कक्षा ६ मा अध्ययनरत छात्रमाथि मरणासन्न हुने गरी कुटपिट

प्रिन्सिपल भन्छन्- आवेगमा आएर कुटेको हुँ, म बाट गल्ती भयो



सिरहा ।

सिरहाको मिर्चैया नगरपालिका स्थित एक निजी विद्यालयका संस्थापक प्रिन्सिपलले विद्यार्थीलाई मरणसन्न हुने गरी कुटपिट गरेका छन्।

मिर्चैया नगरपालिका ७ मा रहेको अक्षर पाठशालाका संस्थापक प्रिन्सिपल चन्द्रदिप महतोले कक्षा ६ मा अध्ययनरत मिर्चैया १० महेशपुरका विजय कुमार मण्डलका छोरा विशाललाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।

शिक्षकको कुटाईबाट पीठियूँभरी नीलडाम भएका मण्डलको मिर्चैयास्थित मंगलम हेल्थ केयर प्रा.लि.मा उपचार भइरहेको छ। उनलाई प्लास्टिकको पाईपले अन्धाधुन्ध रुपले कुटपिट गरेको एक प्रत्यक्षदर्शी विद्यार्थीले सुनाए। कुटाईका कारण विद्यार्थीको पीठियूँभरी नीलडाम भएको छ।

शुक्रवार विद्यालयबाट घर फर्किएपछि बेलुका रोइरहेको अवस्थामा सोधखोज गर्दा पिठियू भरी नीलडाम देखिएपछि तत्काल उपचारको लागि अस्ताल ल्याईको उनका काका अजय मण्डलले जानकारी दिए।  उनले भने, ‘सन्चो नभएर तीन चार दिनदेखि विद्यालय गएको थिएन, शुक्रवारमात्रै विद्यालय गएको थियो। विद्यालयबाट फर्केर घर आएपछि बेलुका आमालाई देखेर सुकसुकाउन थालेपछि सोधखोज गर्दा यस्तो अवस्था देखियो। हामीले तत्कालै अस्पताल ल्याएँ। अहिले उपचार भइरहेको छ।’

के कारणले कुटपिट गरेको हो आफूहरूलाई केही थाहा नभएको विशालका काकाले बताए। उनले भने, ‘मैले अवस्था देख्ने वित्तकै अस्पताल  ल्याएँ, यस्तो विधि किन कुटेको हो मैले थाहा पाएको छुइँन्।’

विद्यार्थीलाई विद्यालयमा पढ्न पठाएको हो। यसरी बालकलाई मरणासन्न हुने गरी कुटपिट गर्नु अपराध भएको स्थानीय अशोक मण्डलले बताए।

यस सम्वन्धमा विद्यालयको संस्थापक प्रिन्सिपल चन्द्रदिप महतोसँग बुझ्दा उनले गृहकार्य नगरेको र बदमासि गरेकाले कुट्नु परेको बताए। उनले भने, ‘गृहकार्य पनि गरेको थिएन्, अलिक बदमासी पनि गरेकोले आवेगमा आएर मैले कुटेको हुँ, म बाट गल्ती भयो।’

प्रिन्सिपल महतोले आफूबाट गल्ती भइसकेकोले घटनालाई उचाल्ने भन्दा मिलाउने तिर सोच्न आग्रह गरे।

कुटपिट गर्ने शिक्षकविरुद्ध प्रहरीमा उजुरी गर्ने तयारी भइरहेको छ। मण्डलका बुवा वैदेशिक रोजगारीमा छन्।

 

प्रतिक्रिया दिनुहोस्