इजरायल–प्यालेस्टाइन युद्ध रोक



जन्मजात दुश्मनका रुपमा रहेका इजरायल र प्यालेस्टाइनबीचको युद्ध दशकौं वर्षदेखि जारी छ । यहुदीहरुले प्यलेस्टाइनको जमिन खोसेर आफ्नो राज्य बनाएपछि उनीहरुविरुद्ध जेहाद छेडिरहेका कारण अहिलेसम्म हजारौं नागरिकले ज्यान गुमाएका छन् । इजरायल र प्यालेस्टाइनबीचको विवाद झन्डै एक सय वर्षअघिदेखि भएको देखिन्छ । अहिलेको इजरायल र प्यालेस्टाइन भएको क्षेत्र प्रथम विश्वयुद्धअघि ओटोमन साम्राज्यले आफ्नो नियन्त्रणमा लिएर शासन गरेको थियो । भूमध्यसागर र जोर्डन नदीबीचमा रहेको प्यालेस्टाइन भूमि मुस्लिम, यहुदी र इसाई धर्मावलम्बीको पवित्र भूमिको रुपमा रहेको मान्दै आए पनि ओटोमन साम्राज्यले नियन्त्रणमा लिएपछि यो भूमि विभिन्न धर्म र सम्प्रदायका व्यक्ति तथा समूहले कब्जा गरेपछि विवादास्पद बन्दै आएको छ ।

प्रथम विश्वयुद्धको समाप्तिपछि मध्यपूर्वमा ओटोमन साम्राज्य पतन भएपश्चात् सो भूमिलाई बेलायतले आफ्नो नियन्त्रणमा राखेको थियो । यो क्षेत्रलाई बेलायतले सन् १९१८ देखि १९४८ सम्म आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । दोस्रो विश्वयुद्धका बेला हिटलरले युरोपभरका झन्डै ६० लाख यहुदीलाई मारेपछि बाँकी रहेका यहुदीले आफ्नो छुट्टै राज्यको माग गरे । त्यसैले विश्वभर आफ्नो साम्राज्य फैलाउँदै आएको बेलायतले प्यालेस्टाइनमा यहुदीहरुको राज्य खडा गरिदिएपछि यो भूमि विवादास्पद बन्दै आएको थियो ।

इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व नयाँ होइन । २० औं शताब्दीको प्रारम्भदेखि नै शुरु भएको युद्धले लाखौं मानिसको ज्यान गइसक्दा पनि यो समस्याको समाधान हुन सकेको देखिँदैन । बेलायती साम्राज्यले आफ्नो भूमिमा यहुदीहरुको राज्य स्थापना गरिदिएको भन्दै प्यालेस्टाइनहरुले उनीहरुविरुद्ध दशकौंदेखि युद्ध गर्दै आएका छन् । सन् १९४८ जुन १४ मा यहुदीहरुले इजरायल देश भनेर छुट्टै राज्य घोषणा गरेपछि अहिलेसम्म पनि दुई मुलुकबीच युद्ध हुँदै आएको छ । आफ्नो भूमिका लागि भन्दै प्यालेस्टाइनहरुले सन् १९८७ मा हमास नामको संगठन खोलेर इजरायलविरुद्ध युद्ध गर्दै आएका छन् । प्यालेस्टाइन क्षेत्रबाट इजरायललाई हटाउनुपर्दछ भनेर आन्दोलन छेडेपछि यो मध्यपूर्वको एउटा समस्याको रुपमा खडा भएको थियो । हिटलरले आफ्ना ६० लाखभन्दा बढी यहुदीको हत्या गरेपछि क्रुद्ध बनेका यहुदीहरुले इजरायल कब्जा गरेपछि उनीहरुले आफूहरुलाई क्रुर शासकको परिचय दिई राज्यलाई बलियो बनाउँदै लगेका थिए ।

इजरायल र प्यालेस्टाइनबीच भएको युद्ध रोक्न संयुक्त राष्ट्रसंघले सन् १९५० देखि नै सो इलाकामा शान्ति सैनिक खटाउँदै आएको छ । त्यसका बाबजुद पनि दुई मुलुकबीच पटक–पटक युद्ध हुँदै आएको छ । युद्धले प्यालेस्टाइन जर्जर बन्दै गएको छ भने इजरायल शक्तिशाली बन्दै गएको छ । उसले विश्वमा नै कृषि र हतियारको क्षेत्रमा आफूलाई अब्बल बनाउँदै लगेको छ । अहिले विश्वभरबाट इजरायलमा कामको खोजीमा पुग्ने गरेका छन् । आफ्नो गुमेको भूमि फिर्ता गर्ने उद्देश्यले गठन भएको हमासलाई विश्वका शक्तिशाली देशले आतंकारी संगठन भनी उनीहरुको गतिविधिमा रोक लगाउनुपर्ने बताउँदै आए पनि अहिलेसम्म यो संगठनलाई कसैले केही गर्न सकेको देखिँदैन । सन् १९८८ मा हमासले इजरायल र यहुदीका सम्बन्धमा जारी गरेको बडापत्रमा यहुदी समुदाय र इजरायललाई पूर्णरुपमा नष्ट गरेर मात्रै हमासको मृत्यु हुने बताएपछि त्यस क्षेत्रमा थप जटिलता उत्पन्न भएको थियो । सोही संगठनले इजरायलमा गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । उनीहरुको उक्त कार्यलाई आततायी मानिन्छ । जुनसुकै समस्याको समाधान पनि वार्तामार्फत सहज हुने भएकाले यथाशीघ्र वार्ता गरी युद्ध रोकियोस् ।

प्रतिक्रिया दिनुहोस्