काठमाडौं भित्रिने बाहिरिने मुख्य राजमार्ग : अत्याधिक खाल्डा, कष्टकर यात्रा

सुरक्षित यात्राका लागि सरोकारवालाको पहल

56
Shares

धादिङ । 

संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रूपमा रहेको त्रिभुवन राजपथ र पृथ्वीराज मार्गको नागढुंगा–नौबिसे–मुग्लिङ सडक खण्डमा अत्यधिक खाल्डाखुल्डीका करण यात्रा कष्टकर हुने गरेको छ ।  नागढुंगादेखि नौबिसेसम्मको सडक त अत्यन्तै जीर्ण भइसकेको छ ।

दसैँ तिहार नजिकिँदै जाँदै व्यस्तता बढ्ने यो सडकको मर्मत हुन सकेको छैन । जसका कारण सवारी साधन लामो जाममा पर्ने गरेका छन् भने यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । हाल ठेकेदारले मर्मत गर्नुपर्ने दायित्व भएपनि मर्मत नभएका कारण जताततै खाल्डा परेका छन् भने साना चार पाङ्ग्रे सवारी र दुई पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न नै नसकिने अवस्थामा पुगेको नियमित यात्रा गरिरहने मलेखुका राम हरी थापाको भनाई छ ।

दैनिक हजारौँ सवारी साधन र यात्रु ओहोर दोहोर गर्ने पृथ्वीराज मार्गको नौबिसे– मुग्लिङ सडक खण्ड विस्तार भइरहेको छ ।
बिस्तारका क्रममा ठाउँ ठाउँमा खाल्डा खुल्डी बनेका छन् । खाल्डाखुल्डीले सवारी साधन सहज रूपमा चल्न सकेका छैनन् भने दुर्घटनाको जोखिम पनि बढ्दो छ ।

करिब १० लाख मानिस दसैँ मनाउन लागि काठमाडौँ छोडेर आफ्नो घर यही बाटो भएर जान्छन् । तर, जीर्ण सडकका कारण यस पटकको दसैँमा यात्रुलाई असहज भएको छ । अहिले नागढुंगा– नौबिसे– मुग्लिङ सडक खण्ड तीन भागमा विभाजन गरेर विस्तार भइरहेको छ । पहिलो खण्ड नौबिसेदेखि नागढुंगासम्म ३० प्रतिशत र नौबिसेदेखि मलेखुको दोस्रो खण्ड १२ प्रतिशत काम सम्पन्न भएको छ । मलेखुदेखि मुग्लिङसम्मको तेस्रो खण्डको काम भने ५ प्रतिशत मात्र सम्पन्न भएको छ। तर सडक विस्तार र स्तरोन्नतिको काममा भइरहेको ढिला सुस्तीको मारमा सवारी साधन, चालक सहचालक र यात्रु परेका छन् ।

विस्तारपछि यहाँको सडक बस्ती तथा सहरी क्षेत्रमा सर्भिस लेन सहित चार लेनको हुने भनिएको ।  नागढुंगा नौबिसे खण्ड तीन लेन बनाइने छ । बस्ती नभएका र साँघुरो क्षेत्रमा दुई लेनको सडक हुने छ । विश्व बैंकको १९ अर्ब रुपैयाँ ऋण सहयोगमा नागढुंगादेखि मुग्लिङसम्मको ९६ किलोमिटर सडक विस्तारको काम गरिरहेको छ ।  यसैबिच चाडपर्वको बेला राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका जिम्मेवार निकायहरू लागि पर्ने भएका छन् । राजमार्ग विस्तारको कार्य भइरहेको पृथ्वी राजमार्गमा सहज ढङ्गले दुईतर्फी रूपमा सवारी साधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालय धादिङ सहित तीन वटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायत निकायहरू एक भएर अघि बढ्ने संयुक्त निर्णय गरेका हुन् ।

राजमार्ग विस्तारका काम गर्ने सिलसिलामा सडक छेउ कुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा स्पीड लाइनसहित ट्राफिक संकेत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सम्बन्धित सडक आयोजनाहरू तथा निर्माण व्यवसायीहरूलाई निर्देशन पनि दिनुभएको छ ।

सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सरोकारवाला निकायसँग मंगलबार संयुक्त बैठक राखेर गैह्रेले दसैँ, तिहार, छठ लगायतका चाडपर्व नजिकै आइसकेको र यो समयमा मानिसहरूको आवतजावत एवं सवारी साधनको चाप वृद्धि हुने हुँदा सडक सुरक्षामा केन्द्रित रहन निर्देशन दिनुभएको हो ।

जिल्लाभित्रका अन्य सडकहरूमा समेत सहज ढङ्गले आवतजावतको व्यवस्था मिलाउन सडक मर्मत सम्भारको कार्यलाई तीव्रता दिई अवरुद्ध रहेका सडकहरूलाई तत्काल सुधार गराउन एवं सञ्चालनमा रहेका सडकहरूको स्तरोन्नति गर्न सम्बन्धित सडक कार्यालय र आयोजनाहरु र निर्माण व्यवसायीहरूलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।

चाडपर्वको समयमा सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल गर्नेलगायत गुनासो सृजना हुन नदिने गरी आवश्यक संख्यामा सवारी साधनको व्यवस्था गर्न सम्बन्धित व्यवसायीहरू पनि सहमत भएका छन् । चाडपर्वका समयमा मानिसहरूको आवतजावत बढेसँगै सवारी चाप समेत वृद्धि हुने र सवारी दुर्घटना समेत बढ्न सक्ने हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यापारीहरूले सवारी साधनको नियमित रूपमा प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारी चालक तथा सहचालकलाई अनुशिक्षण र नियमित रूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

राजमार्गको यात्रा सुरक्षित बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न कार्यक्रमहरूसहित नियमित चेकजाँचलाई तीव्र बनाइरहेको छ । चालक सहचालकहरूले माधक पदार्थ सेवन गरेर सवारी हाँकेको भेटिए अभद्र व्यवहारको मुद्दा चलाउने र बढी भाडा असुलेको फेला परे ठगी  गरेको कसुरमा मुद्दा चलाइने धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।