ब्याडमिन्टनमा नेपालको चुनौती समाप्त



हाङझाउ । 

चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदमा महिला कबड्डीमार्फत पदक भित्राएको दिन ब्याडमिन्टनमा भने नेपालको चुनौती समाप्त भएको छ । बुधबार पुरुष डबल्सको अन्तिम-१६ मा विष्णु र जीवन आचार्यको जोडी सिंगापुरका जो जी र प्रजोगो जोनको जोडीसँग २-० को सोझो सेटमा पराजित भएसँगै प्रतियोगिताबाट नेपाली ब्याडमिन्टन यात्रा पनि टुंगिएको हो ।

१९ मिनेट चलेको सो खेलमा नेपालले खेल ११-२१ र ४-२१ ले गुमाएकाे हाे । अन्तिम-३२ को खेलमा जीवन र विष्णुको जोडीले माल्दिभ्सका अहमद निबाल र रसिद मोहम्मद अज्फानको जोडीलाई २-० को सोझो सेटमा पराजित गरेको थियो । उनीहरुले खेल २१-१८, २१-१७ ले आफ्नो पक्षमा पारेका थिए । त्यसैगरी महिला एकलतर्फ पनि राशिला महर्जनको यात्रा अन्तिम-१६ मै सिमित बन्यो । रशिला बुधबार सम्पन्न खेलमा चीनकी बिङजिओसँग हेसँग २-० को सोझो सेटमा पराजित भइन् । उनले खेल १०-२१, ४-२१ ले गुमाएकी हुन् ।

रशिलाले मंगलबार अन्तिम-३२ मा मंगोलियाकी म्याग्मार्टसेरेन गन्बाटरविरुद्ध २-० को सोझो सेटको जित निकालेकी थिइन् । यसैगरी मिक्स्ड डबल्समा विष्णु कटुवाल र नङ्सलदेवी तामाङको यात्रा पनि अन्तिम-१६ मै पूर्णविराम लाग्यो । उनीहरु चीनकै सिवी झाङ्ग र याकिओङ हुवाङ्गको जोडीसँग २-० कै सोझो सेटमा पराजित भएका हुन् । विष्णु र नङ्सल ४-२१, ७-२१ ले स्तब्ध बने । यो जोडी मंगोलियाका जोल्जाय मुन्खुबाटर र खेर्लेन डार्खानबाटरको जोडीलाई २१-१६, २१-७ ले निरास बनाउँदै अन्तिम-१६ मा प्रवेश गरेको थियो ।

चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपाल पराजित भएको छ। बुधबार बिहान सम्पन्न खेलमा नेपाल कडा प्रतिस्पर्धाका बाबजुद पनि भारतसँग ३–१ को सेटमा पराजित हुन पुगेको हो। महिला भलिबलमा भारतसँग पराजित बुधवार नेपाली महिला भलिबल टिम भारतसँग पराजित भएको छ।

प्रतिस्पर्धात्मक पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो सेट २६–२८ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेट नेपालले पुनः २५–२३ ले गुमाएको थियो। चौथो सेटमा एकतर्फी हावी बनेको भारतले सहजै रुपमा २५-१७ ले सेट आफ्नो पक्षमा पार्यो। समूह चरणको खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित हुँदै एसियाडबाट बाहिरीसकेको नेपालले नवौं स्थानको लागि भारतसँग प्रतिस्पर्धा गरेको थियो। जसमा नेपाल असफल रह्यो । अब नेपालले ११ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्