५० हजार ५ सय ३० प्रहरी परिचालन हुने

-उपत्यकामा मात्रै १२ हजार परिचालन हुने -ड्रोनले निगरानी गर्ने



काठमाडौं । दशैं र तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले तयार गरेको एकीकृत सुरक्षा योजनाअन्तर्गत ५० हजार ५ सय ३० प्रहरी परिचालन हुने भएका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १२ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले चाडवाड लक्षित सुरक्षा योजनाअन्तर्गत विशेष सुरक्षा व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा १४, कोशी प्रदेशमा ४५, मधेस प्रदेशमा ३७, वागमतीमा ४५, गण्डकीमा २१, लुम्बिनीमा ५०, कर्णालीमा १४ र सुदूरपश्चिम प्रदेशमा ३५ वटा नागरिक सहायता कक्ष सञ्चालन हुनेछन् । प्रहरीले ३ सय ५७ वटा सिभिल चेकपोस्ट, ५० क्षेत्रमा सीमा सुरक्षा चेकपोस्ट, ग्रामीण क्षेत्रमा १५ सुरक्षा चेकपोस्ट खडा गर्ने भएको छ ।

प्रहरी प्रवक्ता कडायतले अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्र वर्गीकरण गरी प्रहरी परिचालन गरिने जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उपत्यकाको सुरक्षाको लागि आवश्यकताका आधारमा सुरक्षा अवस्था निगरानी गर्न ड्रोन प्रयोग गर्नेछौं ।’

विशेषगरी सुख्खा पहिरो खस्ने पृथ्वी राजमार्ग खण्डको मुग्लिङ–नारायणगढ खण्डमा २४ सै घण्टा सुरक्षाकर्मीसहित सडक विभागसँग समन्वय गरी आवश्यकताअनुसार स्काभेटर, डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको प्रहरीको भनाइ छ ।

चाडवाडमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताका आधारमा प्रहरी परिचालन गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ भने राजधानीबाट टिकट लिने यात्रुका लागि प्रहरीले विभिन्न स्थानमा करिब दुई दर्जन प्रहरी सहायता कक्ष स्थापना गरी त्यहाँबाट सेवा दिन शुरू गरेको छ ।

प्रहरीले टिकटमा कालो बजारी गर्ने, दोस्रो व्यक्तिले टिकट बिक्री गरेर यात्रु ठग्नेलगायतका कामलाई निरुत्साहित गर्न बसपार्क र अन्य स्थानमा विशेष गस्ती शुरू गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको बजार अनुगमन समितिसँग सहकार्य गरी प्रहरी परिचालन गर्ने योजना रहेको प्रहरीले विशेष सुरक्षा योजना लागु गरिसकेको छ । डीआईजी कडायतका अनुसार घटस्थापनादेखि यसलाई कडाइका साथ कार्यन्वयन गर्न मातहतका सबै प्रहरी निकायलाई निर्देशन दिइसकिएको छ ।

त्यसबाहेक कालोबजारी नियन्त्रण, बजार अनुगमन, हाते पर्चासहित प्रचारप्रसारलगायतका कार्य अघि बढाउन सबै प्रहरी निकायलाई आग्रह गरिसकेको प्रहरीको भनाइ छ । बढी भीडभाड हुने क्षेत्रमा चोरी र लुटपाट नियन्त्रण गर्न, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन, सवारी साधनमा हुने मनपरी भाडा नियन्त्रण गरी कारबाही गर्न सबै जिल्ला प्रहरी कार्यालयललाई निर्देशन दिइसकेको पनि डीआईजी कडायतको भनाइ छ ।

प्रहरीले अति संवेदनशील क्षेत्रमा कुकुरबाट चेकिङ शुरू गरेको छ । हाल प्रहरीले बैंक, वित्तीय संस्था, गहना पसल, सपिङ मललगायत भीडभाड हुने स्थानमा गस्ती बढाएको छ । ती स्थानमा व्यापक मात्रामा सादा पोशाकका प्रहरी परिचालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्