जिल्लाका दुई ठूला सहकारीबीच एकीकरण ६३ करोडको कोष, ५ अर्ब ९० करोडको पुँजी

28
Shares

काभ्रे ।

जिल्लाका दुई ठूला सहकारी बीच बुधबार एकीकरण गर्ने सहमतिमा हस्ताक्षर भएको छ । पछिल्ला समय सहकारी प्रति नागरिकहरुको विश्वास घट्दै गएको र सहकारी नियम विपरित संचालन भएका संस्थाहरुमा देखिएको समस्याका कारण बढी रहेको संकटका बीच शुशासनमा समेत अब्बल मानिएका दुई संस्थाबीच एकिकरणको घोषणा गरिएको हो ।

२०५१ साल माघ १४ गते स्थापना भई १० वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ५१ हजार शेयर सदस्य र ४ अर्ब ५० करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५५ सालमा स्थापना भई ६ हजार ९ सय शेयर सदस्य र १ अर्ब ४० करोडको कुल पूँजी रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्थाले एक आपसमा एकीकरण हुने सम्झौता गरेका छन् ।

एकीकृत संस्थाको शेयर सदस्य संख्या ५९ हजार र कुल पूँजी रू ५ अर्ब ९० करोड हुनेछ भने शेयर पूँजी ४६ करोड पुग्नेछ । लगानीमा रहेको ऋण ४ खर्ब ६० करोड हुनेछ । बचत निक्षेप ४ अर्ब १० करोड हुनेछ । जगेडा कोष ४३ करोड हुनेछ र अन्य कोषहरु २० करोड गरी जम्मा कोष ६३ करोडको हुनेछ । दुबै संस्थाको आगामी साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भए पश्चात संस्थाको एकीकृत कारोबार हुनेछ ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरश पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले एकीकरणको सम्झौता गरेको बताए ।

‘एकीकरणको बाधक भनेको पद हो, पद कहिले पनि स्थायी हैन त्यसैले म केही पनि पदमा छैन भन्ने सोचेर एकीकरणको छलफलमा बस्नु पर्छ अनि मात्र एकीकरणले सार्थकता लिन सक्छ’–अध्यक्ष बञ्जाराले भने–‘एकीकरणको सन्देशले समुदायमा आधारित सहकारी संस्थाहरु मध्येको ठूलो एकिकरण हो । यो अभियानलाई सार्थक बनाउनु हुने दृश्य र अदृश्य सबै सहकर्मी, शुभचिन्तक, संचालक, कर्मचारी तथा सहकार्रीकर्मी प्रति धन्यवाद ब्यक्त गर्दछु ।’

एकीकरण कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उदयराम कायस्थ, संस्थाका प्रमुख सल्लाहकार दीपक थापा, सल्लाहकार शम्भुलाल श्रेष्ठ, ज्योति बहुउदेश्यीय सहकारी संस्था लि. का सल्लाहकार राजकुमार हुमागाई र निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद दाहालले एकिकरणले सहकारी अभियानमा सकारात्मक सन्देश गएको बताए ।

पनौती काभ्रे, पनौती नगरपालिका वडा नं. ४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहरु समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गरेका थिए भने समापन ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष सुर्य मानन्धरले गरेका थिए ।