सुनसहित पक्राउ परेका तीन जनाको विवरण सार्वजनिक



दोलखा। 

जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन ओसारपसारमा संलग्न रहेको आशङ्कामा बुधवार राति पक्राउ गरेको तीन जनाको विवरण सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका शङ्कास्पद व्यक्तिहरुमा दोलखा विगु गाउँपालिका वडा नम्बर ३ का १८ वर्षको पेम्बा तमाङ, २८ वर्षको केशर तमाङ र २० वर्षको माधव मगर रहेका छन् । उनीहरुलाई विगु गाउँपालिका वडा नम्बर १ लामाबगरको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए ।

सुन ल्याएको सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाको कमान्डमा खटिएका १० जनाको प्रहरी टोलीले खोजतलास गर्दा विगु गाउँपालिका वडा नम्बर ३ जामुनेको सिता तमाङको घरमा लुकाई राखेको ठाउँबाट बुधवार राति चार केजी सुन बरामद गरेको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए ।

उक्त सुन लामाबगरको फलाक नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरीले जनाएको छ । चीन सरकारले आईतवारमात्र तिब्बतसंग सिमा जोडिएको दोलखाको दुईवटा नाका रोङसिया र क्वादम खुला गरेको थियो ।

सुन भित्रदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्का बुधवार राति आफै सिंगटी पुग्नु भएको थियो । सुन तस्करीमा थप मानिसको समेत संलग्नता रहेको हुनसक्ने भएकोले प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमान्डमा खटिएको १० जनाको प्रहरी टोलिले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तिब्बतको फलाक नाकाबाट १२/१५ केजी सुन भित्रिएको आशंका गरिएको छ । सुनसहित अन्य केही व्यक्ति फरार रहेको आशङ्कामा प्रहरीले अनुसन्धान तथा खोजिकार्य जारी राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्