अस्ट्रेलिया र बेलायतबाट पढाइँदै



काभ्रे । हेल्प नेपाल बालगृह धुलिखेलमा अस्ट्रेलिया र बेलायतबाट अनलाइन कक्षा सञ्चालन हुँदै आएको छ । विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा, कला, संस्कृतिका साथै भाषामा अब्बल बनाउन अनलाइन शिक्षा दिइएको हो ।

प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म अस्ट्रेलियाबाट र दिउँसो २ बजेदेखि ४ बजेसम्म बेलायतबाट अनलाइन कक्षा सञ्चालन गर्दै आएको बालगृह सहयोग सञ्चालन समितिका सदस्य पूर्णबहादुर कार्कीले बताउनुभएको छ । बालगृहमा हुम्ला, बाजुरा, चितवन, बारा, सर्लाही, सप्तरी मोरङ, झापा, दोलखा, सिन्धुपाल्चोक जिल्लाका २३ जना बालिका रहेको उहाँको कथन छ । बालगृहले यसअघि काभ्रेका २ जना बालिका एसएलसी (ग्रेड १२) परीक्षा उत्तीर्ण गरार्ई पारिवारिक पुनर्मिलन गराइसकेको छ ।

त्यस्तै, हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेतले कुनै पनि बालबालिकाले अभिभावक नभएर शिक्षा र परिवारको मायाबाट वञ्चित हुन नपरोस् भनेर बालगृह स्थापना गरेको बताउनुभएको छ । हाल यस बाल गृहमा २३ जना बालिकाहरूलाई पूर्णरूपमा रेखदेख, शिक्षा, आवासको व्यवस्था गरिएको छ । अभिभावक गुमाएका द्वन्द्वपीडित बालबालिकाहरूको उचित पालन पोषण, स्वास्थ्य, शिक्षादीक्षा दिने उद्देश्यले २०७५ सालदेखि आवासीय रूपमा उपलब्ध गराउने उद्देश्यले हेल्प नेपाल नेटवर्क चिल्ड्रेन होम’ धुलिखेलमा सञ्चालन गरिएको थियो ।
बालगृहमा रहेका प्रत्येक बालिकाहरूको स्वास्थ्य बिमा र जीवन बिमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्