पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय



काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् ।

आइतबार(आज) बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘चाडपर्वको मुखमा जनताले चर्को मूल्य वृद्धि खेप्नुपर्ने मध्यनजर गरेर प्रधानमन्त्रीज्यूले मुल्य वृद्धि तत्काल रोक्ने र साबिककै मूल्य कायम गर्ने निर्देशन गर्नु भएको छ । सम्भवत आयल निगमले केहीबेरमा सूचना निकाल्छ होला ।’

आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको भएपनि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्नेछ । पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने एकमन्त्रीले जानकारी दिए ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियाे । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । पुरानै मूल्य कायम हुँदा ग्याँसको मूल्य प्रतिसिलिण्डर १९९५ रुपैयाँ हुनेछ । यस्तै, पेट्रोलको मूल्य पहिलो वगमा प्रतिलिटिर १८०.५ रुपैयाँ, दोस्रो वर्गमा १८२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८३ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७०.५, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ नै कायम हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्