काठमाडौं ।
नेपाल बोटल वाटर उद्योग संघले काठमाडौं महानगरपालिकाले आफ्नो आधिकार क्षेत्रविपरीत पानी उद्योगमा शिलबन्दी गरेको भन्दै आपत्ति जनाएको छ ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले महानगरले अधिकार क्षेत्रविपरीत उद्योगीलाई सुनुवाईको मौका नै नदिई बालाजुमा रहेको आक्वा ९९ को उद्योगमा शिलबन्दी गरेको बताएको हो । महानगरले पानी उद्योगी र उद्योगमाथि अधिकार क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको भन्दै उनीहरुले आज उत्पादन बन्द गराएका थिए । बोटल वाटर उद्योग संघका सचिव भरत बुढाथोकीले महानगरको कार्यशैलीका कारण पानी उद्योगीहरु मर्माहत भएको बताए ।
महानगरको उक्त कार्यको विरोधमा आज सबै उद्योगको उत्पादन बन्द गराएको उनले बताए । ‘बालाजुमा रहेको आक्वा ९९ मा महानगरद्वारा शिलबन्दी भयो । स्थानीय स्वायत्त ऐनको आधारमा नगरपालिकाले विना आधार उद्योगीलाई धरपकड गर्ने र उद्योग बन्द गर्ने काम भएको छ । यसबाट सम्पूर्ण पानी उद्योगीहरु मर्माहत भएका छौं,’– उनले भने ।
उक्त संघका महासचिव गोकूल थापाले विगत दुई वर्षदेखि खाद्यन्नको चरम मूल्यवृद्धि भइरहेको अवस्थामा पानी उद्योगीहरुले उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर मूल्य नबढाएकोे बताए । आफूहरुले उपभोक्ताहरुको अधिकतम् हित चाहेपनि अनुमगमनका नाममा सरकारका जुन पायो त्यही निकायहरुले दुःख दिने काम गरेको उनको भनाई छ । पानी उद्योगीहरुलाई नियमन गर्ने निकाय महानगर नरहेको उनले बताए ।
‘हिजो बालाजु औधोगिक क्षेत्रभित्र रहेको पानी उद्योगमा विना पुर्जी र विना आधार शिलबन्दी गरिएको छ ।’ उनले भने,‘हाम्रो पानी उद्योगसँग सम्बन्धित विषयमा कुनै पनि कारबाही र नियमन गर्न पाउने अंग भनेको खाद्य तथा गुण नियन्त्रण विभाग हो ।’ जसलाई रहर लाग्यो उसैले उद्योग बन्द गराउँदै हिँडेको भन्दै उनले महानगरको उक्त कार्यको विरोध गरे । संघले सरकारसँग विभिन्न ११ बुँदे माग राखेको उनले बताए ।
खाद्य स्वच्छता ऐन परिमार्जन हुन पर्ने, पानी उद्योगबाट उत्पादित जार बोतलको न्यूनतम मूल्य तय हुनुपर्ने, पानी उद्योगीलाई आवश्यक पर्ने मेसिन, गाडी, औजार र कच्चा पदार्थमा भन्सार छुट हुनपर्ने, पानी उद्योगीले सहुलियतमा बैकिंङ कजा पाउन पर्ने, अनुमगमन एकै निकायले गर्न पर्ने उनीहरुको माग छ ।
शिल खोलेका जार तथा बोतललाई प्रमाण मानेर पानी उद्योगी व्यवसायीमाथि कारबाही हुन नहुने उनको भनाई छ । बोतल र जारमा शिल रहेको अवस्थामा मात्रै उद्योगीहरुले आफ्नो उद्योगबाट उत्पादन भएका वस्तुको गुणस्तर जिम्मा लिनसक्ने उनले बताए । नेपाल बोटल वाटर उद्योग संघका वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बु चेम्जोङले आफूहरुले करोडौंको लगानीमा उद्योग सञ्चालन गरिरहेको बताउँदै नियतवस उपभोत्ताको हितविरुद्ध हुने काम नगरेको बताए ।
विगत एक महिनादेखि आफूहरुले विभिन्न उल्झन झेल्न परेको उनको भनाई छ । सरकार आफैंले पुरा गर्न पर्ने खानेपानीको दायित्वमाथि व्यवसायीले सहयोग गर्दा पनि सरकारका विभिन्न निकायबाट बेलाबेलामा धरपकट र उद्योगमा ताला लाग्ने गरेको भन्दै उनले आपत्ति जनाए । संघका संरक्षक धर्मानन्द श्रेष्ठले आफूहरु राज्य, उपभोक्त र समाजप्रति उत्तरदायि रहेको बताए ।स्थानीय निकायको काम कर्तव्य र अधिकार बेगर महानगरले उद्योग शिल गरेको उनको दाबी छ । उद्योगीहरुलाई स्वच्छ सुनुवाईको मौका नै नदिई उद्योगमा शिलबन्दी र उद्योगीमाथि धरपकड गरिएको भन्दै उनले आपत्ति जनाए ।
संघका अध्यक्ष ध्रुब गौतमले पानीजस्तो अत्यावश्यक वस्तुलाई बजारमा हाहाकार बनाउनुको पछाडि धेरै ठूलो बाध्यता र विवशता लुकेको बताए । केही दिनअघि काठमाडौं महानगरपालिकाले ग्लासमा ल्याएको पानीमा किरा देखाउँदै पानी उद्योगमाथि विभिन्न आरोप र लान्छना लगाएको उनले बताए । संस्थाको तर्फबाट महानगरमा आफ्नो कुरा राख्ने क्रममा महानगर प्रहरी प्रमुख राजु पाण्डेले स्टन्टबाजी गरेर बाहिर निस्कन निर्देशन दिएको भन्दै उनले आपत्ति जनाए । उत्पादनमा समस्या रहेको खण्डमा कारबाही भएमा आफूहरुले कुनै विरोध नगर्ने उनले बताए ।
सरकारले आफूहरुको माग नसुने पानी व्यवसायीहरुले अबको आन्दोलन रोक्न नसक्ने उनले बताए । खानेपानी उद्योगको नियमक निकाय महानगर नरहेको उनले बताए । आफूहरुले खाद्य निर्देशिका २०७४ र उपभोक्ता एने २०७५ को परिधिमा रहेरै उद्योग सञ्चालन गरेको उनले बताए । ऐन र निर्देशिकाको मापदण्डविपरितका कार्यमा सजाय भोग्न तयार रहेको उनको भनाई छ । सरकारले पानी उद्योगीहरुको माग सम्बोधन नगरेको खण्डमा चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिने उनीहरुको भनाई छ ।
प्रतिक्रिया