गौतमबुद्ध विमानस्थल सञ्चालनमा सरकार गम्भीर हुन जरुरी : अध्यक्ष ढकाल 



बुटवल। 

 नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिने सुझावलाई सरकारले बेवास्ता गर्दा मुलुकमा  आर्थिक समस्या  आएको दाबी गरेका छन् । उनले अहिले बल्ल निजी क्षेत्रले दिएका सुझावलाई सरकारले आत्मसाथ गरेर सोही अनुसार नीतिगत सुधार गरेपछि अर्थतन्त्रमा क्रमशः सुधार आउन थालेको समेत बताए ।

बुटवल उद्योग वाणिज्य सङ्घको ७० औं साधारण सभा उद्घाटन गर्दै अध्यक्ष ढकालले विगतमा निजी क्षेत्रले अर्थतन्त्र सुधारका लागि वर्किङ क्यापिटल गाइडलाइन,शेयर कर्जा, जग्गा कित्ताकाट,घर कर्जा आदि सुझावलाई सरकारी निकायले उद्योगी व्यवसायीको  स्वार्थ र फाइदाका लागि मात्रै दिएका सुझाव ठान्दा समस्या भएको बताए ।

वास्तवमा निजी क्षेत्रले आफ्ना लागि नभई समग्र अर्थतन्त्र सुधार गर्न सुझावहरु दिने गरेको थियो,सरकारी निकायले बल्ल अहिले महसुस गरेर नीतिगत सुधार गरेपछि अर्थतन्त्रमा सुधार हुने क्रमरहेको अध्यक्ष ढकालले बताए।

अध्यक्ष ढकालले आर्थिक मन्दी र संकट नेपालको मात्र नभई विश्वव्यापी संकट भएको र अब सुधारको क्रममा रहेकाले निराश र नकारात्मक नहुन आग्रह गरे । नेपालमा अवसर र सम्भावना प्रचुर मात्रामा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले सरकारले आम उद्योगी व्यवसायी र नागरिकमा मनोबल उच्च बनाउने भूमिका खेल्नुपर्नेमा जोड दिए ।

ट्रंकलाइन विद्युत् महसुल विवादमा कतिपय उद्योगीले प्रयोग नै नगरेको विद्युतको महसुल तिर्नुपर्ने परिबन्दमा परेकाले यसबारे सरकारले न्यायोचित निकास दिनुपर्ने अध्यक्ष ढकालले बताए । गौतमबुद्ध विमानस्थललाई लक्षित गरेर ठूला होटेल सहित पर्यटन क्षेत्रमा अरबौँ लगानी भएपनि पूर्ण क्षमतामा सञ्चालन नहुँदा लगानी जोखिममा परेकाले सरकार गम्भीर बन्नुपर्ने आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डयेले निजी क्षेत्र र तीनै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रमा देखिएका संकट समाधान गर्न सकिने भन्दै निराशाको सन्देश फैलाउन नहुनेमा जोड दिए । बुटवलमा प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा २ सय उद्योग स्थापना हुन सक्ने तर जग्गाको यकिन हुन नसक्दा औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ भएको बताए । नगर प्रमुख पाण्डेयले भारतका उद्योगी व्यवसायीका संस्था र मेयरहरुको सम्मेलन बुटवलमा गरी पर्यटक भित्राउन पहल गर्नुपर्ने सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासंघकी एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवा शक्तिको विदेश पलायनले देशमा श्रमिक अभावको डरलाग्दो अवस्था आउन थालेकाले यसलाई रोक्नुपर्ने बताए ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायीहरुले असोज मसान्तमा किस्ता र ब्याज तिर्न सक्ने अवस्थामा नरहेकाले थप गर्न माग  गरे।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल,महासंघका केन्द्रीय सदस्य राजेश अग्रवाल,चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेल,संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ,महासचिव विमलराज भट्टराईले मोतीपुर औद्योगिक क्षेत्र छिटो स्थापना गरी लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्