दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ

0
Shares

दोलखा । दोलखामा चार किलो सुनसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) राति सुनसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिल्लाको विगु गाउँपालिका जामुनेबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताउनुभयो ।

उक्त सुन लप्ची नाकाबाट भित्रिएको हुनसक्ने खड्काले आशंका गरेका छन् । पक्राउ परेका तीन जनामध्ये दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेका तीनै जना विगु गाउँपालिका–१ लामाबगरबासी भएको प्रहरीले जनाएको छ ।

चीन सरकारले आइतबारदेखि तिब्बतसँग जोडिएको दोलखाकाका दुईवटा नाका खुला गरेको थियो । सुन भित्रिँदै गरेको गोप्य सूचना पाएपछि खड्कासहितको प्रहरी टोली हिजो राति सिंगटी पुगेको थियो ।

एक÷एक केजीको चार पिस सुनसहित तीन जनालाई हिजो राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो ।

सुन सिंगटीका स्थानीय व्यवसायीलाई परीक्षण गराइएको छ भने थप परीक्षण सदरमुकाम चरिकोटमा गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । उक्त तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।