भाइटीकालाई साँचेकी छु ‘जीवन्त सम्बन्ध’ 

140
Shares

डेङ्गीबाट थलिएको जीउ तङ्ग्रिदैछ, शरीर कमजोर भएको हुँदा नियमित दैनिकी पनि प्रभावित भइरहेको छ । तर, बजारमा आएको एउटा नयाँ पुस्तकका कारण गलेको शरीरलाई घरभित्रै सीमित राख्न मनले मनेन । त्यसैले नयाँ बानेश्वर शान्तिनगरदेखि अनामनगरको भाटभटेनीसम्म जान हौसिएँ ।

बिरामी शरीरलाई घर बाहिर निकाल्न उत्प्रेरित गर्ने पुस्तक डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ हो । मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलका जनचेतनामूलक प्रस्तुतिहरूको म प्रशंसक हुँ । उहाँको नयाँ पुस्तक प्रकाशित भएको जानकारी सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट पाएको थिएँ । मैले उक्त पुस्तक अलि पछि अध्ययन गर्ने सोच बनाएको थिएँ । तर, पुस्तकमाथिका टिप्पणीको अध्ययन र पाठकको बढ्दो रुचिका कारण मैले धैर्यता गर्न सकिन । त्यसैले भाटभटेनी पुगेर पुस्तक खरिद गरेकी हुँ । हुन त अनलाइनबाट पनि मगाउन सकिने रहेछ । तर, ढिलो डेलिभरी भइरहेको गुनासो पढेपछि आफैँ किन्न जाने निधो गरेकी थिएँ ।

किताब किनेर ल्याएको साँझदेखि नै अध्ययन शुरु  गरेँ । किताब पढ्दै जाँदा आफ्नै कथा व्यथाजस्तै लाग्यो । आफैंले देखेका, भोगेका घटनाहरू आँखा वरिपरि घुम्न थाले । जसले गर्दा किताबप्रतिको मेरो आकर्षण बढ्यो ।  बिरामी भएर शरीर कमजोर भए पनि निरन्तर अध्ययन गरेर अर्को दिनमै किताब सक्काएँ । हामी दम्पतीले नै ‘जीवन्त सम्बन्ध’ अध्ययन गरिसक्यौँ । मैले जीवनमा धेरै किताब पढेकी छु । किताबप्रति मेरो रुचि औधी छ । मलाई प्रभावित पार्ने थोरै किताबमध्ये यो पनि परेको छ । यस पुस्तकले हामी दुवैलाई निक्कै प्रभावित पारेको अनुभूति भइरहेको छ ।

किताबमा घर, परिवार, बाबुआमाप्रतिको कर्तव्य, सम्मानका बारेमा अत्यन्तै गहकिलो तरिकाले प्रस्तुत गरिएको हुँदा हामी प्रभावित भएका हौँ । पारिवारिक सम्बन्धले कसरी बलियो बनाउन सकिन्छ ? त्यसको महत्त्व यो किताव पढेपछि अझै बढी थाहा भयो ।

अहिलेको अवस्थामा छोराछोरीहरू आफ्नो रमाइलो र खुशीलाई मात्रै प्राथमिकता दिने र बाबुआमाको खुशी, इच्छालाई नजरअन्दाज गर्ने प्रवृत्ति बढ्दै गएको छ । यस्तो प्रवृत्तिलाई पुस्तकमा ‘जेनेरेसन ग्याप’ मार्फत् लेखकले राम्रोसँग प्रस्तुत गर्नु भएको छ । बच्चाहरूलाई के लाग्छ भने हामी बाबुआमाभन्दा टेक्नोलोजीमा धेरै अगाडि छौँ, बाबुआमालाई केही पनि थाहा छैन भन्ने भ्रम छ ।

बाबुआमाको जीवन संघर्ष, भोगाई र अनुभवलाई सुन्ने इच्छा र फुर्सद उनीहरूमा छैन । व्यक्तिवादी प्रवृत्तिका कारण हिजोआज हाम्रो समाजमा नैराश्यता बढ्दै गएको छ भने अपनत्व घट्दै गएको छ । जसले गर्दा मानिस बिस्तारै परिवार र समाजबाट टाढिँदै गएका छन् ।

पारिवारिक एकतामा हाम्रो जुन सौन्दर्यता छ । यो क्रमशः हराउँदै एकलकाँटे जीवन बिताउने अवस्था सिर्जना भएको छ । यसले अन्ततः मानिसको जीवनमा निराशा र असन्तुष्टिले बास गर्दै आएको देखिन्छ । तसर्थ, सुखद् जीवनका लागि पारिवारिक एकता र सम्बन्धलाई बलियो बनाउनैपर्छ । डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’को निष्कर्ष हो भन्ने मेरो बुझाइ छ ।

किताबमा उल्लेख गरिएका श्रीमद्भावगगीता तथा विभिन्न नीति शास्त्रका श्लोकहरूले गहकिलो बनाएको छ । तर, अहिलेको पुस्ताले किताबको अर्थ बुझ्न गाह्रो हुन्छकि भन्ने मेरो अनुभव छ । किताबमा उल्लेख गरिएका शब्दहरू निक्कै वजनदार छन् । जसलाई वि.सं. २०४० अघि जन्मिएको पुस्ताले सहजै बुझ्न सक्छन् । तर, अंग्रेजी माध्यममा पढेको पुस्तालाई पुस्तकको मर्म बुझ्न कठिन हुने मेरो विश्लेषण छ । समस्या नयाँ पुस्तामा बढी छ । त्यसैले उनीहरूले बुझ्ने गरी प्रस्तुत गर्न किताबको अंग्रेजी संस्करण अत्यावश्यक छ ।

हरेक दिनजसो घरपरिवारका भइरहेका कुरा हामीले अमेरिकामा अध्ययन गरिरहेकी जेठी छोरीसँग छलफल गर्छौ । ‘जीवन्त सम्बन्ध’ किताबको प्रसङ्ग पनि छोरीसँगको कुराकानीको नयाँ विषय बन्यो ।किताबका विशेषताका बारेमा मैले छोरीसँग धेरै छलफल गरेँ । मेरो व्याख्यापछि उनी पनि किताब पढ्न इच्छुक हुँदै ई–बुक भए बताउन वा कसैसँग अमेरिका पठाइदिन आग्रह गरिन । यद्यपि, उनलाई अंग्रेजी संस्करण चाहिन्छ । उनले यस पुस्तकको अध्ययन त गर्न सक्दछिन् । तर, यसको गहिराईसम्म पुग्न गाह्रो हुन्छ । यो समस्या मेरो मात्रै होइन धेरै अभिभावकको हो भन्ने मैले बुझेकी छु । निश्चय पनि अंग्रेजी संस्करण आएपछि मैले छोरीहरूलाई पढ्न लगाउने छु । छोरा भर्खर ७ वर्षको भयोे । उ बुझ्न सक्ने भएपछि पक्कै पनि यो किताब पढ्न लगाउने छु । मैले त यस किताबको मर्मलाई आत्मसात गरिसकेँ । अब मैले यो किताब तिहारमा भाइटीका लगाइदिँदा भाइहरूलाई सगुनस्वरुप पुस्तक उपहार दिने विचारमा छु ।