इन्द्रजात्रामा लाखेको रौनक- भित्री बस्तीमा पनि देखाइयो विभिन्न नाच



काठमाडौं । काठमाडौंका भित्री बस्तीमा शनिबार लाखे नाच, हल्चोक आकाश भैरव र पुलुकिसी नाच देखाइयो ।

इन्द्रजात्रा शुरू भएको पाँचौं दिन शनिबार काठमाडौंका भित्री बस्तीका विभिन्न स्थानमा छुट्टाछुट्टै रूपमा सो नाचहरू देखाइएको हो । नाचको प्रदर्शनका क्रममा बजाइने फरकफरक बाजा र धुनहरूले माहोललाई निकै उल्लासमय बनाएको थियो । सवःभकु हल्चोक आकाश भैरवनाच परिक्रमा गर्ने क्रममा विभिन्न श्रद्धालु भक्तजनले ठाउँठाउँमा विशेष पूजाआजा गरेका थिए।

नेवाः समुदायले सबैभन्दा बढी पुज्ने देवता हुन्, भैरव । इन्द्रजात्राको अवसरमा आकाश भैरव, हल्चोक आकाश भैरव पुज्ने गरिन्छ । आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिँगारेर पूजा गरिन्छ । साथै, धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ । पहिला जाँड खान पुरुषहरू मात्र सहभागी हुने गरेको अहिले महिलाहरूको सहभागितामा पनि उल्लेखनीय रहेको छ ।

इन्द्रजात्रा भन्नेबित्तिकै कुमारी, भैरव र गणेशको रथ तान्ने पर्यायका रूपमा बुझे पनि विभिन्न नाच, प्रस्तुतिको संगम समग्र इन्द्रजात्रा रहेको इतिहासकार प्रा.डा. त्रिरत्न मानन्धरको भनाइ रहेको छ । ‘विभिन्न जात्रा, पर्व र संस्कृतिलाई इन्द्रजात्रामा एकीकृत रूपले मनाउने गरिन्छ’ –इतिहासकार प्रा.डा मानन्धरले भन्नुभयो ।

हुनमानढोकास्थित कालभैरव मूर्तिअगाडि गत मंगलबार इन्द्रध्वजोत्थान गराइएपछि यस वर्षको इन्द्रजात्रा शुरू भएको हो । रथयात्राको दोस्रो दिन शुक्रबार अपराह्न ३ बजेपछि श्रीहरूको तिनै रथहरू माथिल्लो टोलका वसन्तपुर, प्याफल, नरदेवी, टंगाल, न्ह्योखा, किलागल, असन, मच्छिन्द्रबहाल इन्द्रचोक, मखन, हँुदै वसन्तपुर पु¥याइएको थियो ।

रथयात्राको अन्तिम दिन सोमबार नानिचायाःमा अपराह्न करिब ३ बजेपछि श्रीको तिनै रथहरू परम्पराबमोजिम विभिन्न स्थानको परिक्रमा गराइने छ । रथयात्रा सकेपछि राति राष्ट्रपतिबाट कुमारी, गणेश र भैरवको दर्शन गर्ने कार्यक्रम रहेको गुठी संस्थानले जनाएको छ । सोही दिन राति ८ः३७ बजे इन्द्रध्व्ज पतन गरी यस वर्षको इन्द्रजात्रा पर्वका सबै कार्यक्रम समापन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्