सोनापुरको आईपीओमा सर्वसाधारणको अनिच्छा



काठमाडौं । शंकास्पद वित्तीय विवरण देखाएर सर्वसाधारणलाई प्रिमियम भाउमा शेयर बिक्री गर्न शुरू गरेको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओप्रति सर्वसाधारणको चासो न्यून देखिएको छ ।

सर्वसाधारणका लागि खुलेको ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओमा आइतबारसम्म जम्मा २४ लाख २६ हजार ९० कित्ता आवेदन परेको छ । सामान्यतया आईपीओ खुलेको दुई दिनभित्रै मागभन्दा बढी आवेदन पर्ने विगतको अनुभवका आधारमा सोनापुर मिनरल्सको आईपीओ त्यस अवधिका ‘सोल्ड आउट’ नहुने संकेत देखिएको लगानीकर्ताको भनाइ छ ।

वित्तीय विवरण शंकास्पद भएका कारण सचेत लगानीकर्ताले उच्च मूल्य तिरेर कम्पनीको आईपीओमा आवेदन दिन नखोजेको सेयर लगानीकर्ता मित्रलाल श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो– ‘अहिले धितोपत्रको दोस्रो बजारमा वाणिज्य बैंककै सेयर २ सय रुपियाँभन्दा कम मूल्यमा पाइन्छ । तत्कालै लाभांश पनि आउँछ । तर, घाटा रहेको कम्पनीको सेयर महँगोमा किन्नु चाहिँ मूर्खता हो ।’

ऋण ब्याज नतिरेर ब्याजलाई पुँजीकरण गरेर नाफामा देखाउने तथा नियमकसँगको मिलेमतोमा सर्वसाधारणलाई ठगी गर्न निकालिएको आईपीओ स्थानीयबासीले बहिष्कार गरेका थिए । आईपीओको १० कित्ते प्रवृत्ति लगानीकर्ताले नबुझेर आवेदन दिएका छन् । त्यसकारण उनीहरू पछुताउनुपर्ने अवस्था चाँडै आउने लगानीकर्ता श्रेष्ठको भनाइ छ । त्यस्तै, अर्का लगानीकर्ता नवराज पोखरेल भन्नुहुन्छ– ‘कम्पनीको बदनियतका बारेमा सञ्चारमाध्यममा समाचारहरू आइरहेका छन् । नियमक निकायले पनि खुलेभरिका आईपीओमा आवेदन नदिन सचेत गराउँदै आएको छ । यस्तो बेलामा पनि लगानीकर्ताले जथाभावी आवेदन दिनु गलत प्रवृत्तिलाई प्रश्रय दिनु हो ।’

आर्थिक वर्ष २०७५÷७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपियाँ सञ्चित घाटामा रहेको कम्पनीले साधारण सेयर निष्कासन गर्ने उद्देश्यले आव २०७६÷७७ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेर आर्थिक वर्ष २०७६÷७७, आर्थिक वर्ष २०७७÷७८ र आर्थिक वर्ष २०७८÷७९ को ८० करोड रुपियाँ ब्याजलाई पुँजीकरण गरेर नाफा देखाएको हो । त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डबाट प्रिमियम भाउमा आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।

यसअघि उद्योग प्रभावित क्षेत्रका बासिन्दाका निम्ति निष्कासन गरिएको १५ लाख कित्ता सेयर उनीहरूले बहिष्कार गर्दै ९७ हजार कित्ता मात्रै आवेदन परेको थियो । स्थानीयले बहिष्कार गरेको सेयर पनि सर्वसाधारणलाई थप गरी सय रुपियाँ अंकित मूल्यमा १ सय ३७ रुपियाँ ५८ पैसा प्रिमियम मूल्य थपेर कुल २ सय ३७ रुपियाँ ५८ पैसामा आईपीओ बिक्री शुरू भएको हो ।

उक्त रकमले कम्पनीले विभिन्न ९ वटा बैंकको ऋण तिर्ने योजना बनाएको कम्पनीद्वारा जारी विवरणमा उल्लेख छ । यसबारेमा नेपाल समाचारपत्रले कम्पनीका प्रबन्ध निर्देशक निपेश तायलसँग कयौंपटक सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्