‘दृष्टिका देवता वनस्थलीमा’


काठमाडौं । दृष्टिका देवताको उपनाप पाएका डा. सन्दुक रुइतले बुधबार दिनभर आफूले अध्ययन गरेको विद्यालयमा बिताउनुभएको छ ।

 

सिद्धार्थ वनस्थली इन्स्टिच्युटको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा उहाँले एक दिन सो विद्यालयमा बिताउनुभएको हो ।

आफ्नो मन्तव्यका क्रममा डा. रुइतले सिद्धार्थ वनस्थली इन्स्टिच्युटले शिक्षा क्षेत्रमा एउटा अनुपम नमुना रचना गरेको बताउनुभएको छ ।

आफू त्यही संस्थाको भूतपूर्व विद्यार्थीलाई स्वर्ण जयन्तीमा प्रमुख अतिथि बनाएर विद्यालयले ठूलो गुन लगाएको उहाँको भनाइ थियो । उहाँले २०२८ सालमा सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । शिक्षाविद् तथा सिद्धार्थ वनस्थलीका संस्थापक प्रिन्सिपल स्व. लक्ष्मण राजवंशीको व्यक्तित्वको चर्चा तथा स्मरण गर्दै उहाँले शिक्षामा व्यापारीकरण बढेकामा चिन्ता प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘मृत्युबाट अमरत्वतिर लाने साधन भनेको नै शिक्षा हो ।’ उहाँले २० वर्ष सेवा पूरा गरेका ४० शिक्षक तथा कर्मचारीलाई बधाई दिँदै देशको विविधतालाई शक्तिमा परिणत गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सोही विद्यालयका प्राचार्य रुपक राजवंशीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

उहाँले आफ्ना स्व. पिता लक्ष्मण राजवंशीलाई स्मरण गर्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायले हाल आफूहरु समुन्नत गुठी नेपालमा आबद्ध रहेको भन्दै नेपालको गुठी संस्कृतिलाई प्रवद्र्धन गर्ने र यसैलाई सुधार गर्दै लैजाने बताउनुभयो । उहाँले राष्ट्रिय एकता, विकास, सुशासन कायम गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफूले सो विद्यालयमा अध्ययन नगरे पनि छोराले अध्ययन गरेको स्मरण गर्नुभयो । उहाँले आफू १० कक्षामा नौपटक फेल भएको भन्दै हँसाउनुभएको थियो । विद्यालय गानका रचयिता विश्व देवकोटा तथा अक्षयकोष स्थापना गर्नेहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, चीन अध्ययन केन्द्रका महासचिव डा. उपेन्द्र गौतम, पूर्वशिक्षक टेकप्रसाद घिमिरे, पूर्वशिक्षक शिवराज पन्तलगायत उच्च विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । अधिकांश वक्ताले मन्तव्यका क्रममा स्व. राजवंशीले जोगाएर राखेको साखलाई अझ उँचो राख्न सफल होस् भनी शुभकामना व्यक्त गरेका थिए । विद्यालयले यस वर्षभरि नै विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाएको छ ।