दशैंलक्षित खसीबोकाको स्वास्थ्य परीक्षण शुरू हुँदै, स्वस्थको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ



काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा राजधानीवासीलाई स्वस्थ मासु खुवाउने उद्देश्यले राजधानी भित्रिने खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले विगत वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र अनुगमन गर्ने गरेकोमा यो वर्ष घटस्थापनाको केही दिनअघिबाटै अनुमगन शुरू गर्न लागेको हो ।

कामपा कृृषि तथा पशुपन्छी विभागको नेतृत्वमा पशु चिकित्सक, कामपा प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपाया परीक्षण गर्ने भएको छ । विभाग प्रमुख डा. अवधेश झाले केन्द्र र प्रदेशको समन्वयमा परीक्षण गर्ने जानकारी दिँदै भन्नुभयो– ‘हाम्रो कार्यक्षेत्रभित्र पर्ने बिक्री केन्द्रमा सघन अनुगमन गर्नेछांै । दशैमा राजधानीवासीलाई स्वस्थ पशु चौपायाको मासु उपलब्ध गराउन बिक्री केन्द्रमै खसीबोकाको अनुगमन गर्न लागेका हौं ।’ उहाँले स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने जानकारी दिँदै सिङमा हरियो रङ भएको खसीबोका मात्र खरिद गर्न आग्रह गर्नुभयो ।

कामपा जनस्वास्थ्य महाशाखा प्रमुख वरिष्ठ पशु चिकित्सकसमेत रहेका विभागीय प्रमुख डा. झाका अनुसार कामपाले राजधानीको कलंकी, टुकुचा, वालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्न लागेको हो । कामपाले संघ र प्रदेश सरकारसहितको संयुक्त टोलीले अनुगमन गर्ने विषयमा छलफल गरिरहेको छ ।

कामपाले विगत वर्षमा पनि खसी र बोकाको स्वास्थ्य परीक्षण गरेको थियो । महानगरले दशैंको लागि चौपाया भित्रनासाथ खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने गरेको छ ।

दशंैमा भित्रिने खसीबोका, भेडा च्याङ्ग्रा वितरण स्थलको अनुगमन तथा स्वास्थ परीक्षण कार्यक्रमअन्तर्गत कामपाले चौपाया बिक्रीस्थलमै परीक्षण गरी सोही स्थानमा निर्माण हुने आइसोलेसन सेन्टरमा तत्काल उपचार सम्भव भएका चौपायाको सोही स्थानमा स्वास्थ्य परीक्षण र उपचार गर्ने तयारी गरेको छ ।

कामपाले चौपाया बिक्री स्थान, मासु पसल र वधशालालगायतका स्थानमा समेत अनुगमन गर्ने जनाएको छ । विभागीय प्रमुख झाले दशैंको समयमा आकस्मिक अनुगमन गर्ने तयारी गरेको कामपाका उपप्रमुख एवं अनुगमन गर्न समितिका संयोजक सुनिता डंगोलले निर्देशन दिनुभएको छ ।

प्रत्येक स्थानमा पशु चिकित्सक, सहायकसहित करिब आधा दर्जन टोलीले परीक्षण गर्ने तयारी गरेको छ । कामपासँग हालसम्म मासु निरीक्षक छैन ।

दशैंका लागि मात्र कामपाले जिल्ला पशुसेवा कार्यालय वा भेटनरी जनस्वाथ्य कार्यालय वा स्वतन्त्र भेटनरी चिकित्सकको सहयोगमा चौपायाको स्वाथ्य र मासु निरीक्षण गर्ने गरेको छ । कामपाले दशैंमा अस्वस्थ खसीबोका बिक्री गरेको जानकारी पाए तत्काल कारबाही गरी बिक्री वितरणमा रोक लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्