यात्रा सहज बनाऊ



उपत्यकाबाट दशैँ मान्न जानेहरुको भीड बढ्न थालेको छ । अग्रिम टिकट बुकिङ गरेसँगै उपत्यका छाड्नेको संख्या बढ्न थालेको हो । यो क्रम घटस्थापनादेखि तीव्र हुन्छ । तर सडकको दूरावस्थाको कारण सडकमार्गको यात्रा अत्यन्तै कठिन बनेको छ । उपत्यकाबाट बाहिरिने अधिकांश सवारीसाधनलाई तोकिएको दूरी पार गर्न घण्टौँ लाग्ने गरेको छ । नारायणगढ–मुग्लिङ, नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने, बुटवल–पाल्पा, बीपी राजमार्ग, अरनिको राजमार्ग, काठमाडौँदेखि दक्षिणकाली, फाखेललगायत अधिकांश सडकमा सवारी दुर्घटनाको जोखिम बढेको छ । केही दिनअघि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाले दशैँअघि सबै राजमार्गको सडक मर्मत गर्न, खाल्डाखुल्डी पुर्न सडक विभागलाई निर्देशन दिएका थिए । निर्देशन हालसम्म पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

ट्राफिक प्रहरीले यो वर्ष झन्डैँ २५ लाख जनसंख्याले उपत्यका छाड्ने आँकलन गरेको छ । दशैँमा घर जानेको संख्या बढेसँगै राजमार्गको दयनीय अवस्था देखेर व्यवसायी दिक्क छन् । हरेक दशैँमा जोखिमपूर्ण सडकको तत्काल मर्मत गर्नुपर्ने विषय उठ्ने गरेको छ । तर सरकार सधैँ मुकदर्शक बनेको छ । यात्रा सहज बनाउन सरकारले ठोस कदम चाल्नुपर्छ । उपत्यका छाड्नेले यो वर्षमात्र होइन वर्षौंदेखि सुरक्षित यात्रा गर्न सकेका छैनन् । सरकारले यस विषयमा न चासो देखाएको छ, न त सडकमार्गलाई सुविधाजनक बनाउन पहल गरेको छ । हरेक वर्षको दशैँ–तिहारमा सडक मर्मतको कुरा उठ्छ तर चाडबाड सकिएपछि एक वर्षसम्म चुइँक्क बोलिँदैन ।

सरकारले सडकमार्गमा चेकजाँच नबढाएको होइन, खाल्डाखुल्डी पुर्न थालेको पनि महिनौँ बितेको छ । तर राजमार्गमा देखिएको समस्या कहिल्यै समाधान हुन सकेन । यात्रुको सेवाको लागि नेपाल प्रहरीले १ हजार ८ सय ट्राफिक प्रहरी परिचालन गरेको छ । हरेक राजमार्गमा चेक प्वाइन्ट स्थापना गरेको छ । ट्राफिक प्रहरीले सवारीसाधन खानतलासी गर्छ तर सडकको कारण भएको समस्याको बारेमा वास्ता गरेको पाइँदैन ।

लामो दूरीको यात्रा गतवर्षभन्दा सुरक्षित र सुविधापूर्वक भए यसका लागि सरकारको तारिफ गर्न मिल्थ्यो । खाल्डाखुल्डी जस्ताको त्यस्तै रहने अनि प्रहरीको अनावश्यक चेकजाँचले गर्दा हैरानी खेप्नुपर्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले हरेक वर्ष सडक मर्मतको विषय उठाएको हुन्छ । शुरुमा आवाज उठाउँदा हुन्छ भन्ने सरकारले टिकट बुकिङ खुला गरेपछि वास्ता नै गर्दैन । अर्थात् व्यवसायीले जुनसुकै हालतमा सवारी चलाउनुपर्ने चेतावनी दिन्छ । सडक यात्रामा देखिएको समस्या समाधान गर्न पटक–पटक आग्रह गर्दासमेत सरकार बोल्न सकेको छैन । फलस्वरूप, लामो दूरीको यात्रा सधैँ नै कष्टकर हुने गरेको छ । यसले गर्दा सवारी दुर्घटना बढ्न सक्ने देखिएको छ । यस्तो गम्भीर विषयमा सरकारले चासो नदेखाएमा सडक दुर्घटनाका घटना नबढ्ला भन्न सकिँदैन । त्यसैले तत्काल समस्या समाधान गरेर यात्रा सहज बनाउन पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्