तपाईं आफ्नो जीवनमा के चाहनुहुन्छ ?

0
Shares

आभार प्रकट गर्नु, आनन्द लिनु यी मानिसका वास्तविक प्रकृति हुन् । मानिसको जीवनमा हरेक दिन ती सृष्टिकर्ताप्रति यस्तो आभार हुनुपर्छ– ‘तपाईँले मलाई एउटा नयाँ दिन दिनुभयो । म यो दिनलाई आनन्दका साथ बिताउन चाहन्छु ।’

एउटा समयको कुरा हो । एकजना मानिस राजाको दरबारमा जागिर खानका लागि आए । राजाले उनलाई जागिर दिए । उनी राजाको एकदम धेरै सेवा गर्थे । राजाका लागि पनि उनी निकै प्रिय पात्र थिए । राजाले उनको काम र इमानदारीलाई मूल्याङ्कन गरेर उनलाई आफ्नो देशको सेनापति बनाइदिए । त्यसपछि दरबारमा सबैले उनलाई ईष्र्या गर्न थाले । कसरी हुन्छ, उनलाई त्यो सेनापति पदबाट हटाउने भनेर हात धोएर पछि लागे । मानिसहरूले उनको जासुसी गर्न शुरु गरे ।

उनीहरू चाहन्थे, ‘सेनापतिलाई राजाका अघि कमजोर साबित गर्नुपर्छ ।’ मानिसहरूले एउटा कुरा पत्ता लगाए– हरेक दिन सेनापति दरबारको काम सकिएपछि एकदम सुनसान ठाउँमा एउटा बन्द कोठाभित्र गएर घण्टौँ–घण्टा बिताउँदा रहेछन् ।

यो घटनालाई देखेपछि मानिसहरूले सोचे, यो कुरा राजालाई बताइदिनुपर्छ । त्यसपछि त राजाले यिनलाई नोकरीबाट निकालिदिनेछन् ।

मानिसहरूले राजाकहाँ उजुरी गरे । ‘महाराज, सेनापति हरेक दिन दरबारको काम सकिएपछि एउटा सुनसान स्थानमा गएर एउटा कोठाभित्र घण्टौँ–घण्टा बिताउँछन् । थाहा छैन, उनी के गर्छन् ?’

राजालाई बिस्तारै–बिस्तारै शङ्का बढ्न थाल्यो । केही त यसमा गडबडी अवश्य हुनुपर्छ !

एकदिन राजाले वास्तविकतालाई पत्ता लगाउने निर्णय गरे । त्यसपछि सेनापतिका पछि–पछि गए । उनले देखे, साँच्चै नै सेनापति एउटा सुनसान ठाउँमा गएर एउटा कोठाभित्र पसे । घण्टौँपछि मात्र कोठाबाट बाहिर निस्के ।

दोस्रो दिन पनि राजाले फेरि उसै गरी तिनको पिछा गरे । यसपटक उनी कोठाभित्र पसेपछि राजाले ढोका ढकढक्याए । सेनापतिले ढोका खोले । अनि, राजालाई त्यहाँ देखेर उनी आश्चर्यचकित भए । उनले भने, ‘महाराज, हजुर यहाँ के गरिरहनुभएको छ ? यो ठाउँ हजुरका लागि उपयुक्त छैन ।’

राजाले भने, ‘म हेर्न चाहन्छु– तिमी यहाँ के गरिरहेका छौ ?’ राजा कोठाभित्र पसे । उनले देखे, त्यहाँ कोठाको बीचमा एउटा ठूलो बाकस राखिएको छ । राजालाई शङ्का लाग्यो– ‘कतै यसले चोरी गरेर त्यो सामानलाई यहाँ राखेको त छैन ?!’

राजाले भने, ‘यो बाकसलाई खोल ।’

सेनापतिले भने, ‘महाराज, यो बाकसमा हजुरले हेर्नलायक त्यस्तो कुनै पनि चीज छैन ।’
अब त राजालाई अभैm धेरै शङ्का लाग्यो । उनले रिसाउँदै भने, ‘यो बाकसलाई खोल ।’
सेनापतिले बाकस खोलिदिए । बाकसमा पुराना–मैला कपडामात्र देखेपछि राजाले सोधे, ‘यो के हो ?’

किनभने, राजाले त सोचेका थिए, त्यो बाकसभित्र सुन–चाँदी आदि कुनै चीज राखिएको हुनुपर्छ । तर, थोत्रा–पुराना, मैलो कपडा त्यसमा राखिएको थियो । त्यसपछि सेनापतिले भने, ‘महाराज, म तपाईँको दरबारमा आउँदा यिनै कपडा लाएर आएको थिएँ । म हरेक दिन यी कपडालाई लगाउने गर्छु । अनि, आपूmलाई स्मरण गराउँछु– वास्तवमा म को हुँ ! यदि हजुरको दया नहुँदो हो, हजुरको कृपा नहुँदो हो त मेरो हालत यस्तै हुन्थ्यो । वास्तविकतामा मेरो हैसियत यही नै हो । मेरो हैसियत त्यो होइन, जहाँ हजुरले पु¥याइदिनुभएको छ । त्यो त हजुरको दया हो । हजुरको कृपा हो । मलाई सदा हजुरको दया र कृपाको पात्र बनेर रहनु आवश्यक छ । यही कुरालाई याद गर्नका लागि म यो कोठामा आउँछु ।’

सेनापतिको कुरा सुनेर राजाको आँखामा खुशीको आँसु बहन लाग्यो । त्यसपछि उनले प्रफुल्ल भएर आफ्नो देशको मन्त्री पदमा घोषित गरिदिए ।

यो संसारमा थाहा छैन, हामी पनि कहाँ–कहाँ भौँतारिरहन्छौँ । जुन कुरा मानिसहरूले हामीलाई सुनाएका छन् तिनै धारणाहरूलाई लिएर बसेका छौँ । एक–एक दिन गर्दै हाम्रो यो जीवन बितिरहेको छ । तर, हामीले जीवित हुनुको महत्त्वलाई बुझिरहेका छैनौँ । हाम्रो एउटा–एउटा श्वासमा अपार आनन्द भरिएको छ । हामीले त्यस चीजलाई जीवित अवस्थामै प्राप्त गर्न सक्छौँ । त्यो शान्ति र आनन्दले आफ्नो हृदयलाई पूर्ण तरिकाले भर्न सक्छौँ । यो शरीर त प्रकृति नै हो, यसले एक न एक दिन जानै पर्छ । यद्यपि भित्रको जुन चीज छ, यो समयसँग बाँधिएको छैन । त्यसैले हरेक क्षणलाई सृष्टिकर्ताको आशीर्वाद हो भन्ने बुझेर आभार व्यक्त गरौँ । अनि, आफ्नो जीवनमा पूरा आनन्द लिऔँ ।

एकजना मानिस रेल्वे स्टेसन, बसपार्कहरूमा मानिसहरूको जुत्ता पालिस गर्ने काम गर्दथे । तर, उनी खुशी थिएनन् । धनी बन्न चाहन्थे । अनि, उनले अर्कै काम खोजे । बिस्तारै–बिस्तारै कमाउन शुरु गरे । अन्ततः उनी सबैभन्दा धेरै धनी व्यक्ति पो बने । उनी आनन्दमय जीवन जिउन थाले । एकदिन उनकी श्रीमती बितिन् । त्यसपछि उनको मनमा ठूलो वज्रपात प¥यो । उनी सोचमग्न भए, ‘अब के गर्ने होला ?’ मानिसहरूले भने– ‘चिन्ता नगर, सबै राम्रो हुन्छ ।’ केही महिनापछि नै उनले अर्को विवाह गरे । त्यसपछि उनको जीवन आनन्दका साथ बितिरहेको थियो । एकदिन उनी निकै अस्वस्थ भए । उनलाई अस्पताल लगियो । त्यहाँ उनी अन्तिम श्वास लिइरहेका थिए– एकजना यस्ता मानिस जो एकदमै धनी थिए ।

जीवनभर उनले प्रशस्तै पैसा कमाए । तथापि, उनी अस्पतालमा सुतिरहेका थिए, श्वासको मेसिन (भेन्टिलेटर) जडान गरिएको थियो अनि त्यसकै माध्यमबाट श्वास लिइरहेका थिए । उनी निकै कमजोर भएका थिए । उनको खानपिनसमेत बन्द भइसकेको थियो । पैसा, घर, व्यापार, उनका लागि अब कुनै पनि चीजको औचित्य रहेन ।

भनाइको अर्थ ती सबै चीजहरू, हामीलाई काम लाग्ने चीजहरू हुन् भनेर हामी सोच्छौँ । कुनै पनि चीज अन्तिम अवस्थामा काम लाग्दैन । तपाईँभित्र रहेको चीज जसमा तपाईँ ध्यान केन्द्रित गर्नुहुन्छ, त्यही चीज नै काम लाग्छ । जुन तपाईँको शक्ति हो कमजोरी होइन । तपाईँका शक्तिहरू नै काम लाग्नेछन् । तिनमा ध्यान दिनुहोस् । तिनीहरू आज पनि काम लाग्नेछन् ।

चाहे जस्तोसुकै परिस्थिति होओस्, जस्तोसुकै दुःख झेल्नुपरोस् । कुनै पनि परिस्थितिबाट अघि बढ्नुपरोस्– ती शक्तिहरू हामीभित्रै छन् । तिनै शक्तिले नै हामीलाई अघि बढ्न हिम्मत प्रदान गर्छन् । तपाईँभित्र राम्रोपना छ । तपाईँभित्र प्रकाश छ । चाहे बाहिर जतिसुकै अँध्यारो नै किन नहोस् । त्यो प्रकाशलाई प्रकाश छर्न दिनुहोस् । त्यो राम्रोपनालाई उजागर हुन दिनुहोस् । त्यो असलपनालाई आफ्नो जीवनमा एउटा यस्तो प्रेरणाको स्रोत बनाउनुहोस्, जसमा तपाईँ विश्वास गर्न सक्नुहोस् ।

तपाईँ नै आफ्नो परिस्थितिको निर्माता हुनुहुन्छ । यो तपाईँमाथि नै निर्भर रहन्छ– तपाईँ आफ्ना लागि स्वर्ग पनि निर्माण गर्न सक्नुहुन्छ अनि नर्क पनि । मेरो सुझाव के छ भने– आफ्ना लागि स्वर्ग बनाउनुहोस् । त्यसको स्थापना गर्नुहोस् अनि आनन्द लिनुहोस् । किनभने, यो श्वास आउँछ अनि जान्छ । यसका लागि हामीले इच्छा व्यक्त गर्नुपर्दैन । यसका लागि कुनै बटनलाई थिच्नुपर्दैन । श्वास तपाईँभित्र आइरहेको छ अनि गइरहेको छ । यो सबैभन्दा ठूलो कृपा हो । यसले एउटा नयाँ आशा, नवीन सोचका साथ हरेक दिन एउटा नयाँ बिहानी लिएर आउँछ । संसारमा योभन्दा ठूलो खुशीको खबर अरू केही पनि छैन । एउटा नवीन सोचले हामीलाई जिन्दगीमा सकारात्मक तरिकाबाट जिउनका लागि सहयोग पुग्दछ ।

कुरा त यो समयमा ध्यानपूर्वक काम गर्ने बारेमा हो । तपाईँ जीवित हुनुहुन्छ । आफ्नो ध्यान त्यस चीजमा लगाउनुहोस् जसबाट तपाईँको हृदयमा आनन्द आओस् । तपाईँको जीवनमा खुशी प्राप्त होस् । तपाईँलाई यो संसारको सुख पनि प्राप्त हुन सक्छ । तर, तपाईँलाई संसारको सुख प्राप्त भइरहँदा शान्ति पनि प्राप्त हुन्छ भन्ने पनि होइन । कुनै बेला त कस्तो हुन्छ भने, तपाईँलाई संसारको सुख प्राप्त भइरहेको छ तर शान्ति प्राप्त हुँदैन । शान्ति अनुभूत भएपछि मानिसलाई एउटा यस्तो सुख प्राप्त हुन्छ, ऊ यस्तो सुखी हुन्छ जसलाई ‘ऊ किन सुखी छ’ भनेर यो संसारले बुझ्नै सक्दैन । तपाईँसँग जागिर छ, तपाईँसँग परिवार छ । तर, यी सबै कुरा भएर पनि मानिस सुखी नै हुन्छ भन्नेचाहिँ होइन ।

मानिसको जीवनमा यति धेरै समस्याहरू छन् । फलतः उनीहरूको ध्यान तिनै समस्याहरूमा नै जान्छ । अनि, समस्याहरूतिर ध्यान जान थालेपछि अभैm धेरै समस्या बढ्छन् । हाम्रो जीवनमा जुन राम्रा–राम्रा चीजहरू छन्, सबै कुरा भएर पनि तिनलाई हामी कुनै महत्त्व नै दिँदैनौँ । ती कुराहरूमा हाम्रो ध्यान कहिल्यै जाँदैन । परिवारमा आमा हुनुहुन्छ, बाबा हुनुहुन्छ । यो त खुशीको कुरा हो, किनभने हाम्रा बुबा हुनुहुन्छ, आमा हनुहुन्छ तर यस कुरामा ध्यान नै जाँदैन ।

उहाँहरू के भनिरहनुभएको छ भन्नेमा मात्रै ध्यान जान्छ । यदि उहाँहरूले तपाईँलाई केही मन नपर्ने कुरा भनिरहनुभएको भए एउटा कानले सुन्नुहोस् र अर्को कानले उडाइदिनुहोस् । यदि तपाईँ जीवनमा मानिसहरूभित्र भएको खराबी र अवगुणलाई हेर्नुको साटो राम्रोपनालाई खोज्न थाल्नुहुनेछ या हेर्न कोशिश गर्नुहुनेछ भने तपाईँलाई राम्रोपना नै प्राप्त हुनेछ । यो कुरामा ध्यान दिनुहोस्– जोसँग तपाईँ पे्रम गर्नुहुन्छ, ऊसँग कस्तो व्यवहार गर्नुहुन्छ । प्रेमपूर्वक नै व्यवहार गर्नुहोस् ! आमा–बुबाहरूले छोराछोरीसँग अवश्य प्रेम गर्नुहुन्छ । तर, उहाँहरूले कहिल्यै यसो भन्नुहुन्न– म तिमीलाई माया गर्छु । जसलाई तपाईँ माया गर्नुहुन्छ तपाईँ उसलाई माया गर्नुहुन्छ भनेर पनि भन्नुहोस् ।

तपाईँ आफ्नो जीवनमा जे गर्नुहुन्छ यो तपाईँमाथि निर्भर रहन्छ । तपाईँ मुखले के भन्नुहुन्छ, यो तपाईँमाथि निर्भर रहन्छ । तपाईँ तीतो पनि बोल्न सक्नुहुन्छ, मीठो पनि बोल्न सक्नुहुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, तपाईँ आफ्नो जीवनमा के चाहनुहुन्छ ? जीवन तपाईँकै हो । श्वासको आउनु जानु यो तपाईँको नियन्त्रणमा छैन । तपाईँ कहिले जन्मिनुभयो, यो तपाईँमा निर्भर थिएन । तपाईँ कहिले जानुहुन्छ, यो पनि तपाईँमा निर्भर हुँदैन । तर, तपाईँलाई प्राप्त भएको यो जीवनमा तपाईँ के गर्न सक्नुहुन्छ– यो तपाईँमा नै निर्भर रहन्छ । आपूmतिर ध्यान दिनुहोस् । आफ्नो जीवनतर्पm ध्यान दिनुहोस् । राम्रो गर्नुहोस् । त्यसबाट तपाईँको जीवनमा अवश्य पनि मिठास नै प्राप्त हुनेछ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।