विश्वकप क्रिकेट : नेदरल्याण्ड्सलाई ८१ रनले पराजित गर्दै पाकिस्तानको सुखद सुरूवात

0
Shares

काठमाडाैं  ।

नेदरल्याण्ड्सलाई पराजित गर्दै एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सुखद सुरूवात गरेको छ। हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार राति सकिएको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सविरूद्ध ८१ रनको जित निकालेको हो।

पाकिस्तानले दिएको २८७ रनको चुनौती पछ्याएको नेदरल्याण्ड्सले ४१ ओभरमा अलआउट हुँदं २०५ रनमात्रै बनाउन सक्यो।

नेदरल्याण्ड्सका लागि बास दे लिड्सले सर्वाधिक ६८ रन बनाए। उनले ६८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर विक्रमजित सिंहले ६७ बलमा ४ चौका र १ छक्काको मद्धतले ५२ रन बनाए। लोगान भ्यान बीक् र कोलिन एकलम्यानले क्रमशः २८ र १७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ पाकिस्तानका हरिश रौफले तीन विकेट लिए। हसन अलीले २ विकेट लिँदा शाहिन अफ्रिदी, इतिफिखर अहमद, मोहम्मद नवाज र शादव खानले १र१ विकेट लिए। टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रन बनाएको थियो।

पाकिस्तानले खराब सुरूवात गरेको खेलमा ओपनरद्वय फखर जमन र इमाम उल हक क्रमश १२ र १५ रन बनाएर आउट भए। कप्तान बाबर आजम ५ रनमै आउट भएपछि मोहम्मद रिजवान र साउद सकिलले अर्धशतक प्रहार गरी पाकिस्तानलाई खेलमा फर्काए।

उनीहरू दुबैले ६८/६८ रन बनाए। रिजवानले ७५ बलमा ८ चौका प्रहार गरे भने ५२ बल खेलेका शकिलले ९ चौका र एक छक्का हाने। खेलमा मोहम्मद नवाजले ३९ रन, शादब खानले ३२ रन, हरिश रौफले १६ रन र शाहिन अफ्रिदीले १३ रन बनाउँदा इफ्तिखर अहमद ९ रनमै आउट भएका थिए।

बलिङमा नेदरल्याण्ड्सका बास दे लिड्सले चार विकेट लिए। कोलिन एकरम्यानले २ विकेट र आर्यन दत्, लोगान भ्यान बीक्, पउल भ्यान मिकरेनले १र१ विकेट लिए। एकदिवसीय विश्वकपमा आज नेदरल्याण्ड्स र अफगानिस्तान र साउथ अफ्रिका र श्रीलंका खेल्दैछ।