प्रहरीले ल्यायो चाडपर्वलक्षित सुरक्षा योजना

0
Shares

हेटौंडा ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले विजयादशमी, दीपावली तथा छठ पर्वका लागि सुरक्षा व्यवस्था मिलाएको छ । पूर्वपश्चिम राजमार्ग, कान्ति लोकपथलगायत राजधानीसँग ५ भन्दा बढी लोकमार्ग जोडिएको र प्रदेश राजधानी भएसँगै विशिष्ट व्यक्ति तथा अन्य सेवाग्राहीको समेत चाप हुने, चाडपर्वमा आवतजावत गर्ने यात्रु तथा सवारी सुरक्षा व्यवस्थापन, उद्योग-कलकारखाना, आर्थिक कारोबार हुने स्थान, सुनचाँदी व्यवसाय, बैंक तथा वित्तीय संस्थासमेतमा आवश्यक सुरक्षा व्यवस्थापन मिलाइएको प्रहरीको दाबी छ ।
नजिकिँदै गएका पर्वहरुको समयमा हुनसक्ने आपराधिक घटना, राजमार्गमा हुनसक्ने लुटपाट, चोरीडँकैती, गुण्डागर्दी, सवारी दुर्घटना, झगडालगायतलाई मध्यनजर राखी कुनै पनि किसिमका घटना हुन नदिन भरपर्दाे शान्तिसुरक्षा एवम् अमनचयन कायम राख्न सुरक्षा योजना तयार गरी सोहीअनुसार प्रहरी परिचालन गरिने जनाइएको छ ।
सामुदायिक प्रहरी सेवाकेन्द्रले स्थानीय टोल विकास समितिसँग समन्वय गरी चाडपर्वमा हुने अपराध न्यूनीकरणका लागि जनचेतनामुलक जिंगल धुन, माइकिङ तथा पर्चापम्प्लेट वितरण जस्ता कार्य, आपराधिक गतिविधि रोक्न वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडासँग समन्वय गरी प्रशिक्षित कुकुरसमेतको संयुक्त टोलीद्वारा विभिन्न स्थानमा चेकिङको व्यवस्था, सरकारी तथा गैरसरकारी कार्यालयमा निगरानी गरी आवश्यक सुरक्षा व्यवस्था, बैंक, वित्तीय संस्था, सुनचाँदी पसल, हाटबजार मा सादा पोशाकमा प्रहरी परिचालन, स्थानीय प्रहरी युनिटले आफ्नो वडा एरियामा गैरकानुनी क्रियाकलाप हुन र गर्न नदिन स्थानीय तह, सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिने भएको छ ।
विगतका वर्षहरुमा चाडपर्वमा घटेका घटनाको विश्लेषण गरी ठगी, जुवातास, झगडा, लुटपाट, चोरीडँकैती, गुण्डागर्दी, सवारी दुर्घटना नियन्त्रण तथा निरुत्साहित पार्न सादा पोशाकमा प्रहरी परिचालन गरी खबर संकलन गरिने भएको छ । यात्रुबाहक सवारीसाधनले बढी भाडा असुल्ने सम्भावना रहने हुनाले ती कार्य निरुत्साहित गर्न सादा पोशाकमा प्रहरी परिचालन गरी प्रभावकारीरुपमा खबर संकलन गर्ने र यस किसिमका कार्यहरुलाई कानुनी दायरामा ल्याउने, नागरिक सहायताकक्ष र यात्रु सहायताकक्ष र रिफ्रेसमेन्ट सेन्टर स्थापना गरी यात्रुबाहक सवारीसाधनले यात्रुसँग गर्ने व्यवहार, सिट क्षमता, आरक्षण सिट कार्यान्वयन, चालक परिवर्तन, भाडा असुली, सवारीका सामान्य मेकानिकल अवस्थालगायत अनुगमन गरी आवश्यकताअनुसार नागरिकलाई सहजीकरण गर्नुका साथै सवारी दुर्घटना न्यूनीकरणमा जोड दिइने भएको छ ।
लोकमार्गमा नियमित दिवा तथा रात्रि गस्ती र पट्रोलिङ, पैदल गस्तीसमेत बढाइ यात्रुको गन्तव्यस्थानसम्म आवतजावतका लागि सहज तथा भयरहित वातावरण निर्माण गर्ने, चाडपर्वको समयमा हुनसक्ने चन्दा असुली, कृत्रिम अभाव, कालोबजारीलगायत अनुगमन गरी दैनिक उपभोग्य सामानको सर्वसुलभता गराउने सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायसँग अवश्यक समन्वय, बन्द रहने सरकारी कार्यालयको भ्रमण, निवास, आर्थिक गतिविधि हुने स्थान तथा कार्यालय आदिको सुरक्षा व्यवस्था, लागुऔषध तस्करी, निषेधित पदार्थ ओसारपसार, दुव्र्यसनलगायत क्रियाकलाप नियन्त्रण गरिने प्रहरीको योजनामा भनिएको छ ।
यात्रु ठगिन तथा विभिन्न किसिमका हैरानी खेप्न नदिन हेटौंडा उपमहानगरपालिकाको बसपार्क, राममन्दिर, पिपलबोट र रातमाटे चेकपोष्टमा ट्राफिक प्रहरीसहित नागरिक सहायताकक्ष र थानाभ¥याङमा ट्राफिकसहित नागरिक सहायताकक्ष र रिफ्रेसमेन्ट सेन्टर स्थापना गरी यात्रुलाई आवश्यक सहजीकरण, दुर्घटना, चक्काजाम, बन्दलाई मध्यनजर गर्दै सदैंव सुचारुरुपमा सवारी सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालयमा जुप्रअको कमाण्डमा २४ सै घण्टा स्ट्याण्डवाई रहने गरी  टोली राखिने भएको छ ।
सुरक्षा योजनाबाट चाडपर्व भयरहितढंगबाट मनाउने वातावरण सिर्जना हुने, सवारी दुर्घटना न्यूनीकरण भइ जनधन क्षतिमा कमी आउने, आपराधिक मनोवृत्तिका मानिसको मनोबल गिर्न गइ आपराधिक घटनामा ह्रास आउने, चाडपर्वको समयमा ठगी, लुटपाट, चोरीडँकैती, गुण्डागर्दी तथा झगडा जस्ता क्रियाकलापमा कमी आउने, गुणस्तरहीन दैनिक उपभोग्य सामान बेचबिखन एवम् कालोबजारी जस्ता कार्य नियन्त्रण हुने, लोकमार्गमा सवारीसाधनमा हुने चोरीडँकैती, लुटपाट एवम् ठगी जस्ता कार्यमा कमी आउने, मठमन्दिर तथा धार्मिकस्थलमा सहजरुपमा पुजाआजा गर्ने वातावरण बन्ने, चाडपर्वको समयमा जुवातास तथा मादकपदार्थ सेवन गरी हुने झगडा जस्ता कार्यमा कमी आउने, विश्वास छ ।
आर्थिक कारोबार हुने स्थान सुरक्षित रहने, यात्रुलाई कुनै हैरानीबिना गन्तव्यमा पुग्न सहजता हुने तथा नागरिकमा प्रहरीप्रतिको विश्वासमा अभिवृद्धि हुने, विभिन्न सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका पदाधिकारी, प्रतिनिधि तथा आमनागरिकसँगको सम्बन्ध अझ सुमधुर हुने विश्वास पनि प्रहरीको छ ।