कोशीमा चौथोपटक पनि ढल्यो सरकार

अबको मुख्यमन्त्री को ? 



विराटनगर । सर्वाेच्च अदालतको परमादेशपछि ३० दिनअघि दोहोरिएर दोस्रो पटक मुख्यमन्त्री बनेका कोशी प्रदेशका चौथौ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो ।

प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको र एमाले सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउनुभयो । उहाँले कसैको स्पष्ट बहुमत नभएको अवस्थामा मिलीजुली सरकार बनाउनु नै अन्तिम विकल्प भएको दाबी पनि गर्नुभयो । प्रदेशसभाको दोस्रो कार्यकालमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाएकोमा खुसी व्यक्त उहाँले आफू प्रदेशको सर्वोच्च कार्यकारी प्रमुखको भूमिकामा रहँदा प्रदेशको आर्थिक समृद्धिमा लागि परेको बताउनुभयो ।

अस्थिर प्रदेश सरकार, एक वर्षमै चार सरकार 

कोशी प्रदेश सरकारको तेस्रो मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्की २०७९ पुस २४ गते नियुक्त हुनुभएको थियो । त्यतिबेला उहाँले १ सय ७४ दिन मात्रै काम गर्न पाउनुभएको थियो । गत असार १५ गते प्रदेशसभा बैठकमा उहाँले राख्नुभएको विश्वासको मतको प्रस्तावामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत मात्रै पाएपछि सत्ताच्युत हुनुपरेको थियो ।

गत भदौ २२ गते सर्वोच्च अदालतको परमादेशबाट पुनः मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले अघिल्लो कार्यकालमा सत्ताच्यूत हुँदा ल्याएको विश्वासको मत पनि अहिले नपाउने परिस्थिति बन्यो । राप्रपाले पनि असहयोग गरेमा एमालेबाटै उपसभामुख रहेको कार्कीको पक्षमा ३९ मत मात्रै हुने अवस्था थियो । प्रदेशसभा अहिलेसम्म सभामुख विहीन छ । एमालेबाटै निर्वाचित सिर्जना दनुवार उपसभामुख रहनुभएको छ ।

यसअघि असार २१ गते संविधानको धारा १६८ (२) अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री बनेर सरकार गठन गर्नुभएको थियो । केन्द्रीय सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नुभएका थापाले सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर बुझाएपछि गैर संबैधानीक प्रकृयाबाट सरकार गठन गरेको भन्दै एमाले सर्वोच्च अदालत पुगेको थियो । सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका काँग्रेस नेता थापाको नियुक्ति प्रक्रिया सर्वोच्चले साउन ११ गते खारेज गरेको थियो । त्यसबेला मुख्यमन्त्री थापाले २२ दिन मात्रै काम गर्न पाउनुभयो ।

अदालतले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको लागि बाटो खोलिदिएको थियो । सोही अनुसार थापा पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर, उहाँले भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिएको भन्दै सर्वोच्चले पुनः भदौ २१ गते उहाँलाई बर्खास्त गरेको थियो । सर्वोच्ले थापाको सरकारको बैधानीकतामाथि प्रश्न उठाउदै उक्त निर्णय बदर गरेसँगै हिक्मत कार्की नै मुख्यमन्त्रीका रूपमा दोस्रो पटक नियुक्त हुनुभएको थियो । एमाले नेता कार्की भदौ २२ गते चौथो मुख्यमन्त्रीका रूपमा दोस्रो पटक नियुक्त हुनुभएको थियो ।

यो दश महिनाको समयमा कोशी प्रदेश सभामा सहभागि दलहरुको गैर जिम्मेवारीपनका कारण अस्थिरता कायम रहेको प्रदेशसभा सदस्यहरुले बताएका छन् । काँग्रेस नेता थापा दुई र एमाले दलका नेता कार्की दुई पटक गरी कोशीमा चार मुख्यमन्त्री बनिसकेको छ ।

अबको मुख्यमन्त्री को ? 

कोशी प्रदेशका चौथो मूख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै अब अर्को सरकार गठनको लागि अन्तिम विकल्पका रूपमा संविधानको धारा १६८ को उपधारा (५) आकर्षित हुने भएको छ । जसको लागि दलहरूले तयारी सुरु गरिसकेका छन् । कोशी प्रदेशको दोस्रो कार्यकालमा अब बन्ने मुख्यमन्त्री पाँचौँ पटक हो ।

कोशी प्रदेशको पहिलो प्रदेशसभाबाट तीन जना मुख्यमन्त्री बनेका थिए । पहिलो पटक एमालेका शेरधन राई, दोस्रो पटक एमालेकै भीम आचार्य र तेस्रो पटक नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र राई मुख्यमन्त्री बन्नुभएको थियो । अहिलेको प्रदेशसभामा रहेका ९३ सदस्यीय सांसदमध्ये बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन् । एमाले नेतृत्वमा बन्ने सरकारसँग भन्दा गठबन्धनसँग १ मत बढी छ । उपधारा (५) अनुसार सरकार गठन गर्ने अवस्थामा ४७ सांसदको हस्ताक्षर पु¥याउन गठबन्धनलाई सहज छ । तर, एमाले र राप्रपा लागि त्यो परिस्थितिमा मध्यावधिमा लाने कि सरकारलाई बहुमत सिद्ध गर्न दिने भन्ने अवस्था सिर्जना हुनसक्छ । एमाले र राप्रपा एकातिर र अन्य दल एकातिर भएको अवस्थामा भने नयाँ सरकार गठन भए पनि स्थिर सरकार बन्ने सम्भावना कमजोर छ । जसका कारण प्रदेशसभा विघटनको दिशामा जान सक्ने धेरैले अनुमान गरिरहेका छन् । दलहरूले गठबन्धन फेरबदल नगरेसम्म वा नयाँ सहमति नगरेसम्म प्रदेशको परिस्थिति जटिल मोडमा रहेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै कोशी प्रदेशको अबको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपालीका कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले दाबी गर्नुभएको छ । नेपाली कांग्रेसलाई मुख्यमन्त्रीको लागि आफूहरुले दुई–दुई पटक समर्थन गरेपछि सरकार टिकाउन नसकेकोले अब माओवादीले सरकारको नेतृत्व पाउनुपर्ने आङ्बोको दावी छ । प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा आङ्बोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको जिकिर गर्दै भन्नुभयो– ‘कांग्रेस नेतृत्वको सरकार टिक्न नसक्दा उपधारा ३ हुँदै ५ मा पुगेकोले अब काँग्रेसले नेतृत्व दावी गर्न मिल्दैन ।’

उहाँले अहिले माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने आधार रहेको विश्वासको मत पनि प्राप्त गर्नसक्ने भएकोले आफूले दावी गरेको बताउनुभयो । प्रदेशसभालाई विघटन गर्ने पक्षमा कोहि पनि नरहेको र राप्रपासँग सकारात्मक संवाद भइरहेको भन्दै उहाँले मध्यावधिलाई रोक्न र प्रदेशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनसँग सहकार्य गर्न राप्रपा तयार हुने विश्वास पनि व्यक्त गर्नुभयो । यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताउनुभएको छ ।

प्रदेशसभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले दलको नेता भएकोले मुख्यमन्त्रीमा आफ्नो स्वभाविक दावी रहेको बताउनुभयो । दलिय प्रणालीमा आफू नै दलको नेता भएकोेले मुख्यमन्त्रीमा आफ्नो दावी रहेको जिकिर गर्दै उहाँले भन्नुभयो–‘तर, मुख्यमन्त्रीमा कसलाई अगाडि सार्ने भन्ने विषयमा गठबन्धन दलका शीर्ष नेताले गर्ने निर्णय स्वीकार्य हुन्छ ।’ यसअघि उपधारा २ अनुसार २ पटक मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्च अदालतको आदेशबाट बर्खास्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्