घरेलुहिंसा पीडित महिलालाई इन्सेकको सहयोग

0
Shares

कालिकोट ।

घरेलु हिंसाबाट पीडित तिलागुफा नपा –७ की २४ वर्षीया सोदेस्ना शाहीलाई कानुनी प्रक्रियामा जान इन्सेकले बुधबार कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी मार्फत सहयोग गरेको छ ।

नेपाली सेनामा कार्यरत २४ वर्षीय पति कमलराज शाहीले कुटपिट गर्नुका साथै मार्ने धम्की दिएर घरनिकाला गरेपछि आफूलाई कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेकले कालिकोटमा गठन गरेको सिफारिस संयन्त्रमा सहयोगको लागि असार २९ गते निवेदन दिनु भएको थियो । पीडितको निवेदन प्राप्त भएपछि इन्सेकले सञ्चालन गर्दै आएको मानव अधिकार सहायता कक्षको निर्णय अनुसार सहयोग हस्तान्तरण भएको हो ।

पीडितले असार २७ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनु भएको थियो । आर्थिक अवस्था कमजोर भएकी पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियामा जान आउन समस्या भएको थियो । घर निकाला भएपछि चार वर्षीय नाबालक छोरीसहित माइतीको आश्रयमा बस्दै आएकी पीडित शाहीलाई मानव अधिकार रक्षक सञ्जाल कालिकोटका सदस्य एवम नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकार्री,इन्सेक जिल्ला प्रतिनिधि लगायतको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले १० हजार रुपियाँ नगद हस्तान्तरण गर्नु भएको हो ।

घर निकाला भएकी पीडितले कानुनी प्रक्रियामा जान आर्थिक समस्या भएको भन्दै इन्सेक कर्णाली प्रदश कार्यालयलाई सहयोगका लागि साउन २५ गते निवेदन दिनु भएको थियो । सहयोग पाएपछि पीडित सिंहले कानुनी प्रक्रियामा जान सहयोग भएको भन्दै इन्सेकलाई धन्यवाद दिनु भयो । आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान नसकेका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले सहयोगगर्दै आएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो ।