४ करोड राजश्व छली मुद्दामा फरार रहेका शेष पक्राउ

0
Shares

काठमाडौं ।

झन्डै ४ करोड राजश्व चुहावटको मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कपिलवस्तुको शिवराज नगरपालिका-४ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ बस्ने कुतबुद्धिन शेषलाई बुधबार पक्राउ गरेको हो ।

३६ वर्षका शेषलाई कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ गरिएको महाराजगञ्ज प्रहरी उपरीक्षक नबराज अधिकारीले जानकारी दिए । उपरीक्षक अधिकारीका अनुसार उनीविरूद्ध नेपाल पान मसला उद्योग चलाउँदा ३ करोड ९९ लाख १० हजार ९०३ रुपैयाँ राजश्व छलेको मुद्दा छ।

उक्त मुद्दामा उच्च अदालत तुलसीपुरले शेषलाई ६ महिना कैदसँगै विगो र जरिवाना गरी उनीबाट ५ करोड ९८ लाख ३६ हजार ३ सय ५५ रुपैयाँ असुल्न आदेश दिएको थियो। शेषलाई ब्युरोले बिहीबार काठमाडौं जिल्ला अदालतमा बुझाएको उपरीक्षक अधिकारीले जानकारी दिए ।