फरक क्षमताका बालबालिकाको निम्ति संचालन हुने विद्यालयको सहयोगार्थ कार्यक्रम आयोजना

28
Shares

काठमाडाैं । 

फरक क्षमता भएका बालबालिकाहरूका लागि काठमाडौंको छाउनीमा ‘वरदान फरक क्षमता दिवा विद्यालय’ संचालन हुने भएको छ।

नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका फरक क्षमता भएका सन्ततिहरू लक्षित उक्त विद्यालयबाट भौतिक र अन्य क्षमताले भ्याएसम्म नेपाली सेनाको कल्याणकारी योजना अन्तर्गत संचालित अन्य शिक्षण संस्थाहरूमा जस्तै सर्वसाधारणका फरक क्षमता भएका सन्ततिले पनि लाभ उठाउन सक्नेछन्।

प्रधान सेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती सङ्घका अध्यक्ष श्रीमती सुनिता शर्माले गत मंसीर १४ गते शिलान्यास गर्नुभएको उक्त विद्यालय भवनको निर्माण कार्य तिब्र रूपमा अघि बढिरहेको छ। सोही स्कुल सञ्चालनमा सहयोग जुटाउने लक्ष्य सहित सैनिक श्रीमती सङ्घले असोज ५ गते ‘वरदान सुर सन्ध्या साङ्गीतिक कार्यक्रम’ आयोजना गरेको थियो ।

नेपालका ख्यातिप्राप्त कलाकारहरूको गायन, नृत्य, अभिनय र प्रहसन समेतका विविध प्रस्तुतिहरू समेटिएको सो कार्यक्रमबाट सङ्कलित रकम विद्यालय संचालनार्थ प्रदान गरिने छ।

प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जङ्गी अड्डास्थित सभा मण्डपमा सम्पन्न सो कार्यक्रमले नेपाली कला र संगीत क्षेत्रको विकासका लागि अवसर समेत प्रदान गरेको युवा संगीतकर्मी तथा कार्यक्रमको समन्वयकर्ता एलिस कार्की बताए ।

प्रधान सेनापति लगायत सेनाका सकल दर्जाका श्रीमतिहरूको साझा संस्था ‘सैनिक श्रीमती सङ्घ’ ले आफ्नो स्थापना कालदेखि नै सैनिकका परिवारको शिक्षा, स्वास्थ्य, सिपमूलक क्षमता अभिवृद्धि लगायतका गतिविधि सञ्चालन गर्दै आइरहेको छ। यस्तै, विपद् प्रभावित एवं विपन्न वर्गका र अवसरहरूबाट बन्चित सर्वसाधारणहरुको सहयोगार्थ समेत सैनिक श्रीमती सङ्घ सक्रिय रहँदै आएको छ ।