महिला भ्रूणहत्या, दहेज र लैंगिक असन्तुलन



नेपालमा महिला भ्रूणहत्या राष्ट्रव्यापी रहे पनि मधेस र सुदूरपश्चिम प्रदेशमा यो अनुपात अत्यधिक रहेको छ । मधेसमा सरदर करिब १४ प्रतिशत महिला भ्रूणको गर्भपतन गरिन्छ भने सुदूरपश्चिममा यो मात्रा ११ प्रतिशतको हाराहारीमा छ । यो तथ्यांकलाई मनन गर्दा लैंगिक अनुपात चिन्ताजनक अवस्थातिर जाँदै छ । एक त उसै पनि महिला जन्मदर कम हुने गर्छ, त्यसमा पनि यो दरले महिला भ्रूणहत्या बढ्दै गयो भने भोलिको दिनमा छोराको विवाह गर्न बुहारी (दुलही) नपाउने अवस्था आउन सक्छ । यसरी कहाली लाग्दोरुपमा बढिरहेको महिला भ्रूणहत्याका दुईवटा कारण छन् । पहिलो– आकाशिँदो कन्या विवाह खर्च र दोस्रो– महिला परनिर्भरता । तडकभडक, देखासिकी, तथाकथित सामाजिक प्रतिष्ठा र दहेज (दाइजो) का कारण कन्या विवाह खर्च क्षमताभन्दा अत्यधिक बढी हुँदै गएको छ, जसले गर्दा गरिब बाबु–आमाले कुल, परम्परा र संस्कारको निर्वाह गर्दै छोरीलाई बिहे गरी पठाउन असम्भव प्रायः हुँदै गएको छ ।

मधेसी समुदायमा दुलहा पक्षले नगद दहेज माग्ने चलनको कारण दुलही पक्षमाथि विवाह खर्च भार बढ्छ भने पहाडी समुदायमा दुलहा पक्षको कुल, परम्परा र सामाजिक प्रतिष्ठाको नाममा परिवार एवं नाता–कुटुम्बसमेतलाई दुलही पक्षले गहना, लत्ताकपडा चढाउनुपर्ने कारण खर्चको बोझ अत्यधिक बढ्ने गर्दछ । औसत नेपालीको आर्थिक अवस्थाको मूल्यांकन गर्ने हो भने ७५ देखि ८० प्रतिशत अभिभावक छोरीको विवाह गर्न असमर्थ महसुस गर्दछन् । यस डरको कारण आफूलाई भरसक छोरी सन्तान नजन्मिऊन् भन्ने अन्तरकामना राख्छन् । यसै कामनाका कारण गर्भमा छोरी भ्रूण देखियो भने गर्भपतन गराउन उद्यत पनि हुन्छन् ।

त्यस्तै कन्या भ्रूणहत्याको अर्को कारण हो महिलाको परनिर्भरता । ‘छोरी’लाई समाजमा सामान्यतया पराईधन सम्झिइन्छ र बिहेअघि बुबा–आमाको जिम्मेवारीमा रहेकी छोरी विवाहपश्चात् पतिको दायित्वमा जाने परम्परा चल्दै आएको छ । दायित्व यस मानेमा कि सामान्यतया परिवारको अर्थोपार्जनमा महिलाको नेतृत्वदायी भूमिका हुने गरेको छैन । पारिवारिक अर्थोपार्जनको दायित्व र नेतृत्व पनि समाजमा पुरुषकै रहने गर्दछ, महिला सहयोगी भूमिकामा मात्र देखिन्छिन् । यो महिला परनिर्भरताको यथार्थ तस्वीर हो ।

कन्या शिक्षा र रोजगारमा विकास भए पनि परनिर्भरताको यो मान्यता र अवस्थामा समेत खासै परिवर्तन आएको छैन । गृहिणी अथवा कृषक महिलाको श्रमको मूल्यांकन नै हुँदैन र तिनले आफ्नो योगदानको श्रेय नै पाउँदैनन् भने अधिकांश बाह्य कामकाजी र उद्यमी महिलाको आम्दानी व्यक्तिगत वा अतिरिक्त सोख पूरा गर्नमा नै व्यय हुने गरेको देखिन्छ ।

मोटामोटी हेर्ने हो भने, महिला आर्थिक र सामाजिकरुपमा समेत पुरुषमाथि परनिर्भर रहने सामाजिक परम्परा नै छ । र, यस परम्पराले समाजमा महिलाको उपादेयतालाई दोस्रो प्राथमिकता दिँदै छ । अलि झर्रो पारामा भन्ने हो भने, प्रायः महत्वहीनजस्तै ठान्दछ । कसैको छोरा नजन्मे बाह्र जतन गर्ने, डाक्टर, धामी र देउता गुहार्ने, कठिन व्रत र भाकल गर्ने तर छोरी नभए पनि हुने, नपाए पनि हुने, लगातार दुईवटा छोरा नै जन्मेपछि तेस्रो प्रयास गर्ने जोखिम नउठाउनेजस्ता प्रवृत्ति समाजमा देखिन्छ ।

यी कारणहरूले समाजमा महिलाको संख्या घट्दै गएको छ । यसलाई न्यूनीकरण गर्नेतिर समयमै ध्यान पु¥याइएन भने समाजमा लैंगिक असन्तुलन बढ्दै जानेछ, जसले समाजलाई दीर्घकालीनरूपमा गम्भीर मानवीय संकटतर्फ धकेल्नेछ । त्यो संकटबाट जोगाउनको लागि अभिभावकले महिला शिक्षा र आत्मनिर्भरतामा विशेष जोड दिनुपर्छ भने स्वाभिमानी युवा पुस्ता पनि गम्भीर हुन आवश्यक छ । छोरीलाई शिक्षित एवम् आत्मनिर्भर बनाउने र दहेज (माग) लाई निर्मूल गर्ने समाजको प्रमुख प्राथमिकता हुनुपर्छ । कन्या पक्षले दहेज माग्नेलाई छोरी दिन्न भन्न सक्नुपर्छ भने युवा (दुलहा) पुस्तामा आफ्नो विवाह आफ्नै बलमा र आफ्नै क्षमता अनुसार गर्छु भन्ने स्वाभिमान जागृत हुनुपर्छ ।

(लेखक खड्गा राष्ट्रिय पिछडावर्ग महासंघका महासचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्