गठबन्धनमा कुनै दरार आउँदैन : सापकोटा

0
Shares

वीरगन्ज ।

 नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभागका प्रमुख अग्नि सापकोटाले वर्तमान गठबन्धनमा कुनै दरार नआउने बताएका छन्  । प्रेस सेन्टर पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष सापकोटाले अहिले जनताले सरकार परिवर्तन नचाहेको भन्दै तत्काल सरकार फेरबदरको कुनै सम्भावना नै नरहेको स्पष्ट परे।

वर्तमान सत्ताको मुख्य घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नै काँग्रेसको केन्द्रीय समितिको बैठकमा नै गठबन्धन लामो समय जाने भनेर भनिसक्नु भएकाले गठबन्धनमा कुनै समस्या नरहेको बताए । उनले बाम एकताको पक्षमा आफूहरू संधै रहेपनि अहिले नै एमाले र माओवादीकाबीचमा  कुनै तालमेल वा एकता हुने सम्भावना नरहेको स्पष्ट पारे । अहिले सरकारलाई असफल बनाउनका लागि भने देशी विदेशी शक्तिहरु लागि नै रहेको बताए ।

यसअघि आइतबार नै वीरगन्जमा नेकपा माओवादी केन्द्र मधेश प्रदेशको प्रचार तथा प्रकाशन विभागले वीरगन्जमा आयोजना गरेको अभिमुखीकरण तथा कार्यशालामा बोल्दै सापकोटाले माओवादीका पक्षमा पछिल्लो दिनमा जनताको विश्वास बढ्दै गइरहेको दाबी गरे ।

कार्यक्रममा माओवादी केन्द्रका सचिव एवम् मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेलले माओवादी केन्द्रको तीन महिने रूपान्तरण अभियानले मधेशमा धेरे परिवर्तन भएको दाबी गरे । प्रेस सेन्टरका उपाध्यक्ष एवम् मधेश प्रदेशका इचार्ज गोबिन्द देवकोटाको अध्यक्षमा भएको कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा लगायत माओवादी नेताहरुले बोलेका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशले पार्टीको तीन महिने अभियानका लागि मधेस प्रदेश अभियान प्रचार प्रसार संयन्त्र गठन गरेको छ । प्रचार विभाग सदस्य तथा मधेस प्रदेश प्रमुख गोविन्द देवकोटाको संयोजकत्वमा २१ सदस्यीय संयन्त्र गठन गरिएको हो । समितिको सदस्यहरुमा प्रभाकर गुप्ता, मुकेश साह, जितेन्द्र श्रीवास्त, भक्ति रिजाल, जयप्रकाश मण्डल, छेदी रजक, निरज पिठाकोटे मगर, प्रदीप गौतम, रानी साह, क्षितिज विक, निराजन साह, विनोद महतो रहेका छन् । यसैगरी जीवस मण्डल उदासी, जितेन्द्र गुप्ता, पुजन सिंह, सुजन पुडासैनी, विनिता दाहाल पनि सदस्यमा चयन गरिएको छ ।