमती प्रतिमा आचार्यलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बासुदेवलाई असोज १ गते जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको थियो ।
‘जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरुड सहकारीका अध्यक्ष सहित पक्राउ परेका ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ’– जिल्ला अदालत काभ्रेपलाञ्चोकका अधिकृत सूचना अधिकारी अप्सरा चापागाईले भनिन–‘अदालतका प्रमुख जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले गरुड सहकारी ठगि अभियोगमा पक्राउ परेकाहरुलाई थुनामा पठाउने आदेश गरेको छ ।’
श्रीमान श्रीमती मिलेर बचतकर्ताहरुको रकम हिनामिना गरेको भए पनि कानूनी र कागजी रुपमा संस्थामा संलग्न भएका आधारमा पक्राउ परेका अन्य तीन जनालाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ भने बाँकी ८ जना फरार रहेका छन् । प्रहरीले १३ जनाको संलग्नता रहेको बताउँदै ठगी मुद्दा दर्ता गरेको थियो । थुनामा पर्नेमा संस्थाका सदस्य बच्चुराम विष्ट, ब्यवस्थापक रामगोपाल थापा र पुर्व ब्यवस्थापक राजिव विष्ट छन् ।
प्रहरीले मुद्दा दर्ता गरी फेला नपरेकाहरुमा सस्थाका उपाध्यक्ष बेदप्रसाद सिग्देल, कोषाध्यक्ष राजेश श्रेष्ठ, सचिव सलिना थापा र सदस्य दिपाकुमारी आचार्य छन् । त्यस्तै लेखा अधिकृत विदुर थापा, कर्मचारी अनु भण्डारी, कर्जा सहायक समुन सिग्देल र सेवा केन्द्र प्रमुख सरिता दाहाल रहेका छन् । उनिहरु सबै फरार छन् । पक्राउ परेर थुनामा गएकाहरुले कर्मचारी तथा संचालक कसैलाई पनि जानकारी नदिई एकलौटी रुपमा अध्यक्ष बासुदेव खड्का र उनकै श्रीमती प्रतिमा आचार्यले रकम हिनामिना गरेको बताएका छन् ।
के हो घटना ? 
बचतकर्ताहरुले रकम फिर्ता मागे पछि फरार भएका अध्यक्ष खड्काले त्यहि अवधीमा श्रीमतिसँग सम्वन्ध विच्छेद गरेर ५ करोड बराबरको सम्पति दिएको खुलासा भएको छ । सम्वन्ध विच्छेद गरेकी श्रीमती केहि दिन आफै पक्राउ पर्नु अघि सम्म प्रहरी हिरासतमा श्रीमान खड्कालाई मासु र भातको कोसेली लिएर भेट्न जाने गरेकी थिईन । ५२ जना बचतकर्ताहरुले दिएको उजुरीका आधारमा खड्का पक्राउ परेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले सहकारी सम्वन्धी ठगीका उजुरी आईरहेकाले अनुसन्धान गरिरहेको बताए । गरुढ लगायतका अन्य सहकारीका बारेमा पनि अनुसन्धान भईरहेको उनले बताए । बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको गरुढ बचत तथा ऋण सहकारी संस्था लिमिटेड डिभिजन सहकारी कार्यालयमा २१८७ नम्वरमा दर्ता छ । उक्त सहकारीमा बचत गरेको रकम समयमा फिर्ता नभएको भन्दै केहि महिना अघि देखि बचतकर्ताहरु आन्दोलित थिए ।
नगरपालिका, जिल्ला प्रहरी, जिल्ला प्रशासन, प्रदेश र संघको सहकारी विभागमा समेत उनिहरुले उजुरी गरेका थिए । ५२ जना बचतकर्ताको लिखित उजुरी पछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको थियो । त्यतिबेला संस्थाका अध्यक्ष बासुदेव खड्का फरार थिए । उजुरी गर्ने बचकर्ताहरुको ४ करोड ९२ लाख ४ हजार २ सय ६८ रुपैया फिर्ता नगरेको उल्लेख छ । श्यामकृष्ण सिलवाल सहितले अध्यक्ष बासुदेव खड्का सहितले ठगी गरेकाले नीजलाई पक्राउ गरी ठगी मुद्दामा कानून बमोजिम कारवाही गर्न माग गरेका थिए ।
अहिले अन्य बचतकर्ताहरुले समेत दिएको उजुरीका आधारमा खड्काले १० करोड जति बचत फिर्ता गर्नु पर्ने देखिएको छ भने १८ करोड भन्दा धेरै आफै अरुका नामको ऋण अपचलन गरेको देखिएको छ । उजुरीका आधारमा अध्यक्ष बासुदेव खड्कालाई प्रहरीले असोज १ गते पक्राउ गरेको थियो ।
भक्तपुर जिल्ला दधिकोट गाविस ४ घर भई हाल सुर्यविनायक नगरपालिका वडा नम्वर ४ घर भएका खड्का ४० वर्षका छन् । उनले खोलेको गरुढ सहकारीमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई कर्मचारीका रुपमा नियुक्ति गरेका थिए । त्यहि क्रममा नियुक्ति गरिएका बनेपा १३ भैसेपाटीका राजिव विष्टलाई केहि समय पछि बासुदेवको श्रीमती पवित्रा आचार्यलाई अध्यक्ष राखेर खोलिएको छायाँश्वेरी सहकारीको ब्यवस्थापक बनाए ।
केहि समय छायाँश्वरी संचालन गरे । छायाँश्वरी सहकारीको दर्ता नम्वर २३९४ थियो । बनेपा १० मा रहेको गरुढ र सोहि ठेगानामा रहेको छायाँश्वरी सहकारी बीच २०७७ माघ ८ गते एकिकरण घोषणा गरिएको थियो । कार्यरत राजिवलाई त्यहि समय देखि बासुदेव खड्काले हटाएका थिए । यता ब्यवस्थापकका रुपमा भक्तपुर सुर्यविनायक १० घर भएका रामगोपाल थापालाई नियुक्ति गरेका थिए । गरुढको कार्यकारी अधिकृतमा बासुदेव खड्काकै श्रीमती प्रतिमा आचार्यलाई नियुक्ति गरिएको थियो ।
कार्यालयमा नआए पनि उनका नाममा हरेक महिना पारिश्रमीक उपलब्ध गराउने गरिएको थियो ।
एकीकरणका क्रममा भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशले संस्था एकीकरणका २१ बुँदे शर्त राखेर गरुढ बचतका नाममा पत्र काटेको थियो । २०७७ माघ ८ गते जारी भएको उक्त पत्रमा उल्लेख भएको बुँदा नम्वर ७ मा गरुढ र छायाँश्वरीको चुक्ता गर्नु पर्ने दायित्व एकीकरण पश्चता एकीकृत संस्था गरुढले दायित्व बहनको जिम्मेवारी रहने उल्लेख छ । त्यो बुँदा नहुँदा पनि ब्यवस्थापक भनिएका राजिव कुनै कारोवारमा संलग्न थिएनन र छैनन । विक्रमप्रसाद पाण्डेय रजिस्ट्रारद्वारा जारी गरिएको पत्रमा दुबै संस्थाका नाममा भएका कारोवारलाई गरुढका नाममा एकीकृत गर्ने उल्लेख छ ।
श्रीमतीसँग सम्वन्ध विच्छेद
सहकारीमा बचतकर्ताहरुले रकम फिर्ता माग्न थाले पछि बासुदेव खड्का शुरुमा फरार भए । फरारकै बीचमा श्रीमती प्रतिमा आचार्यसँग सम्वन्ध विच्छेद गरे । त्यस अघि उनिहरुको अंश विवादको मुद्दा अदालतमा विचाराधिन थियो । सबै सम्पति रोक्का हुँदा हुँदै फेरी मुद्दा फिर्ता लिएर रोक्का सम्पति फुकवा गरेर बासुदेवले श्रीमती आचार्यलाई सम्पति दिएको कागज तयार गरिएको छ । बासुदेवका दाजुको दुई परिवार भएकाले एक परिवारले अंश मुद्दा दर्ता गरेको थियो ।
परिवारका सदस्यको सम्पति समेत सरकारले विक्री गरेर बचत कर्ताहरुको रकम फिर्ता गर्ने घोषणा गरे पछि बासुदेवले एउटै ओछ्यानमा सुत्ने श्रीमतीसँग पनि सम्वन्ध विच्छेदको कागजात तयार गराए । परिवारमा पनि अलग्गै भएको कागजात बनाए । २०७९ फागुन ३० गते जिल्ला अदालत भक्तपुरमा बासुदेव खड्का र श्रीमती प्रतिमा आचार्यको ५ करोडको सम्पति लिएर अलग भएको उल्लेख छ ।
कानूनले संस्था दर्ता भएकै मिति देखि उनिहरुले गरेको कारोवार र सम्पतिका बारेमा अनुसन्धान गर्न सहज बनाउनेछ । सम्वन्ध विच्छेदले पनि श्रीमती प्रतिमालाई पक्राउ गर्न रोकेन ।  गरुढ सहकारीको अध्यक्ष तथा छायाँश्वरी सहकारीको समेत गरेर बासुदेव खड्का आफैले विभिन्न ब्यक्तिका नाममा विना धितो १८ करोड ६२ लाख ५२ हजार रकम अपचलन गरेका छन् । बचकर्ताहरुलाई २५ करोड भन्दा धेरै फिर्ता दिन बाँकी छ ।