सोनापुरले आईपीओ म्याद किन थप्यो ?



काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा आईपीओमा मागभन्दा कम आवेदन परेमा म्याद थप गर्ने व्यवस्था छ । तर, सीडीएसका बुधबार (असोज १७ गते) सम्म ९ लाख ८६ हजार ७५० जनाले १ करोड १७ लाख ५२ हजार २९० कित्ताका लागि आवेदन परेको हो । यो माग भन्दा १ दशमलव २० गुणाले बढी हो ।

कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले असोज १४ गतेदेखि सय रुपियाँ अंकित मूल्यमा १३७ रुपियाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपियाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो । मागभन्दा बढी आवेदन परेपछि पनि थप १० दिन आवेदन पर्नुलाई रहस्यमय रूपमा हेरिएको छ । यसअघि पनि फर्जी आवेदन दिएर लगानीकर्तालाई झुक्काउने प्रपन्च भएको थियो । सोनापुरमा पनि पुरानै कथा दोहोरिन सक्ने आशंका लगानीकर्ताको रहेको छ । घाटामा रहेको कम्पनीलाई नाफा देखाएर सोनापुर सिमेन्टले प्रिमियम भाउमा शेयर बिक्रीमा ल्याएको थियो छ । जसले गर्दा यसअघि उद्योग प्रभावित क्षेत्रका बासिन्दाले १४ लाख ४६ हजार ४९५ कित्ता शेयर बहिष्कार गरेका थिए ।

आर्थिक वर्ष २०७५÷७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपियाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण शेयर निस्कासन गर्ने उद्देश्यले आव २०७६÷७७ मा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरेर नाफामा देखाइएको छ । गलत तथ्य पेस गरेर आर्थिक वर्ष २०७६÷७७, आर्थिक वर्ष २०७७÷७८ र आर्थिक वर्ष २०७८÷७९ मा नाफामा देखाइएको छ । कम्पनीले तीन वर्षको ८० करोड रुपियाँ ब्याजलाई पुँजीकरण गरेर नाफामा गएको देखाएको हो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।

धितोपत्र नियमावलीअनुसार आईपीओ निष्कासन गर्न लगातार ३ आर्थिक वर्षदेखि नाफामा रहेको र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएर एक आर्थिक वर्षको कारोबार अवधि पूरा गरेको हुनुपर्ने व्यवस्था छ । लगातार ३ आर्थिक वर्षदेखि कम्पनी नाफामा रहेको देखाउनका निम्ति कम्पनीले ब्याजलाई पुँजीकरण गरेको हो । तर, कम्पनीको बास्तविकता भने नोक्सानमा रहेको छ । कम्पनीको वित्तीय विवरणमा नाफामा रहेको देखाइए पनि पछिल्लो तीनवर्षदेखि कम्पनीका लगानीकर्ताले भने नाफा बुझ्न पाएका छैनन् । कम्पनीले गलत तथ्य पेस गरेर सर्वसाधारणलबाट रकम संकलन गर्ने प्रयास कम्पनीको रहेको छ ।

कम्पनीले आव २०७६÷७७ मा २० करोड ४१ लाख ८० हजार रुपियाँ ब्याज पुँजीकरण गरेर १९ करोड ९ लाख ९१ हजार रुपियाँ नाफामा देखाइएको छ । त्यस्तै आव २०७७÷७८ मा २२ करोड ९० लाख ४९ हजार रुपियाँ ब्याज पुँजीकरण गरी २९ करोड ७७ लाख ५७ हजार र आव २०७८÷७९ मा ३३ करोड ९३ लाख ६७ हजार रुपियाँ ब्याज पुँजीकरणपछि ११ करोड ९३ लाख ४९ हजार र आव २०७९÷८०मा ४९ करोड ३७ लाख ३८ हजार ब्याज पुँजीकरण गरी १४ करोड ३९ लाख ६५ हजार रुपियाँ नाफामा देखाइएको छ ।

कम्पनीले शेयर बेचेको रकमले विभिन्न ९ वटा बैंकको ऋण तिर्ने योजना बनाएको कम्पनीद्वारा जारी विवरणमा उल्लेख छ । कम्पनीको आव २०७८÷७९ मा कम्पनीको दीर्घकालीन ऋण ३ अर्ब ७० करोड १४ लाख ७४ हजार र अल्पकालीन ऋण १ अर्ब ७९ करोड ९१ लाख २४ हजार रुपियाँ रहेको दाबी छ । गत असारसम्म कम्पनीको प्रतिशेयर आम्दानी प्रतिकित्ता ७ रुपियाँ ८ पैसा र प्रतिशेयर नेटवर्थ १४९ रुपियाँ ८१ पैसा रहेको छ । त्यस्तै कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन ट्रीपल बी माइनस इस्युआर’ रेटिङ दिएको छ । यसको अर्थ कम्पनीसँग दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्