लामाबगर नाका सुन तस्करीको अखडा : थप चार केजी भेटियो



दोलखा । चीनसँग सीमा जोडिएको दोलखाको लामाबगरस्थित फलाक नाकाबाट भित्रिएको थप चार केजी अवैध सुन आइतबार दिउँसो ४ः१५ बजे भेटिएको छ । दोलखाको विगु गाउँपालिका–१ स्थित लामाबगर बजार आसपास ढुङ्गाको चेपमुनि लुकाएर राखिएको अवस्थामा उक्त सुन बरामद भएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताउनुभयो ।

फरार रहेका अशोक मगरलगायतले लामाबगर आसपास सुन लुकाएको आशंकामा खोजतलास गर्दा लामाबगर बजारस्थित निज मगर पहिले बस्ने गरेको घरको पछाडि ढुङ्गाको चेपमुनि घाँसको चपरीले छोपिएको अवस्थामा चार केजी सुन भेटिएको प्रहरीले जनाएको छ । सुन तस्करी आरोपमा यसअघि पक्राउ परेका केशर तामाङले अशोक मगरलगायतले पनि सुन बोकेको बयान दिएका थिए ।

इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामा नेतृत्वको जनपथ प्रहरी र सशस्त्र प्रहरी निरीक्षक जयन्त केसीको टोलीले संयुक्त रूपमा खोजी गर्दा थप चार केजी सुन भेटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक द्वारिका केसीले बताउनुभयो ।

यसअघि विशेष सुराकीको आधारमा प्रहरीले विगु गाउँपालिका–३ जामुनेस्थित सीता तामाङको घरमा डेरा बस्ने केशर तामाङको कोठाबाट सात केजी सुन बरामद गरेको थियो । गत बुधबार चार केजी र शुक्रबार तीन केजी सुन बरामद भएको थियो ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु–१ लामाबगरका १९ वर्षको पेम्बा तमाङ, २८ वर्षको केशर तामाङ, २० वर्षको माधव मगर, ५५ वर्षको नुर्वुछिरिङ शेर्पा, ३० वर्षको सुनमाला तामाङ, राज तामाङ र ३० वर्षको च्याङ्बा भन्ने चसमान तामाङ रहेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताउनुभयो । पेम्बा, केशर र माधवलाई प्रहरीले लामाबगर आसपासबाट गत बुधबार राति नै पक्राउ गरेको थियो भने नुर्वुछिरिङ र सुनमालालाई बिहीबार सदरमुकाम चरिकोटबाट पक्राउ गरेको थियो । त्यसै गरी राज तामाङलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको र चसमान तमाङलाई आइतबार बिहान लामाबगरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अहिलेसम्मको अनुसन्धानमा चिनियाँ नागरिकले लामाबगरको फलाक नाकासम्म उक्त सुन ल्याउने र नुर्वुलगायतलाई जिम्मा लगाउने गरेको देखिएको प्रहरीले जनाएको छ । यसअघि पनि लामाबगर नाकाबाट अवैध सुन भित्रिएको आशंका गरिएको भए पनि त्यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । योपटक चसमान तमाङले फलाक नाकाबाट सुन ल्याएर लामाबगरबाट चरिकोटसम्म पु¥याउन बाँडफाँट गरेको र नुर्वुछिरिङले चरिकोटबाट काठमाडौंसम्म पु¥याएर चिनियाँ नागरिकलाई जिम्मा दिने योजना रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । तर, योजना बन्दै गर्दा सुन बोक्नेहरूबाटै कुरा बाहिरिएपछि विशेष सुराकीको आधारमा प्रहरीले सुन बरामद गर्न सकेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

अहिलेसम्मको अनुसन्धानमा लामाबगरको फलाक नाकाबाट सुन बुझेर काठमाडौंसम्म पु¥याउने मुख्य व्यक्ति नुर्वुछिरिङ शेर्पा रहेको बुझिएको प्रहरीको भनाइ छ । लामाबगर नाकाबाट भएको सुन तस्करीमा अन्य ठाउँबाट भएको सुन तस्करीसँग सम्बन्ध रहेको अहिलेसम्म नखुलेको र अहिले सीआईबीको समेत सहयोगमा थप अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खड्काको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्