हमासको आततायी आक्रमणमा १० नेपालीको मृत्यु



काठमाडौं । इजरायलमा प्यालेस्टिनी लडाकु समूह ‘हमास’को आततायी आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले घटनामा परी १० नेपालीको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उक्त आक्रमणमा परी २ जना नेपाली घाइते भएका छन् भने एक जना सम्पर्कविहीन रहेको बताइएको छ ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार सो घटनामा मृत्यु हुनेहरूमा कैलालीका नारायणप्रसाद न्यौपाने, बझाङका गणेशकुमार नेपालीलगायत रहेका छन् । त्यसै गरी सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी पुलिसको सुरक्षामा रहेको बताइएको छ् । खुट्टामा चोट लागेका सल्यानका विधान सेजवाल र दाङका प्रवीन डाँगी अस्पतालमा उपचाररत् रहेको बताइएको छ ।

मृतकहरूको नामावली
नारायणप्रसाद न्यौपाने, कैलाली
गणेशकुमार नेपाली, बझाङ
आशीष चौधरी, कैलाली
दिपेशराज विष्ट, दार्चुला
आनन्द साह, धनुषा
राजेशकुमार स्वर्णाकार, सुनसरी
राजन फुलारा, डोटी
पदम थापा, डोटी
प्रवेश भण्डारी, सल्यान
लोकेन्द्रसिंह धामी, दार्चुला

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले नेपाल समाचारपत्रसँग उक्त घटनामा मृत्यु भएका र घाइते भएका नेपालीहरूबारे थप जानकारी लिने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार स्वदेश र विदेशमा रहेका सबै संयन्त्र प्रयोग गरेर आक्रमणमा परेका नेपालीहरूको यकिन तथ्यांक लिने र उद्धार गर्ने काम भइरहेको छ ।

यसै गरी गैरआवासीय नेपाली संघका अध्यक्ष रविना थापाले उद्धारका लागि हटलाइनको व्यवस्था गरिएको र एनसीसी इजरायललाई घाइतेको अवस्था र सहयोग गर्न निर्देशन दिएको बताउनुभयो ।

आक्रमणमा परेका नेपालीहरू नेपाल र इजरायलबीच भएको सरकार र सरकारबीचको सम्झौता (जीटूजी) अनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएका नेपालीहरू हुन् । त्यहाँ अहिले करिब आठ सयजति नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेको बुझिएको छ । गाजा क्षेत्रको कृषि फर्ममा आक्रमण हुँदा त्यहाँ १७ जना नेपाली काम गरिरहेको एनआरएनएले जनाएको छ ।

यसैबीच परराष्ट्रमन्त्री एनपी साउदले संसद्मा हाल इजरायलमा ४ हजार ५ सय नेपाली केयरगिभरका रूपमा कार्यरत रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा २ सय ६५, कृषि विश्वविद्यालयबाट १ सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएका छन् ।

समिति गठन

सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा समिति गठन गरेको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न, उनीहरूको उद्धार गर्न र समग्र परिस्थितिको मूल्यांकन गरी समन्वय र सहकार्य गर्न उक्त संयन्त्र गठन गरेको हो ।

तत्काल उद्धार गर्न सांसदहरूको आग्रह

यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरूलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले आक्रमणमा परेका नेपालीहरूको तत्काल उद्धारका लागि पहल गर्न अनुरोध गर्नुभयो ।

यस्तै, नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन सरकारसँग माग गरेको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी नेपालीहरूको यकिन तथ्यांक पत्ता लगाई उनीहरूको जीवनरक्षा गर्र्दै तत्काल सुरक्षित स्थानमा पु¥याउन र यथासम्भव स्वदेश फर्काउनका लागि अविलम्ब कूटनीतिक पहल सरकारसँग माग गर्नुभएको छ । उहाँले इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवाससम्बन्धी संगठन (आईओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्