प्रशासकहरु जाली तमसुकको मतियार किन ?

0
Shares

स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासन आफैँमा सक्षम र योग्य व्यक्तिहरुको समूह हो । उनीहरु सबै यो सेवामा आफ्नै क्षमता र बलबुताले आउन सफल भएका हुन् । उनीहरु लोकसेवाको परीक्षामा सबैलाई उछिनेर छनौट भएका दक्ष व्यक्ति हुन् । त्यसैले यस्ता दक्ष व्यक्तिहरुले जागिर खाने क्रममा कसैको खुट्टा मोल्न र चाकडी चाप्लुसी गर्न जरुरी छैन । तर विडम्बना ! अहिले उच्च प्रशासकहरु चाकडी र चाप्लुसीमा रमाउँदै आइरहेका छन् । यतिसम्म कि सिंहदरबारका बन्द कोठाहरुमा राजनीतिक नेतृत्वले जाली तमसुकहरु बनाउन निर्देशन दिँदा हवस् हजुर भन्दै, उत्साहित हुँदै खराब कर्म गर्न उनीहरु उद्यत् भइरहेका छन् ।

यो पहिलादेखि अहिलेसम्मकै रोग हो । हाम्रो राजनीतिक नेतृत्व त सच्चिन धेरै नै कठिन छ । तर स्थायी सरकारको रुपमा रहेको प्रशासनिक संयन्त्र पनि उही ड्याङको मूलाजस्तै भइरहेको छ । लुट मच्चाउन उद्यत् भइरहेको राजनीतिक नेतृत्वलाई तन–मन दिएर सहयोग गर्ने काम प्रशासनिक संयन्त्रबाट भइरहेको छ । यसले समग्र प्रशासनको साखसमेत नराम्ररी गिर्न पुगिरहेको देखिन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था यति छोटो समयमा नै बदनाम बनाउने काम हाम्रो राजनीतिक र प्रशासनिक संयन्त्रबाट भइरहेको छ । यो दुःखद हो । लामो समयदेखि मुलुकमा आफ्नै सरकार भएको अनुभूति आम जनताले गर्न सकेका छैनन् ।

जुनसुकै शासन प्रणाली किन नहोस्, यदि सो शासन प्रणालीलाई सफल बनाउनु छ भने सेवा जनताको वरिपरि घुम्नुपर्छ, नकि जनता सेवाको वरिपरि ! छिटो, छरितो र कम लागतमा सेवा दिनुपर्छ । सार्वजनिक सेवा प्रवाह गर्नु राज्यको दायित्व हो र प्राप्त गर्नु नागरिकको अधिकार पनि हो । सार्वजनिक सेवा प्रवाहमा लक्षित जनसंख्या कुन हो ? कस्तो सेवा प्रवाह गर्नु आवश्यक छ ? र, सेवा प्रवाहको तरिका वा माध्यम के हो ? भन्ने विषयमा हाम्रा प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव तथा स्थानीय तहका जनप्रतिनिधिहरूले कुनै ध्यान दिन सकेका छैनन् । उनीहरुको अधिकांश समय कसरी हुन्छ धनआर्जन गर्ने तथा आफू र आफ्नो स्वार्थ समूहको स्वार्थपूर्ति गर्नमा नै बित्ने गरेको छ ।

निजामती कर्मचारी साथीहरु, अब साँच्चै नै देश बनाउन तपाईंहरु सच्चिँदै जाग्नुपर्ने बेला आएको छ । आम नेपालीहरुको औसत आम्दानी र जीवनस्तर तुलना गर्ने हो भने सबै कर्मचारीहरुलाई राज्यले दिएको सेवा–सुविधा र तलबमा चित्त बुझाउने ठाउँ छ । त्यसैले आफ्नै स्वार्थमा लम्पट हुँदै धनार्जनतर्फ मात्रै केन्द्रित हुन तपाईंहरुलाई सुहाउँदैन ।

अहिले पनि सिंहदरबारका बन्द कोठाहरुमा विभिन्न खाले जाली तमसुकहरु बनिरहेका छन् । त्यस्ता तमसुक बनाउने कार्यको साक्षीको रुपमा प्रशासक–कर्मचारीहरु बस्दा राजनीतिक नेतृत्वलाई अनावश्यक हौसला मिलिरहेको छ । त्यसैले त्यस्तो कुत्सित कार्यमा प्रशासक–कर्मचारीहरुबाट किमार्थ पनि सहयोग हुनुहुँदैन । जाली तमसुक बनाउन तपाईंहरुले सहयोग गर्नुभयो भने पक्कै पनि तपाईंहरुलाई इतिहासले क्षमा दिनेछैन । कुनै न कुनै दिन तपाईंहरु इतिहासको कठघरामा उभिनुपर्नेछ । तपाईंहरुको त्यस्तो कृत्यले तपाईंको क्षमता र व्यावसायिकतालाई समेत ध्वस्त पार्नेछ र तपाईंहरुमात्रै रोबोटजस्तो यान्त्रिक मानव बन्नुहुनेछ ।

आज निजामती प्रशासन जनताको नजरमा किन बदनाम भइरहेको छ ? भन्ने बारेमा ठण्डा दिमागले सोचेर सच्चिनुको विकल्प छैन । प्रशासनमाथि राजनीतिक हस्तक्षेप अत्यधिक बढ्नुको कारण पनि उच्च तहका प्रशासकहरुकै नालायकीपनको कारणले गर्दा हो । राजनीतिक नेतृत्वले जेसुकै भन्दा पनि त्यसको असल र खराब पक्षको विश्लेषण नगरी सहयोग पु¥याउँदा त्यसको क्षति प्रशासनले नै भोग्नुपरिरहेको देखिन्छ । हाम्रा अधिकांश राजनीतिक नेतृत्व त डुङ्डुङ्ती गन्हाइसकेका छन् । उनीहरुमा न क्षमता छ, न त व्यावसायिकता नै । क्षमता र व्यावसायिकताका धनी प्रशासक र कर्मचारीहरु त्यस्ता खराब नेताहरुसँग डराउनु आफ्नै अवमूल्यन गर्नु हो । त्यसैले प्रशासनले आफ्नो अवमूल्यन हुन दिनुहुँदैन ।

अब प्रशासक तथा हरेक कर्मचारीले राजनीतिक नेतृत्वबाट हुने बदमासी र जाली तमसुक बनाउने धन्दाको भण्डाफोर गर्नुपर्छ । यदि कुनै मन्त्रीहरुले सचिव–सहसचिवलाई गैरकानुनी धन्दा सञ्चालन गर्ने खालका अनैतिक कार्य गर्न दबाब दिन्छन् भने अब प्रशासकहरुले नेताको त्यस्ता गलत धन्दाहरुलाई जनतासमक्ष उजागर गराइदिने हिम्मत गर्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहका सबै प्रशासकहरुले यस्तो गर्ने हिम्मत देखाउन सके भने साँच्चै नै नेपालको निजामती प्रशासनको भूमिकालाई अतुलनीय मानिनेछ र त्यसलाई सुनौलो अक्षरले लेखिनेछ । म्याक्स वेवरको सिद्धान्त पढेका कर्मचारीहरुलाई वेवरले भ्रष्ट राजनीतिक नेतृत्वलाई तन–मन दिएर सहयोग गर्नु भनेर कहीँ–कतै भनेको देखिँदैन । सम्भवतः वेवरले कर्मचारीतन्त्र कुशासनको जालो समाएर अघि बढ्नुपर्छ भनेर कहीँ–कतै भनेका पनि छैनन् । खराब राजनीतिक नेतृत्वलाई सहयोग गर्नुपर्छ भन्ने वेवरको मत पनि होइन । सुशासन, विधि, पद्धति र कानुनमा ध्यान दिनुपर्ने विषयलाई वेवरले पनि महत्व दिएका थिए ।

कतिपय अमेरिकी तथा युरोपियन देशहरुमा त्यहाँको राजनीतिक नेतृत्वले गर्ने बदमासीहरुलाई त्यहाँको ब्यूरोक्रेसीले जनतासमक्ष ल्याएर राजनीतिक नेतृत्वलाई सबक सिकाउने काम गर्न थालेका छन् । अब हामीकहाँ पनि त्यस्तै ब्यूरोक्रेसी चाहिएको छ । नेपालजस्तो नेताहरु र दलहरु अत्यधिक भ्रष्ट भएको देशमा तिनै भ्रष्ट नेता र तिनका दलले जे भन्छन् र अराउँछन् हामी त्यही मात्रै गर्छौं भन्ने गलत मान्यता कर्मचारीमा विकास हुनुहुँदैन । यदि राजनीतिक नेतृत्व र दलहरु एउटा व्यवस्थित प्रणाली, पारदर्शिता, नैतिकता र इमानदारिताका आधारमा सञ्चालन भएको भए उनीहरुले भनेका सबै कुरा प्रशासनले मान्दा पनि केही फरक पर्दैनथ्यो, राम्रै हुन्थ्यो । तर हामीकहाँ राजनीति भ्रष्टीकरण र अपराधीकरणको जालोमा कैद छ । त्यसैले राजनीतिक नेतृत्वले जे भन्छ, प्रशासनले त्यही मान्न जरुरी छैन । फेरि प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको एउटा कुशल सल्लाहकार हुन्, नकि आदेशपालक कारिन्दा ।

राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचमा खराब साँठगाँठ भयो भने मुलुक वर्षौंसम्म विकास, प्रगति र समृद्धिमा पछि पर्छ भन्ने उदाहरण हाम्रै नेपाल बन्न पुगेको छ । हाम्रा राजनीतिक नेतृत्वले राजनीतिक परिवर्तनको लडाइँ लड्दालड्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन सफल भए । यसका लागि नेपाली जनताले कुर्बानी दिएका हुन् । राजनीतिक दलको एक्लो प्रयासले भन्दा पनि नेपाली जनताको कुर्बानी, त्याग र समर्पणका कारण मुलुकमा गौरवयम क्रान्ति हुन सकेको हो । तर यो यथार्थलाई राजनीतिक नेतृत्वले बिर्सन थालेका छन् । शासनसत्तामा भ्रष्टाचार मच्चाएर नेपाली जनतामाथि ठूलो धोका दिने काम गरेका छन् । राजनीतिक नेतृत्वको त्यस्तो गलत कर्मलाई अब प्रशासन संयन्त्रले कुनै हालतमा पनि साथ दिनुहुँदैन । त्यसैले हाम्रो राजनीतिक नेतृत्व र प्रशासन संयन्त्रमा अब आमूल सुधार र रुपान्तरण हुनै पर्छ ।

मन्त्रीको रुपमा आउने राजनीतिक नेतृत्वले पनि बाहिर आदर्शको कुरा गर्ने र भित्रीरुपमा उल्टो काम गर्ने यानेकि कम्मल ओढेर घिउ खाने प्रवृत्तिलाई पूर्णरुपमा अन्त्य गर्नुपर्छ । प्रशासनलाई सिस्टमका आधारमा चलाउने र संघीय शासन प्रणालीको मूल्य र मान्यतालाई जनताको घरदैलोमा सहजरुपमा पु¥याउने कार्यमा सबै राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व इमानदारितापूर्वक अघि बढ्नै पर्छ ।

स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनले पनि स्वार्थ र अवसरवादिताबाट माथि उठेर कानुन र सिस्टमको आधारमा चल्ने अनि सोही अनुसार राजनीतिक नेतृत्वलाई सही दिशामा हिँड्ने बनाउन उच्च इमानका साथ कार्यक्षेत्रमा खटिनुपर्छ ।

जुन देशको प्रशासन बलियो र शक्तिशाली हुन्छ त्यो देशको राजनीतिक प्रणाली पनि शक्तिशाली हुन्छ तर प्रशासन कमजोर भएको देशको राजनीतिक प्रणाली पनि कमजोर हुन्छ । त्यसैले सरकारले राजनीतिक प्रणालीलाई बलियो बनाउने हो भने यहाँको प्रशासनलाई पनि व्यापक सुधार गर्दै बलियो बनाउनु अहिलेको अहम् आवश्यकता हो । यसको लागि प्रशासनमा हुने सबै खाले हस्तक्षेपको अन्त्य हुनुपर्छ । प्रशासकहरु पनि एकजुट हुँदै आफ्नो जिम्मेवारीमा रहेका सबै कामहरु आफैँले गर्न सक्नुपर्छ । अनावश्यकरुपमा राजनीतिक नेतृत्वकहाँ दौडन जरुरी छैन र जाली तमसुक बनाउने खेलमा कहिल्यै पनि लाग्नुहुँदैन ।