दोलखा नाका हुँदै  सुन तस्करी: थप तीन केजी सुन बरामद

पक्राउ पर्ने छ जना पुगे 

0
Shares

दोलखा। 

चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको फलाक नाका हुँदै  नेपाल भित्रिएको थप तीन केजी अवैध सुन भेटिएको छ । शुक्रवार दोलखाको विगु – ३ जामुने स्थित सिता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङको कोठामा खानतलासी गर्दा थप तीन केजी सुन भेटिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए ।

बुधवार राति विशेष सुराकीको आधारमा जामुने स्थित सिता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङको कोठामा खानतलासी गर्दा चार केजी सुन भेटिएको थियो । सुन बरामद भएपछि विगु – १ लामाबगरका १९ वर्षको पेम्बा तमाङ, २८ वर्षको केशर तमाङ र २० वर्षको माधव मगरलाई पक्राउ गरिएको थियो । त्यसैगरी बिहीबार चरिकोट स्थित शुभकामना होटलबाट विगु गाँउपालिका वडा नम्बर १ कै थप दुई जना ५५ वर्षको नुर्वुछिरीङ शेर्पा र ३० वर्षको सुनमाला तामाङलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका केशर तामाङको बयानको आधारमा उनको अर्को कोठामा खानतलासी गर्दा थप तीन केजी सुन बरामद भएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए । बुधवार केशरको एउटामात्र कोठा होला भनेर खानतलासी गरेका थियौ, त्यो कोठाबाट चार केजी सुन बरामद भएको थियो, प्रहरी नायव उपरीक्षक खड्काले भने– तर उनको अर्को कोठा समेत रहेको बयानबाट खुलेपछि त्यसमा खानतलासी गर्दा थप तीन केजी सुन बरामद भएको हो ।
सुन तस्करीको आशङ्कामै शुक्रवार विगु – १ लामाबगरका राज तामाङलाई काठमाडौँबाट पक्राउ गरी दोलखा ल्याईएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

नियन्त्रणमा लिईएको पाँच जनालाई भन्सार ऐन २०६४ तथा सङ्गठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा अदालतबाट म्यादलिई थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । पक्राउ परेकाहरुलाई चिनियाँ नागरिकलेनै सुन पठाएको हुनसक्ने खड्काको भनाई छ । यसबारे थप अनुसन्धान पछि भन्न सकिने उनले बताए । उक्त सुन लामाबगरको फलाक नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरीले जनाएको छ ।

चीनसँगको सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको र थप सुन आएको हुनसक्ने आशंकामा खोजी भई रहेको प्रहरीको भनाई छ ।

चीनसँगको नाका खुलेको छैन

गत आइतबार चीनसंग सिमा जोडिएको दोलखाको दुईवटा नाका खुलेको र त्यस लगतै सुन तस्करी भएको खबर मिडियामा आएको तर त्यसमा सत्यता नरहेको दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए ।

चीन सरकारले नेपालको १४ वटा नाका खोल्ने नीतिगत निर्णय गरेको र त्यसमा दोलखाको फलाक हुदै जाने रोङसिया र क्वादम नाका समेत रहेको प्रमुख जिल्ला अधिकारी धमलाले बताए । नीतिगत निर्णय भएपनि त्यसको प्रक्रियाको बारेमा छलफल भई रहेकोले नाका खुलिनसकेको प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।

लामाबगर क्षेत्रबाट सुन तस्करी भएकोले स्थानीय प्रशासन यसमा सर्तक रहेको र फलाक तथा लप्ची नाका तत्काल खोल्ने बारे चीन सरकारसँग छलफल भई रहेको प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।