वीर अस्पतालका करारमा कार्यरत स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिनुपर्छ: विद्या भट्टराई

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विद्या भट्टराईले करारमा कार्यरत वीर अस्पतालका २३० जना स्वास्थ्यकर्मीहरूलाई हटाउने निर्णयप्रति आपत्ति जनाएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कोरोनाकालमा नियुक्त गरिएका ५० चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आजबाट नआउन निर्देशन दिएकोमा आपत्ति जनाएकी हुन् । उनीहरूलाई हटाउने निर्णय फिर्ता लिन सांसद भट्टराईले सरकारसँग आग्रह गरिन् ।

उनले भनिन्, ‘वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई दसैँको सम्मुखमा सरकारले हटाउने निर्णय गरेको छ । कोरोना महामारीका समयमा नियुक्ति गरिएका ५० डाक्टर, १६२ नर्स, ११ जना प्रयोगशाला प्राविधिकका साथ रेडियोलोजिष्टलाई असोज २१ गतेबाट काममा नआउन स्वास्थ्यमन्त्रीज्यूले निर्देशन दिनुभएको छ भन्ने छ ।

वीर अस्पतालको सेवा बिस्तार भएको छ । ३५० शय्या रहेकोमा अहिले ९०० बनाइएको छ । ८३१ दरबन्दी मन्त्रालयले स्वीकृति गरिसकेको छ । सरकारले करारमा रहेका स्वास्थ्यकर्मीहरुलाई आर्थिक अवस्था देखाई हटाउने आकस्मिक निर्णयले वीर अस्पतालले प्रवाह गरिरहेका बिस्तारित सेवा खस्किनुका साथै आम नागरिकहरु सेवाबाट वञ्चित हुनेछन् । सेवा लिन आएका नागरिकहरुलाई निजी स्वास्थ्य संस्थामा जान सरकारले नै बाध्य गरिरहेको छ ।’